आन्दोलनमा जानुअघि उनले श्रीमतीलाई ‘अब युवा नेतृत्व आउँछ’ भनेर निस्किएका थिए । तर, उनी फर्किएनन् ।
What you should know
उदयपुर — २७ कात्तिक २०५२ मा उदयपुरको बेलका नगरपालिकामा जन्मिएका सन्तोष विक वर्तमान नेतृत्वसँग खुबै रुष्ट थिए । उनी नेतृत्व फेर्नुपर्छ भन्ने मत राख्थे । उनको विचार जेन–जीसँग मिल्यो । जेन–जीको आयोजनामा भएको सोमबारको प्रदर्शनमा उनी पनि गए ।
आन्दोलनमा जानुअघि उनले श्रीमतीलाई ‘अब युवा नेतृत्व आउँछ’ भनेर निस्किएका थिए । तर, उनी फर्किएनन् । ‘बिहान मैले नजानु भन्दाभन्दै उहाँ जानुभयो । अब युवा नेतृत्व आउनुपर्छ । हामी लिएर फर्किन्छौं भनेर जानुभएको थियो,’ सन्तोषकी श्रीमतीले भक्कानिँदै भनिन्, ‘तर उहाँ फर्किनुभएन ।’
१२ वर्षअघि काठमाडौं आएर सुन पसलमा काम गर्दै आएका थिए सन्तोष । उनी राजनीतिमा खुबै चासो दिन्थे । उनी युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने चाहन्थे । त्यही युवाको नेतृत्व लिन उनी सोमबार बानेश्वर पुगेका थिए । तर, प्रहरीको तातो गोलीले सेलाए ।
उनका २ सन्तान छन् । ८ वर्षीया छोरी सोनिया र १० वर्षीय छोरा उज्ज्वल । उनको अवसानसँगै घरमा शून्यता छाएको छ । सन्तानहरू टुहुरा बनेका छन् । श्रीमती अम्बिकाको सिन्दूर खोसिएको छ । उदयपुरका उनका बाबु र आमाको भरोसा खोसिएको छ ।
सन्तोषले युवा नेतृत्वका लागि आफ्नो बलिदानी दिए । राज्यले उनको बलिदानीलाई कति कदर गर्छन्, थाहा छैन । तर, उनको अभावले परिवार एक्लिएको छ । सोनिया र उज्ज्वलको भविष्य खोसिएको छ, अम्बिका एक्लिएकी छिन् । ‘घरको खम्बा नै उहाँ हुनुहुन्थ्यो । दुई सन्तानलाई मैले कसरी हुर्काउने हो, कुनै टुंगो छैन,’ सन्तोषकी श्रीमती भन्छिन्, ‘उहाँसँगै सन्तानको भविष्य पनि खोसियो ।’
सन्तोषको अभावले पिरोल्लिएकी अम्बिकालाई श्रीमान्को बलिदानीप्रति गर्व छ तर श्रीमान्को बलिदानलाई राज्यले व्यर्थको बनाउने हो कि भन्ने चिन्ताले पनि दुःखी पनि छिन् । ‘मेरो श्रीमान्ले परिवर्तनका लागि ज्यान दिनुभयो । तर अहिले जति मान्छे आफूलाई जेन–जी भन्दै आउनुभएको छ, उहाँहरूले मृतक परिवारसँग कुनै सल्लाह लिनुभएन,’ अम्बिकाले भनिन्, ‘यस्तो नेतृत्वले कतै मेरो श्रीमान्को बलिदानलाई खेर जान दिने त होइन ?’
सन्तोषको अभावसँगै मार्गविहीन बनेको परिवार राज्यसँग एउटै कुरा मागिरहेका छन्– सन्तोषलाई सहिद घोषणा गर ।
सम्बन्धित समाचार
हामीले नगरे कसले गर्छ भन्थे अभिषेक
वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक
गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए
अधुरै रह्यो गौरवको यूके जाने सपना
