‘हामी युवाले खोजेको उत्तरदायी सरकार हो’

जनताप्रति अपमान गर्ने लामो समयदेखि नेतृत्वमा भएका सत्ताको कुर्सीमा टाँसिएर बसेका नेताहरूलाई जेन–जी पुस्ताको आन्दोलनले फालिदिएको हो ।-सन्तोषी श्रेष्ठ, ओलम्पियन धाविका 

भाद्र ३१, २०८२

ध्रुव तुलाधर

”We are the responsible government that the youth is looking for”

What you should know

काठमाडौँ — अहिलेको परिवर्तन आवश्यकता थियो, ढिलोचाँडो हुनु नै थियो । धेरैले सोचेभन्दा केही छिटो भयो, झनै राम्रो भयो । यसले तत्काललाई परिवर्तन गरेको भनेको जनताकै मतबाट सत्तामा पुगेको तर जनताप्रति अनुत्तरदायी सरकार ढालेको हो ।

जनताको कुरा सुन्न नचाहने, सुन्न नसक्ने उल्टै जनताको अपमान गर्ने लामो समयदेखि नेतृत्वमा भएका सत्ताको कुर्सीमा टाँसिएर बसेका नेताहरूलाई जेन–जी पुस्ताको आन्दोलनले फालिदिएको हो । 

साथसाथै समयअनुसारको सोच विकास हुनुपर्छ र युगअनुसार राज्यले जनताका दैनिक जीवनका सवालमा सम्बोधन गर्नुपर्छ भन्ने विषयलाई पनि दरोसँग स्थापित नै गरिदिएको छ । यो भनिआएको कुरा भए पनि अहिलेको जेन–जी आन्दोलनको परिणामले स्थापित गरेको छ । अब हामीले अपेक्षा गर्ने भनेकै पहिले जस्तो अनुत्तरदायी, गैरजिम्मेवार राज्य संयन्त्र होइन, देश र जनताप्रति निरन्तर जवाफदेही हुने, उत्तरदायी हुने, उनीहरूका कुरा सुन्ने, बुझ्ने सरकार र राज्यको अपेक्षा हो । 

यो हुनका लागि अबका नेताहरू, नेतृत्वहरू त्यस्तै खालको हुनुपर्‍यो । सुरुमा उनीहरू जवाफदेही हुनुपर्‍यो, इमान्दार हुनुपर्‍यो । नेता इमान्दार भए, नेतृत्व इमान्दार हुन्छ । नेतृत्व इमान्दार भए राज्य जिम्मेवार हुनसक्छ जस्तो लाग्छ । त्यससँगै हरसमय भाँडभैलो हुने अहिलेको अस्थिरताको अवस्था के–कसरी आयो, त्यसको गहिरो विवेचना हुनुपर्छ ।

हरेक समय देशमा युवाहरूको महत्वपूर्ण भूमिका हुन्छ नै । हेर्नुस् अहिले पनि युवाको प्रयासमा परिवर्तन भएको हो । युवाहरू आफैं झनै उत्तरदायी र जिम्मेवार बन्नुपर्छ । अहिलेकै घटनाहरूमा पनि कतिपय अमानवीय र हिंसात्मक अवस्था सिर्जना हुन पुग्यो । युवाहरू सधैं युवामात्र होइन, सुरुमा मानव हो नि, त्यसैले युवा सबैभन्दा बढी मानवीय हुनुपर्छ र त्यही अनुसार सोच्ने र काम गर्ने हुनुपर्छ । त्यसैले देश निर्माणको जिम्मा युवामा छ, अबको अवस्थामा नेतृत्व गर्ने समय पनि युवामै आएको हो भन्ने लाग्छ । 

