सञ्चारगृहमाथि आक्रमणको आरएसएफले गर्‍यो निन्दा

पत्रकारहरूको महत्त्वपूर्ण जिम्मेवारीप्रति सम्मान गर्न र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न आग्रह

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

RSF condemned the attack on the media house

What you should know

काठमाडौँ — विश्वभरकै प्रेस स्वतन्त्रताको अनुगमन र अभिलेखन गर्ने संस्था रिपोर्टर्स विद आउट बोर्डर्स (आरएसएफ) ले २४ भदौमा नेपालमा भएको हिंसात्मक प्रदर्शनका क्रममा दर्जनभन्दा बढी सञ्चार संस्था र पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

आरएसएफले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनालाई पत्रकारहरूको महत्त्वपूर्ण जिम्मेवारीप्रति सम्मान गर्न र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न पनि आग्रह गरेको छ । आरएसएफ दक्षिण एसिया डेस्ककी प्रमुख सिलिया मर्सिएले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार र मिडियामाथिको हिंसात्मक कार्य अस्वीकार्य रहेको जनाएकी छन् । उनले पत्रकार र मिडियाको रक्षार्थ राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।

२४ भदौको हिंसात्मक प्रदर्शनका क्रममा राजधानी र देशका अन्य भागमा रहेका एक दर्जनभन्दा बढी सञ्चारमाध्यम र तीन सञ्चारगृहमा तोडफोड र आगजनी भएको आरएसएफले विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै, प्रदर्शनकारीले काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा आगजानी गरेको तथा नेपाल सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि तोडफोड भएको विवरण पनि छ ।

‘सत्ताविरुद्धको आन्दोलनका क्रममा सञ्चार संस्था लक्षित हिंस्रक आक्रमण अस्वीकार्य छ । प्रहरीको आक्रमणमा परी चार पत्रकार घाइते भएको घटना पनि खेदजनक छ । संकट र अस्थिरताका बेला सूचनाको हक र सूसचित हुने अधिकार सुनिश्चित गर्नु अझ बढी आवश्यक छ,’ आरएसएफले विज्ञप्तिमा भनेको छ । भविष्यमा बन्ने कुनै पनि सरकारले मान्यता पाउनका लागि प्रेस स्वतन्त्रतालाई पूर्वसर्तका रूपमा राख्नु पनि महत्त्वपूर्ण भएको पनि आरएसएफले भनेको छ ।

कान्तिपुर

Link copied successfully