कलेज ड्रेसमै गोली लाग्यो

पढाइ सकेर कलेजबाट घर फर्केका श्रेयमलाई बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर निधन भएको कलेज र उनका सहपाठीले जनाएका छन् ।

भाद्र २८, २०८२

कान्तिपुर संवाददाता

Shot in college dress

इटहरी — इटहरी स्थायी घर भएका १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईं बानेश्वरस्थित ग्लोबल कलेजमा व्यवस्थापन विषयमा कक्षा १२ मा अध्ययनरत थिए । सोमबार जेन–जीले आन्दोलन घोषणा गरेपछि ग्लोबल कलेजले आफ्ना सबै विद्यार्थीलाई कलेजकै गाडीमा घर फर्कने व्यवस्था मिलाएको थियो ।

चौलागाईं पनि कलेजबाट पेप्सीकोलास्थित घर फर्किएको प्रिन्सिपल अम्बादत्त जोशीले बताए । ‘कलेजकै गाडीमा घरतर्फ पठाएका थियौं । एक्कासि कलेज पोसाकमा नै मृत्यु भएको थाहा भएपछि के कसो भयो केही बुझ्न सकेका छैनौं,’ उनले भने । उनको शव यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । 

पढाइ सकेर कलेजबाट घर फर्केका श्रेयमलाई बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर निधन भएको कलेज र उनका सहपाठीले जनाएका छन् । उनको निधनपछि अभिभावक र आफन्त काठमाडौं आएका छन् ।

मुचुल्काका लागि प्रहरीले जाहेरी माग गरेको एक आफन्तले बताए । विद्यालयले निहत्था विद्यार्थीको हत्या भएको भन्दै त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै विज्ञप्ति निकालेको छ ।

न्यायिक छानबिन गरी दोषीमाथि कडा सजायको व्यवस्था गर्न विज्ञप्तिमा माग गरिएको छ । सहपाठीका अनुसार प्रहरीले एक्कासि गोली चलाउन थालेपछि भाग्ने क्रममा चौलागाईंलाई गोली लागेको थियो । कलेजबाट साथीहरूसहित उनी आन्दोलनमा सहभागी थिए ।

गोली लागेर ढलेपछि उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गर्दै शव शिक्षण अस्पताल पठाएका थिए । ‘युवापुस्ताले देशकै भलाइका लागि गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले सुरक्षा दिन नसक्दा ज्यान गुमाउनुपर्‍यो,’ चौलागाईंका एक आफन्तले भने ।

- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

कान्तिपुर

Link copied successfully