लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजलाई समयमै पहिचान गरी विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्नुपर्ने आयोगको भनाइ छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा उत्रेकाहरुमाथि सुरक्षा निकायले अत्याधिक बल प्रयोग गर्नु दुखद भएको बताएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको भनेको हो । ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँको माइतीघरबाट सुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ ।’
प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । आयोगले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचार गर्न अनुरोध गरेको छ ।
‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ,’ आयोगले भनेको छ, ‘अतः यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रुपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’
साथै, आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई समेत अनुरोध गरेको छ ।
आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न र पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्न सरकारलाई अग्रह गरेको छ ।
नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युुबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी नामक समूहको आह्वानमा काठमाडौँ लगायत देशका विभिन्न शहरहरुमा आयोजना भएको प्रदर्शनमा आयोगको सवारी साधन र अनुगमन टोलीमाथि पनि हिंसात्मक आक्रमण भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ, पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरुमा प्रदर्शन भएको आयोगको जानकारीमा आएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सवै अस्पतालहरुमा निशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
