तर अवैध रूपमा भित्रिइरहेको व्यवसायीको दाबी, उपत्यकामा गत वर्षभन्दा कम खपत हुने अनुमान, व्यवसायी भन्छन्– ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतका खसी–बोका बिक्री नगरे पनि बजारभाउ बढ्दैन’
काठमाडौँ — दसैं नजिकिएसँगै खसी–बोका व्यापारीलाई भ्याइनभ्याइ छ । यति बेला गाउँगाउँबाट खसी–बोका मगाउने र सहरमा बिक्री गर्नु उनीहरूको दिनचर्या छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा निराश बनेका व्यवसायी राजमार्ग सञ्चालनमा आएसँगै भने उत्साहित छन् । र, खसी–बोका उपत्यका ल्याएर खोर भर्न थालेका छन् ।
‘जिल्ला जिल्लामा खसी अर्डर गर्ने, बुक गर्नेदेखि ढुवानीको काम धमाधम भइरहेको छ । सबैले लोकल खसी–बोका ल्याउँदै छन्,’ काठमाडौं चौपाया खरिद प्र्रालिका अध्यक्ष जनक खड्काले भने, ‘यसपालि दसैंमा स्वदेशी खसी–बोकाले धान्छ । भारतबाट आयात गर्नुपर्ने अवस्था रहन्न ।’
दसैंमा उपत्यकाभित्र करिब ६५ हजार खसी–बोका, च्यांग्रा खपत हुने संघको तथ्यांक छ । यसपालि स्वदेशमै पर्याप्त रहेकाले भारतबाट आउने सम्भावना न्यून रहेको उनले जनाए । यस पटक रुकुम, रोल्पा, सोलु, बाँके, बर्दियादेखि पूर्वको भोजपुर, इलामलगायत जिल्लाबाट खसी–बोका उपत्यका ल्याइने व्यवसायीको भनाइ छ ।
विभिन्न जिल्लाबाट ल्याइएका खसी–बोका कलंकी खसी बजार, भृकुटीमण्डप, बालाजु बाइपास, सातदोबाटो, कोटेश्वर, तीनकुने, गौशाला, भक्तपुर, लोकन्थली, सल्लाघारी, चावहिललगायत क्षेत्रबाट बिक्री गरिन्छ । ‘स्वदेशमै उत्पादित लोकल खसी–बोका जति पनि छन्, अभाव हुने सम्भावना छैन । मूल्य पनि बढ्दैन,’ खड्काले भने, ‘गत वर्षको तुलनामा यस पटक बजारभाउ उस्तै छ ।’
दसैंका लागि कलंकी बजारबाट करिब २५ हजार खसी–बोका बिक्री हुन्छन् । यहाँ प्रतिकिलो खसी–बोका ६ सय ५० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री भइराखेको छ । दसैंका लागि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्दै आएकामा यस पटक भने सहुलियत खसी–बोका र च्यांग्रा बिक्री नगर्ने निर्णय गरिसकेको छ । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै मुख्य सडक अवरुद्ध भएकाले यस पटक छुटका खसी–बोका बिक्री नगर्ने निर्णयमा पुगिएको खाद्यले जनाएको छ ।
‘यस पटक १५ सय खसी–बोका र मुस्ताङबाट करिब ३ सय च्यांग्रा ल्याएर बजार भाउभन्दा सस्तोमा बिक्री गर्ने योजना थियो । यी चौपायामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भइसकेको थियो,’ कम्पनीका बिक्री विभाग प्रमुख भीमबहादुर थापाले भने, ‘गाउँपालिकासँग सम्पर्क टुटेको छ । बाटोको अवस्था पनि राम्रो छैन, त्यही कारण यस पटकको दसैंमा छुटका खसी–बोका बिक्री नगर्ने निर्णयमा पुगेका हौं ।’
सरकारी सहुलियतमा खसी–बोका बिक्री नहुँदा बजारमा मूल्यमा मनोमानी हुने आकलन गरिएको छ । तर व्यवसायीले भने सरकारी छुटका खुसी–बोका बिक्री नभए पनि बजारभाउ नबढ्ने दाबी गरेका छन् । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत खसी–बोका बिक्री नगरे पनि बजारभाउ बढ्दैन,’ थापाले भने, ‘अष्टमी र नवमीमा बढीमा प्रतिकिलो ७ सय २५ रुपैयाँभन्दा मूल्य बढ्दैन ।’
नेपाल व्यावसायिक बाख्रापालन महासंघका अध्यक्ष गोविन्द सुवेदीले पनि खसी–बोका स्वदेशमै पर्याप्त उत्पादन भइरहेको जनाए । ‘दसैंका लागि जिल्लाबाट बिक्री सुरु भइसकेको छ । केही काठमाडौंमा भित्रिइसकेको छ, केही बाटोका कारण आउने क्रममै छ । यस पटक उपत्यकाका लागि ५० देखि ६० हजार खसी–बोका पठाउने तयारी छ, तर खपत ४० देखि ४५ हजार मात्रै हुने अनुमान छ,’ उनले भने, ‘अहिलेकै अवस्थामा मूल्य बढ्ने देखिँदैन, तर बाटो अवरोध भई मागअनुसार नआए मूल्य बढ्न सक्छ ।’
किसानसँग उत्पादन पर्याप्त हुँदाहुँदै भारतबाट तस्करी भएर आइरहेको र यसमा सरकारी निकायकै मिलोमतो रहने अध्यक्ष सुवेदीको दाबी छ ।, ‘जसले गर्दा किसान मर्कामा परेका छन्,’ उनले भने ।
व्यापारीले किसानबाट प्रतिकिलो ६ सयदेखि साढे ६ सय रुपैयाँमा खसी–बोका किन्छन् । त्यसपछि बजार ल्याएर किलोको ७ देखि साढे ७ सय रुपैयाँमा बिक्री गर्छन् । ‘किसानसँग जति पनि खसी–बोका छन्, तर बजारमा पठाउने व्यापारीमार्फत नै हो । जसले गर्दा किसानले उचित मूल्य पाउन सकेनन्,’ सुवेदीले भने, ‘किसानभन्दा व्यापारीलाई बढी फाइदा भएको छ । किसानका लागि जिल्लामा संकलन केन्द्र र गाउँगाउँमा घुम्ती पसल राख्न सके फाइदा हुन्थ्यो ।’
व्यवसायीका अनुसार ढुवानीको क्रममा प्रहरीले ठाउँठाउँमा अवरोध गर्छन् । भेटरिनरीका कागजातको बहानामा अवरोध गर्ने गरिन्छ । तर भारतबाट सरकारकै मिलेमतोमा भित्रिन्छ । ‘जिल्लाबाट ढुवानी गर्दा ढुवानीको मापदण्ड देखाएर अवरोध गरिन्छ, त्यसको बहानामा प्रहरीले पैसा असुल्छन्,’ महासंघका अध्यक्ष सुवेदीले भने, ‘किसानको उत्पादन सहज रूपमा बजार आउन सके धेरै राम्रो हुन्थ्यो । बाटो र मापदण्डकै कारण किसानका खोरबाट खसी–बोका आउन सकेनन्, नभए नेपालमै उत्पादन पर्याप्त छ ।’
