जेन–जी आन्दोलनका क्रममा सबैभन्दा चर्चित बनेको ‘युथ अगेन्स्ट करप्सन’ नामक सर्भरमा १ लाख ६२ हजार सदस्य ।
What you should know
काठमाडौँ — विशेष गरी भिडियो र अनलाइन गेम खेल्नेहरूका लागि चर्चित रहँदै आएको सामाजिक सञ्जाल प्लाटफर्म ‘डिस्कर्ड’ गत साता नेपालको जेन–जी आन्दोलनसँग जोडिएपछि फरक कारणले चर्चित बन्न पुग्यो ।
डिस्कर्डमार्फत योजना बनाएर जेन–जी आन्दोलन चलाएको दोस्रो दिनमै सरकार ढल्यो । पाँचौं दिनमा जेन–जीकै छनोटबाट प्रधानमन्त्रीको नियुक्ति भयो, प्रतिनिधिसभा नै विघटन भयो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सुरु भएको भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनमा बदलिएको थियो । तर घरबाट फूल बोकेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाको आन्दोलनमा जसरी घूसपैठ भयो, त्यसरी नै ह्वाट्सएप र डिस्कर्डका ओपन कम्युनिटी पनि मोडरेटरलाई सम्हालिनसक्नु बनेका थिए ।
हिंसा फैलाउने उत्तेजक अभिव्यक्ति नदिन मोडरेटरहरूले पटक–पटक आग्रह गरेका थिए । अति भएपछि बेला–बेला प्लाटफर्ममा सदस्यलाई बोल्न र कमेन्ट लेख्न बन्दसमेत गरिएको थियो ।
डिस्कर्डमा अत्यन्तै व्यक्तिगत गालीगलौज, आक्रमणको धम्की, एकपछि अर्को अराजक टिप्पणी पनि हुने गरेको थियो । त्यसैले दोस्रो दिनको प्रदर्शनमा त्यति ठूलो क्षतिको माध्यम पनि यो प्लाटफर्म बन्न पुग्यो ।
जेन–जीले डिस्कर्डजस्ता प्लाटफर्मबाट लोकतान्त्रिक र पारदर्शी अभ्यास चलाएकामा भने धेरैले प्रशंसा गरेका छन् । सरकार प्रमुख नै डिस्कर्डको लाइभ बहस र मतदानबाट चुनिने अवस्था आएपछि विश्वका धेरैले यसलाई अभिरुचिपूर्वक हेरेका छन् । सोमबार बिहानसम्म नेपालका अधिकांशलाई थाहा नभएको डिस्कर्ड सप्ताहन्तसम्म आउँदा धेरै डाउनलोड भएको प्लाटफर्म बन्यो ।
एउटै फोरममा डेढ लाखभन्दा बढीले प्रत्यक्ष रूपमा छलफलमा भाग लिने माध्यम पनि भयो । युट्युब, टिकटक र फेसबुकमा समेत लाइभ गरिएका यी बहस यसअघिका आन्दोलनमा हुने गरेका कोठे छलफल र सहमतिभन्दा फरक थिए । जेन–जी आन्दोलन गर्ने क्रममा यसको व्यवस्थापन र समापनका क्रममा डिस्कर्डलगायतका प्रविधि प्रयोग भएको देखेर धेरैले यसलाई ‘डिजिटल रिभोलुसन’ पनि भनेका छन् ।
डिप्लोम्याट म्यागजिनका पत्रकार तथा विश्लेषक जेरेमी डिकरले एक्समा लेखेका छन्, ‘तत्कालीन सरकारले प्रतिबन्ध गरेका २६ एपमध्ये डिस्कर्ड पनि एक थियो, यसकै प्रयोग गरेर नेपालीले आफ्नो अन्तरिम नेता छानेका छन् र सुशीला कार्की अहिले कार्यकारी पदमा पुगेकी छन् ।’
जेन–जी आन्दोलन उठाउने कारकमध्ये एक मानिएको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयका क्रममा प्रतिबन्धित भएको डिस्कर्ड सरकार ढाल्ने र नयाँ सरकार बनाउने क्रममा अनपेक्षित केन्द्र बन्न पुग्यो । डिस्कर्ड च्याटमार्फत संगठित भएका किशोरकिशोरी अनलाइन र भर्च‘अल दुवै आन्दोलनमा सक्रिय बनेका थिए । डिस्कर्डले जेन–जीको आवाजलाई प्रतिनिधित्व गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।
