जेन–जीको आन्दोलनबारे निजी क्षेत्रको प्रतिक्रिया : प्रदर्शनमा दमन दु:खद, प्रविधि निषेध गरे व्यापार फस्टाउँदैन

हालसम्म प्राप्त विवरणअनुसार जेन–जीको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Private sector's reaction to Gen-G's movement: Repression of protests is sad, business will not thrive if technology is banned

What you should know

काठमाडौँ — हालसम्म प्राप्त विवरणअनुसार जेन–जीको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । जेन–जीको आन्दोलनबारे निजी क्षेत्रको प्रतिक्रिया :

‘जेन जीको आवाज सुनौं’

–शोभा ज्ञवाली, अध्यक्ष

नेपाल महिला उद्यमी महासंघ

जुनसुकै मुलुकको ब्याक बोन युवा नै हुन् । मुलुकको अर्थतन्त्रमा उनीहरुको योगदान ठूलो छ । सरकारले जेन जी युवाहरुलाई कसरी व्यवस्थापन गराउनेतर्फ लाग्नुपर्थ्यो । युवाहरुको सोच र विचार नयाँ हुन्छ । ती युवालाई बाहिर नपठाई आफ्नै मुलुकमा उनीहरुको उपयोग गर्न सक्नुपर्थ्यो । जबसम्म युवालाई देशमै काम गर्ने वातावरण बनाउन सकिन्न, तबसम्म समृद्ध मुलुक बन्न सक्दैन । मुलुकको अर्थतन्त्र चलायमान पनि हुन सक्दैन । जेन जीको शान्तिपूर्ण आन्दोलनलाई नराम्रो बनाउन भिजिलान्तेहरुले खेले, जुन दुःखद हो । आफ्नै मुलुकमा बस्न सक्ने वातावरण बनाइदिन, जेन जीको सोचलाई कदर गरिदिन आवाज उठाउनेदेखि सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भन्ने विषय उठाइरहँदा मान्छे ताकेर नै गोली चलाएपछि दुःखद घटना भएको हो ।

...

‘व्यापारको चक्र बिथोलियो’

Private sector's reaction to Gen-G's movement: Repression of protests is sad, business will not thrive if technology is banned

–वीरेन्द्र पाण्डे, अध्यक्ष

नेपाल उद्योग परिसंघ

जेन जीको आन्दोलनमा दर्जनौं युवाले ज्यान गुमाए । यो दुर्भाग्यपूर्ण हो । सरकारले सुझबुझसहित जेन जीसँग समन्वय गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्छ । सरकारले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको जस्तो देखियो । सरकारले बल प्रयोग गर्ने भन्दा सहमति र समझदारी गरेर शान्तिपूर्ण वातावरण बनाउनेतर्फ लाग्नुपर्थ्यो । आन्दोलित जेन जीलाई शान्त बनाउन सरकारले भूमिका निर्वाह गर्नुपर्छ । उनीहरुका मुद्दा पनि सुन्न सक्नुपर्छ । सही मुद्दा उठाएका छन् भने त्यसको सम्बोधन गर्नुपर्‍यो ।

वार्ता गरेर होस् वा अनेक विधि प्रयोग गरी सरकारले छिटोभन्दा छिटोयसको समाधान खोज्नैपर्छ । जेन जी आन्दोलनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रसहित मुलुककै विभिन्न क्षेत्र बन्द छ । मुलुकमा सुशासन कायम होस्, स्वतन्त्र रुपमा आफ्नो मत राख्न पाइयोस् भन्ने नै जेन जीहरुको माग हो, जुन संविधानले समेत दिएको अधिकार हो । सोमबार यातायातका साधन प्रायः बन्द भए । यसबाट त्यहाँ काम गर्नेहरु प्रभावित बने । यात्रुहरु सडकमै अलपत्र परे । व्यापारको चक्र बिथोलियो । अब सरकारले छिटोभन्दा छिटो वार्ता गरेर समाधानको बाटो खोज्नुपर्छ । 

...

‘नयाँ पुस्ताको समयानुकूल मागको सम्मान गरौं’

–भवानी राणा, पूर्वअध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघ

सोमबारको दुःखद घटनाले सम्पूर्ण नेपालीको हृदयमा गहिरो पीडा दिएको छ । आफ्नो अधिकारका लागि अग्रसर भई लडिरहेका जेन–जी पुस्ताका कलिला भाइबहिनीहरूले जीवन गुमाउनुपरेको खबर सुन्दा अत्यन्त पीडाबोध भएको छ । जेन–जी पुस्ताको माग केवल उनीहरूकै लागि मात्र नभई सम्पूर्ण नेपालको उज्ज्वल भविष्यका लागि हो । नयाँ पुस्ताको समयानुकूल र न्यायसंगत मागलाई हामी सबैले सम्मान गर्न जरुरी छ ।

...