त्यसैले पुराना दिनबाट पाठ सिक्दै पुरानाले गरे जस्तो गलत कुरा र अभ्यासलाई पुरै बदलेर अघि बढ्नुपर्छ । पहिलेका असल कुराहरू पनि होलान्, छन् त्यसलाई थप परिमार्जन गर्दै देश निर्माणमा लाग्नुपर्छ । सामाजिक भातृत्व र सुशासन स्थापना गर्न समग्रमा युवाको आँखा चनाखो हुनुपर्छ, युवाका हातहरू कर्मठ हुनुपर्छ । 

देश परिवर्तन भएको आभाष हुनलाई देशका सबै क्षेत्रले परिवर्तनको महसुस गर्न पाउनुपर्छ । त्यसका लागि देशको मुख्य तत्वमध्ये खेलकुदमा पनि उत्तिकै परिवर्तन जरुरी छ । सुरुमा त अघि भनेजस्तै देशको जस्तै नेतृत्व परिवर्तन, नेतृत्वको सोच परिवर्तन, खेलकुदको नेतृत्व पनि खेलाडी र सरोकारवाला र जनताप्रति जिम्मेवार रहनुपर्छ । सबै क्षेत्रका नेतृत्व जनताप्रति जिम्मेवार भएमात्र समग्र देशको नेतृत्व जनताप्रति जिम्मेवार हुने हो नि । 

त्यससँगै खेलकुदलाई प्राथमिकतामा राखेर देशका लागि खेलकुद किन ? भन्ने बुझ्न र बुझाउन पारदर्शी रूपमा खर्चको व्यवस्थापन गर्नुपर्छ । खेलक्षेत्रको ‘गोल सेट’ गरेर अघि बढ्नुपर्छ, अन्धाधुन्ध हैन । खेलले राष्ट्रिय एकता कायम राख्ने, समग्र नागरिक र देशलाई उर्जा दिने हुनाले निरन्तर राष्ट्रिय स्तरका खेलकुदहरू आयोजना नियमित हुनुपर्छ, पहिलेभन्दा धेरै बढ्नुपर्छ । खेलाडी निर्माणदेखि खेलाडीको निरन्तरका लागि खेलाडीको जीवन सामाजिक तथा आर्थिक रूपमा उकास्न राज्य तयार हुनुपर्छ । त्यसअनुसार नीति बनाउनुपर्छ । सरकारलाई मन लागेको बेला, मन परेको बेला यसो गर्छु उसो गर्दिन्छु भनेर हुँदैन अब । नीति नियमले त्यसको बाँडफाँट हुनुपर्छ । यसरी इमान्दार प्रयास भए खेलकुद क्षेत्रमा गरेको लगानीबाट प्रतिफल पनि मज्जाले खोज्नुपर्छ, जसमा खेलाडी पनि तयार रहनुपर्छ । 

समस्या सुधार्न धेरै कुरा भनिसकें । त्यही नै हो इमान्दार प्रयास गरेमात्र नतिजा आउने हो । खेलाडी निर्माण र अभ्यास अहिलेको पुरातन तरिकाले हुँदैन । घरदेखि, परिवारदेखि, टोलदेदि, स्थानीय निकायदेखि खेलाडी तयार हुनुपर्छ । अनि नियमित खेल क्यालेन्डर निर्माण गर्ने र त्यसलाई बहाना नबनाइन कार्यान्वयन गरिनुपर्छ । यो अव त्यो बहानामा क्यालेन्डरमा समावेश प्रतियोगिताहरू आयोजना रोकिनुहुन्न । 

खेलाडीको भविष्य र जीवन उकास्ने नीतिगत योजना बनाइनुपर्छ । खेलाडीको पलायन रोक्न जीवनस्तर उकास्ने खाका बनाउनुबाहेक अरू उपाय छैन । अनि खेल संघ, संस्थाहरूमा विवाद सल्टाएर यसलाई चुस्त र इमान्दार बनाउनुपर्छ । राष्ट्रिय संघहरू भनेका खेलका मेरुदण्ड हुन्, यसलाई जिम्मेवार बनाइनुपर्छ ।

ध्रुव तुलाधर तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully