माइतीघर–बानेश्वर खण्डमा कर्फ्यु आदेश जारी भएपछि पनि बानेश्वरका सडकमा आलो रगत बगिरहेको देखिन्थ्यो । कतै सुक्न लागेको रगतका टाटा पनि थिए ।
What you should know
काठमाडौँ — जेन–जीको प्रदर्शनमा सहभागी हुन विद्यालय पोसाकमै युवा र युवती १० बजे नै माइतीघर मण्डलमा जम्मा हुन थालिसकेका थिए । नेपालको राष्ट्रिय झन्डासँगै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका जेन–जीहरूले नाराबाजी गर्न थालिसकेका थिए ।
माइतीघर मण्डलमा जम्मा भएकाहरू नारबाजी लगाउँदै बबरमहल हुँदै नयाँ बानेश्वर लाग्दा ११ बज्दै थियो । कालो पृष्ठभूमिमा खप्पर र हड्डीको चित्र भएको झन्डा, नेपालको झन्डा र विभिन्न नारा लेखिएका प्लेकार्डसँगै चर्को नारा लगाउँदै प्रदर्शनकारी बानेश्वरतिर अघि बढ्दै थिए । जेन–जीको प्रदर्शन प्रहरीलाई फूल वितरण गर्दै सुरु हुने र गीत तथा कविता सुनेर समापन हुने भन्ने भनिएको थियो । राज्य व्यवस्थाविरुद्ध चर्का नारा लगाउँदै हिँडेकाहरू मन हलुँगो पारेर फर्केन उद्देश्यसहित बानेश्वर जाँदै थिए । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध चर्का नारा लगाइरहेका थिए । ‘नेपो किड’ र ‘नेपो बेबी’ विरुद्ध पनि नारा लागिरहेको थियो ।
माइतीघरबाट बानेश्वर लागेको जुलुस बबरमहलस्थित जिल्ला अदालत काठमाडौं कट्दै गर्दा पछाडिबाट एकहुल मोटरसाइकल र स्कुटर हुइँकिँदै आयो । नेपालको झन्डा घाँटीमा बाँधेका उनीहरू चर्को आवाजमा हर्न बजाउँदै र बुलेट बाइक पड्काउँदै प्रदर्शनलाई उत्तेजित बनाउँदै थिए, यस्तो क्रम दिनभर चलिरह्यो । माइतीघरको जुलुस बानेश्वरमा रहेको एभरेस्ट हस्पिटल नपुग्दै छक्कुबक्कु मार्गनेर खडा गरिएको प्रहरीको पहिलो ब्यारिकेड तोडिइसकिएको थियो । त्यसपछि प्रहरीले पानीको फोहरा प्रहार गर्न थाल्यो । त्यसले पनि प्रदर्शनकारीलाई रोक्न सकेन । प्रदर्शनकारी दोस्रो ब्यारिकेड पनि तोडेर करिब १२ बजे संसद् भवनतर्फ सोझिए । बानेश्वर चोकमा ढुंगामुढा सुरु भयो ।
कविता र गीत सुनेर फर्किने भनी बानेश्वर पुगेकाहरू दुई वटा ब्यारिकेड तोडिवरी संसद् भवनको मूलद्वारमा पुगेर प्रहरीसँग भिड्न थाले । उनीहरूलाई ब्यारिकेडमा नै रोक्नुपर्नेमा प्रहरीबाट त्यस्तो कुनै तयारी देखिएन । सुरक्षा संयन्त्रको फितलो तयारीले प्रदर्शन दुर्घटना उन्मुख भयो । प्रहरीले भित्र जान नदिने र प्रदर्शनकारी संसद्को ढोका हेरेर नफर्किने मुडमा थिए । अनि सुरु भयो धकेलाधकेल । प्रहरीमाथि सुरुमा पानीका बोतल प्रहार भयो । संसद् प्रवेश गर्ने गेट नम्बर दुईमा पनि प्रदर्शनकारी पुगिसकेका थिए । त्यहाँ रहेका नेपाल प्रहरीका अधिकारी र जवानबीच धकेलाधकेल सुरु भइसकेको थियो ।
संसद् प्रवेश गर्ने मूल गेटमा सवा १२ बजेतिर तोडफोड सुरु भयो । पर्खाल नाघेर युवाहरू गेटभित्र छिर्न खोजेका थिए । लगत्तै प्रहरीले अश्रुग्यास प्रहार गर्न थाल्यो । साढे १२ बजेदेखि प्रदर्शनकारी पर्खाल नाघेर संसद् भवन छिर्न खोज्ने र प्रहरी रोक्नका लागि गोली प्रहार गर्ने π १२ देखि २ बजेको बानेश्वरस्थित संसद् भवनको गेट रणमैदानमा परिणत भयो । प्रदर्शनकारी र रिपोर्टिङमा पुगेका पत्रकार गोली लागेर घाइते भएका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले घुँडामुनि गोली हान्न आदेश जारी गरे प्रहरीको गोली प्रदर्शनकारीको टाउको र छातीमा लागेको थियो । प्रदर्शनकारी संसद् भवनको पर्खाल नाघ्न खोज्दा प्रहरीले भित्रबाट गोली हानिरहेको थियो । त्यसैक्रममा धेरै प्रदर्शनकारीको ज्यान गयो ।
माइतीघर–बानेश्वर खण्डमा कर्फ्यु आदेश जारी भएपछि पनि बानेश्वरका सडकमा आलो रगत बगिरहेको देखिन्थ्यो । कतै सुक्न लागेको रगतका टाटा पनि थिए । युवाहरूका कपडामा रगत लतपतिएको थियो । संसद् भवन अगाडि र एभरेस्ट होटेल अगाडि दुई वटा एम्बुलेन्स जलिरहेका थिए । कालो धूवाँको मुस्लो उडिरहेका बेला प्रहरीले प्रहार गरिरहेका अश्रुग्यास, रबर गोली र गोली प्रहारका आवाज आइरहेको थियो ।
कर्फ्यु आदेश जारी भएपछि नेपाली सेना बानेश्वर प्रवेश गरेको थियो । जेन–जी प्रदर्शनकारीले बानेश्वरबाट थापागाउँतिर जाने बाटोमा र एभरेस्ट हस्पिटल अगाडि सेनाका गाडी रोकेर राखेको थियो । सेना बोकेका गाडी अगाडि प्रदर्शनकारी युवाहरू पल्टिएका थिए । जसका कारण उनीहरू संसद् भवनतिर प्रवेश गर्न पाएनन् । प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै ‘सेना आऊ, देश बचाऊ’ को नारा लगाइरहेका थिए । बानेश्वरबाट शंखमूल जाने मार्गको मुखैमा आलो रगत बगिरहेको थियो । बानेश्वरको आकाशे पुलमा रगत लतपतिएका कपडा लगाएका युवा थिए ।
प्रदर्शनकारीलाई पन्छाएर सेना संसद् भवन अगाडि पुगेपछि मात्रै त्यहाँको स्थिति नियन्त्रणमा आएको थियो । त्यसपछि सेनाले प्रदर्शनकारीलाई नयाँ बानेश्वरबाट बिजुलीबजार, बबरमहल हुँदै माइतीघरतिर पठायो । बबरमहलदेखि माइतीघरतिर लाग्दा प्रदर्शनकारीले वरपरका सरकारी र निजी आवासमा ढुंगा प्रहार गरेका थिए । बानेश्वरका केही घरमा पनि उनीहरूले ढुंगामुढा गरेका थिए ।
बिहानको झुल्के घाममा अव्यवस्था र बेथितिविरुद्ध प्रदर्शनको जोससहित माइतीघरमा भेला भएका युवाहरू घाम अस्ताउने बेला फेरि माइतीघर नै आइपुगे । बिहान जहाँबाट प्रदर्शन सुरु भएको थियो साँझ सोही ठाउँमा फर्केर आइपुग्दा आफूसँगै बानेश्वर पुगेका एक दर्जन साथीले राज्यको गोली लागेर ज्यान गुमाएको खबर जेन–जीले सुनिसकेका थिए ।