सरकारले अत्यधिक बल प्रयोग गरेको देखियो

–सुवास न्यौपाने, अध्यक्ष

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)

जेन–जीको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्‍यो । यति धेरै संख्यामा जनधनको क्षति हुने गरी सरकारले बल प्रयोग गर्नु हुँदैनथ्यो । आन्दोलन नियन्त्रण गर्ने नाममा सरकारले अपनाएको विधि ठीक भएन । आन्दोलनको मुख्य माग सरकारले गरेको सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने पनि हो । सामाजिक सञ्जालमा युवा पुस्ता निकै अभ्यस्त थिए । यसकारण छोटो सूचनाका आधारमा एक्कासि सरकारले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैनथ्यो । सरकारका तर्फबाट हेर्दा पनि सामाजिक सञ्जालहरूलाई दर्ता गर भन्नु बेठीक होइन । तर सञ्जाल बन्द गरेर त्यसबाट लाभ लिइरहेको जमातलाई एक्कासि सुविधाबाट वञ्चित गराउनु राम्रो होइन । सरकारले अब आन्दोलनलाई संयमित ढंगले व्यवस्थापन गर्न पहल गर्नुपर्छ ताकि थप जनधनको क्षति नहोस् ।

...

‘सरकारी हर्कतले पर्यटन क्षेत्रलाई तत्काल असर गर्छ’

–ध्रुव थापा,पूर्वअध्यक्ष

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल

प्रदर्शनमा नहुनुपर्ने घटना सोमबार भयो, यो अति दुःखद विषय हो । प्रदर्शनमा दमन पनि बढी देखियो । नेपालको इतिहासमा यस्तो घटना पहिलो पटक भए जस्तो लाग्छ । यसलाई मैले युवापुस्तामा राजनीतिप्रति देखिएको वितृष्णाका रूपमा लिएको छु । विगतदेखिकै असन्तुष्टि सोमबार देखिएको हो । जेनजीका माध्यमबाट बाहिर आएको मात्रै हो ।

प्रविधिको जमानामा मिडिया, सामाजिक सञ्जाललाई नियन्त्रण गर्नु ठीक होइन । सामाजिक सञ्जालकै माध्यमबाट पुराना पार्टी यहाँसम्म आएका छन् । बोल्न पाइँदैन, लेख्न पाइँदैन, विरोध गर्न पाइँदैन भन्नु नै गलत हो ।

यस्तो प्रकारको आन्दोलनले व्यापार व्यवसायमा असर गर्छ नै । तत्काल असर गर्ने पर्यटन क्षेत्रमा हो । गलतलाई गलत र ठीकलाई ठीक भन्न सक्नुपर्छ । सरकारले दमन नगरेको भए दर्जनौं नागरिकको मृत्यु हुने थिएन ।

... 

‘आन्दोलनले अर्थतन्त्रमा प्रभाव पार्छ, प्रविधि नहुँदा व्यापार विस्तार हुँदैन’

Private sector's reaction to Gen-G's movement: Repression of protests is sad, business will not thrive if technology is banned

–कमलेशकुमार अग्रवाल

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

जेनजीको अगुवाइमा काठमाडौंमा सोमबार गरिएको प्रदर्शनमा धेरै दुःखद घटना भए । यसमा सुरक्षा निकाय संवेदनशील हुनुपर्थ्यो, त्यो देखिएन । प्रदर्शनमा भएको घटनाले सबैलाई दुःखी तुल्याएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा होस् या अन्य जुनसुकै आन्दोलन किन नहोस्, त्यसले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । उद्योग व्यवसायमा असर पार्छ ।

अहिले अर्थतन्त्र सुधारोन्मुख छ । तर अब यसमा नकारात्मक प्रभाव पर्न सक्छ । सरकारले एकै चोटि दुई दर्जन एप बन्द गर्दा धेरै युवालाई प्रत्यक्ष असर परेको छ । किनभने धेरैले सोही माध्यमबाट जीविकोपार्जन गर्दै आएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीसँग सम्पर्क गर्ने माध्यम पनि अनलाइन हो । त्यो सम्पर्क पनि टुटेको छ । व्यापारिक हिसाबले हेर्दा चीनसँगको व्यापार गर्ने माध्यम विच्याट मात्रै माध्यम हो । सामाजिक सञ्जाल बन्द हुँदा वैदेशिक व्यापारमा समस्या आएको छ । सामाजिक सञ्जाल बन्द भएका बेला विदेशी लगानी पनि आउँदैन ।

कान्तिपुर

Link copied successfully