डिस्कर्ड मिथ्या र भ्रामक सूचना प्रवाह गर्न र अराजकता फैलाउन पनि माध्यम बनेको देखियो । एक सहभागीले डिस्कर्डको ‘युथ अगेन्स्ट करप्सन’ सर्भरमा ‘एयरपोर्ट रनवे ध्वस्त पारौं र प्लेन सबै जलाइदिऔं’ भनेर लेखेका थिए भने अर्काले ‘तपाईंहरूसँग पटका छ भने एयरपोर्टनजिक लगेर बाल्नुहोला’ भनेर उक्साएका थिए । विकास नामका सहभागीले ‘तपाईंहरूसँग ड्रोन छ भने एयरपोर्टनजिक लगेर उडाउन थाल्नुस्’ भन्ने लेखेका थिए । यस्तै, चिल गाई नामक प्रयोगकर्ताले ‘सबै नेतालाई मार्दिम्’ भन्दै तुच्छ टिप्पणी गरेका थिए । बोस नामका प्रयोगकर्ताले ‘नेताहरूको व्यक्तिगत सम्पत्तिमा मात्रै आक्रमण गरौं, सार्वजनिक सम्पत्ति नजलाऔं’ भनेर सम्हाल्न खोजेका थिए ।
डिस्कर्ड छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीकी छोरीको अमेरिकास्थित ठेगाना सार्वजनिक गर्ने र एक जना युवाको मृत्युबापत एक नेतालाई निसाना बनाउनेजस्ता हिंसा भड्काउने प्रतिक्रियासमेत आएका थिए ।यस्तो असन्तोषको सुरुवात १९ भदौमा गरिएको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयबाट भएको भनेर कतिपय विदेशी मिडियाले प्रचार गरे पनि वास्तविकता त्यस्तो नरहेको डिस्कर्ड छलफलमा श्रोता र मतदाताका रूपमा सहभागी अर्पण विष्ट बताउँछन् । ‘सुरुमा अहिलेजस्तो हजारौं सहभागी थिएनन्, एक/दुई सय मात्र भेला हुन्थे,’ उनी भन्छन्, ‘नेपालमा जारी भ्रष्टाचार, अव्यवस्था र पहुँचवालाका सन्तानको ठाँटबाँटबारे रेडिट र टिकटकमा प्रश्न गर्न थालिएको थियो, दुई सातादेखि डिस्कर्डमा पनि छलफल हुन थालेको थियो ।’ पछिल्लो आन्दोलन त्यसैको निरन्तरता मात्रै भएको उनको भनाइ छ ।
डिस्कर्ड निःशुल्क सञ्चार प्लाटफर्म हो । यसमा प्रयोगकर्ताले विभिन्न समुदायमा जोडिन, कुराकानी गर्न र सामग्री साझा गर्न सक्छन् । यसमा टेक्स्ट, अडियो, भिडियो र स्क्रिन सेयर गर्न मिल्छ । यसमा ‘सर्भर’ बनाउन वा सर्भरमा जोडिन मिल्छ । सर्भर भनेको भर्च‘अल समुदायजस्तै हो, यसभित्र विभिन्न भ्वाइस र च्याट च्यानल बनाउन मिल्छ । जेन–जी आन्दोलनका क्रममा सबैभन्दा चर्चित बनेको ‘युथ अगेन्स्ट करप्सन’ नामक सर्भरमा हाल १ लाख ६२ हजार सदस्य छन् । यो सर्भर ‘हामी नेपाली’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङको समूहले सञ्चालन गर्छ ।
नेपाल मात्र नभएर, इरानको महिना आन्दोलन, हङकङको लोकतन्त्रसम्बन्धी प्रदर्शन, सर्बिया र अमेरिकाका राजनीतिक विरोधहरूमा समेत डिस्कर्ड प्रयोग भएको थियो । ह्वाट्सएप, टिकटकजस्ता प्लाटफर्म नेपालका यसअघि भएका विरोध प्रदर्शनमा उल्लेख्य प्रयोग भएका थिए तर डिस्कर्ड प्रयोग नौलो हो । यसमा एकै पटकमा ५ लाखसम्मको ठूलो समूहलाई जोड्न सकिने, विभिन्न विषयका लागि एउटै सर्भरभित्र फरक च्यानल बनाउन सकिने, रियल टाइम टेक्स्ट, अडियो र भिडियोमार्फत छलफल र प्रतिक्रिया दिन सकिने सुविधा छ । यिनै कारण डिस्कर्ड आन्दोलनका लागि राम्रो माध्यम बन्ने गरेको हो ।
