अर्थमन्त्री खनालले कर्मचारीलाई भने : तपाईंहरूले मेरो घर नदेखे म धेरै खुसी हुन्छु

भाद्र ३०, २०८२

काठमाडौं —
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले व्यक्तिगत काम लिएर बिहान-साँझ आफ्नो घरमा नआउन कर्मचारीहर\"लाई निर्देशन दिएका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि कर्मचारीहरूलाई निर्देशन दिने क्रममा खनालले सरकारी कामका लागि आफू जुन समयमा भए पनि तयार रहेको बताउँदै व्यक्तिगत काम लिएर घर धाउने काम छोड्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 

‘व्यक्तिगत काम लिएर बिहान-साँझ घरमा भेट्न नआउनुस,’ उनले भने, ‘तपाईंहरूले मेरो घर नदेखे म धेरै खुसी हुन्छु ।’ पछिल्लो ४६ वर्ष देखि आफू सिंहदरबार आइरहे पनि हालसम्म यति ठूलो क्षति नदेखेको उनले बताए । प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेकाले अब चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गर्न उनले निर्देशन दिए ।

‘भग्नावशेष हटाइ कालो भित्ता छिटो रंगरोगन गरौं । हामी खरानीबाट उठ्यौँ है भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिऔँ,’ उनले भने, ‘निजी सवारीमा भएको क्षतिको दायित्व बिमा कम्पनीबाट आउने भएप नि सार्वजनिक सम्पत्तिको बिमा नभएकाले यसका लागि स्रोत जुटाउनुपर्नेछ ।’ अर्थमन्त्रीले यो कामचलाउ सरकार भएको उल्लेख गर्दै नयाँ सवारी साधन खरिद नगर्न पनि निर्देशन दिएका छन् ।

Link copied successfully