एकैछिनमा स्वाहा भयो किसुनजीको आश्रम

प्रदर्शनकारीले लगाएको आगोले किसुनजीको पहिचान बोकेको छाता, सुराइ र ट्यांका सबै एकैछिनमा खरानी भयो ।

भाद्र ३०, २०८२

ऋषिराम पौडेल

Kisunji's ashram was destroyed in an instant

What you should know

काठमाडौँ — गोदावरी नगरपालिका–१४ ललितपुरको बाँडेगाउँ आश्रम । सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराई (किसुनजी)को आश्रम कुनै विध्वंशपछिको दृश्यजस्तो देखिन्थ्यो । 

जलेका भग्नावशेष र धूवाँको कडा गन्ध चारैतिर फैलिरहेको थियो । मूल गेट छिर्ने बित्तिकै देखियो, बा २ च १८४२ नम्बरको जिप । पचासको दशकमा किसनुजीले चढ्ने यो जिपको बचेखुचेको भाग कतै देखिएन । 

गमला र फलफूलका बिरुवा छरपष्ट थिए । अरू बेला देखिने सौम्य अनुहार भएको किसुनजीको ठूलो कदको प्रतिमा पनि त्यहाँ थिएन । आश्रम छेउमै भेटिएका एक युवाले उक्त प्रतिमालाई आन्दोलनकारीले लात्तालै हान्दै घिसार्दै लगेको र केही पर लगेर जलाएको बताए । माटोको अर्धकदको प्रतिमा भने फुटाएर फ्याँकिएको अवस्थामा देखिन्थ्यो । 

किसुनजीको निधनपछि सहयोगीका रूपमा त्यही आश्रममा आउजाउ गरिरहने स्थानीय रामशरण भण्डारीले प्रदर्शनकारीहरूले आश्रम एकैछिनमा तहसनहस पारेको बताए । उनले भने, ‘नजलाउन धेरै हारगुहार गर्‍यौं तर टेरेनन् । हामीमाथि नै आक्रमण गर्न थालेपछि ज्यान जोगाउन भाग्यौं ।’ प्रदर्शनकारीले लगाएको आगोले किसुनजीको पहिचान बोकेको छाता, सुराइ र ट्यांका सबै एकैछिनमा खरानी भयो । 

काठ जलेर बनेको खरानीको थुप्रो देखाउँदै गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले भनिन्, ‘यहीँ थिए किसुनजीले प्रयोग गरेका बस्तु, जुन खरानीमा परिणत भएका छन् । कतिपय सामान प्रदर्शनकारीले लगेका छन् ।’ उनले सामान बोकेर लैजानेहरूको सीसीटीभीबाट पहिचान गरिएको बताउँदै त्यस्ता सामान फिर्ता गर्न गोदावरी नगरपालिकाले सूचना जारी गरेको पनि बताइन् । 

२०४६ सालको अन्तरिमकाल र २०५६ मा गरी दुईपटक प्रधानमन्त्री भएका अविवाहित किसुनजीले सन्त नेताको परिचय कमाएका थिए । आफ्नो नाममा जमिन र सम्पत्ति नजोडेका उनलाई सरकारले नै ५ रोपनी जमिनमा आश्रम बनाएर राखेको थियो ।  उपचारको क्रममा २०६७ फागुन २० मा अस्पतालमा निधन भएपछि उनको पार्थिव शरीरलाई यही आश्रममा ल्याएर श्रद्धाञ्जली दिइएको थियो । 

Kisunji's ashram was destroyed in an instantप्रदर्शनका क्रममा आश्रम जलाइएको सूचना पाएपछि सोमबार दिनभर आश्रममा आउनेहरूको भीड लागेको थियो । सानाठूला गरेर ५ वटा भवन रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान जलेका छन्  । जल्न नसकेका सामानलाई फुटाएर फ्याँकिएको छ । उनको फोटो राखेर बनाइएका ‘लकेट’हरू भने भुइँमा असरल्ल देखिन्थे ।  उपमेयर अधिकारीका अनुसार किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटा तथा नेपाली कांग्रेसका ऐतिहासिक डकुमेन्टहरू सबै जलेका छन् । 

आश्रम आइपुगेका किसुनजीका अनुयायी रामेछाप गुन्सीभदौरेका गोविन्द चौलागाईंले जलेको भवन हेर्दै भावुक मुद्रामा प्रजातान्त्रिक आन्दोलनको इतिहास मेटाउने काम भएको बताए । उनले आक्रोशको शैलीमा भने, ‘जीवनभर प्रजातन्त्रका लागि संघर्ष गरेर अहिलेको पुस्तालाई स्वतन्त्रता ल्याइदिने नि:स्वार्थी दिवंगत नेतामाथि यो हदको अपमान निकृष्ट समाजले मात्र गर्न सक्छ ।’    

आश्रमा आइपुगेका किसुनजीका अनुयायीहरू त्यहाँ जल्न बाँकी एल्बममा रहेका केही फोटाहरु मोबाइलमा कैद गरिरहेका थिए । आश्रममा भेटिएका किसुनजीका भतिजा विनोद भट्टराईले एल्बममा बाँकी रहेको फोटो पल्टाउँदै भने, ‘संरचना त बन्ला तर खरानी बनाएको इतिहासका पानाहरू अब सधैँका लागि आगोमा विलय भएको छ ।’ उनले काका किसुनजीसँग सन् १९४७ देखिका फोटा तथा दस्ताबेज रहेको बताए । 'उहाँ (काका) ले सबै एकै ठाउँमा राखौं भनेर आश्रममै ल्याउनुभयो,  उनले भने,  ‘अब कुनै पनि इतिहासको रेकर्ड हामीसँग छैन । आश्रममा यस्तो होला भन्ने सोचेका थिएनौं ।’ 

आश्रममा किसुनजीले लेखेका कागजातदेखि उनले देशी/विदेशी मित्रहरूबाट पाएका उपहार सबै जलेर खरानी भएको छ । आश्रममा भेटिएका स्थानीय कांग्रेस नेता राजेन्द्र महर्जनले आश्रमको जग्गा बढाएर थप व्यवस्थित बनाउन खोजिरहेका बेला संरचना नै  जलाएर ध्वस्त पारिएको बताए ।

ऋषिराम

Link copied successfully