‘त्यसमाथि तुलनात्मक रूपमा सुरक्षित र विकेन्द्रित छ । मूलधारका सामाजिक सञ्जालभन्दा सेन्सर गर्न कठिन प्रकृतिको भएकाले पनि नेपालमा यसको प्रयोग सहज रूपमा गर्न सकिएको छ,’ समूहकी एक सदस्य सुप्रियाले भनिन् ।
‘युथ अगेन्स्ट करप्सन’ सर्भर प्रदर्शन आयोजना, समन्वय, ताजा सूचना प्रवाह, अन्तरिम सरकार प्रमुख को हुने भन्ने विषयमा मतदान, तथ्य–जाँच, रक्तदान, उद्धारका लागि प्रयोग गरिएको थियो । यसमा समग्र कुराकानीका लागि स्टेज–१ र स्टेज–२ मा सञ्चालन गरियो भने एक दर्जनजति पुस टु टक (पीटीटी) ग्रुप च्याट च्यानल बनेका थिए । एउटा पीटीटीमा २० भन्दा बढी सदस्य अट्दैनन् । उम्मेदवार छनोट र निर्णयका लागि यस सर्भरमा पोल र प्रतिक्रिया (रियाक्सन) जनाउने सुविधा थियो ।
परम्परागत संस्थाहरू अस्तव्यस्त र सामाजिक सञ्जाल चलाउन अप्ठ्यारो भइरहेका बेला उक्त सर्भर नै अस्थायी संसद्जस्तै बन्यो । विद्यार्थीसमेत रहेका मोडरेटरहरूले बहस र मतदानमार्फत अन्तरिम नेतृत्व छान्ने प्रक्रिया अगाडि बढाए । चर्चामा परेका नामहरूमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङदेखि धरानका मेयर हर्क साम्पाङ, युवा नेता सागर ढकाल, सामाजिक उद्यमी महावीर पुनसम्म थिए । तर, अन्ततः सहमति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि जुट्यो ।
डिस्कर्डमा भएको छलफलका क्रममा युवाले आफूहरूमध्ये धेरैले समर्थन गरे मात्रै कार्कीले जिम्मेवारी लिन तयार रहेको बताएको दाबी गरेका थिए । बहुसंख्यक युवाको मागपछि कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी आफू अन्तरिम नेतृत्व लिन तयार रहेको संकेत गरेकी थिइन् । शुक्रबार राति कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भइन् । उनको उदयलाई नेपाली राजनीतिमा नयाँ पुस्ताको पहल र डिजिटल माध्यमबाट भएको दुर्लभ एकताको क्षणका रूपमा हेरिएको छ । सन् २०१५ मा जेसन सिट्रोन र स्ट्यान भिस्नेभ्स्कीले सुरु गरेको डिस्कर्ड सुरुमा गेमरहरूका लागि थियो । पछिल्ला वर्षमा यो समुदायमूलक प्लाटफर्म बनेको छ । सन् २०२५ सम्म आइपुग्दा यसमा ६८ करोड ९० लाखभन्दा धेरै प्रयोगकर्ता र २५ करोड ९० लाख मासिक सक्रिय प्रयोगकर्ता छन् । यसमा १८ देखि ३४ वर्षका प्रयोगकर्ता धेरै रहेको कम्पनीले जनाएको छ ।
सरकारले केही सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाएपछि डिस्कर्ड मात्रै होइन, ब्लुटुथबाट सन्देश आदान–प्रदान गर्न सकिने बिटच्याट र सामाजिक सञ्जाल चलाउन भीपीएनको प्रयोग अकासिएको थियो । प्रोटन भीपीएनले नेपाल क्षेत्रमा सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको (४ सेप्टेम्बर) १९ भदौमा मात्रै भीपीएन डाउनलोड ६ हजार प्रतिशतले बढेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जनाएको छ ।
