सामाजिक सञ्जाल बन्द गरेर बोल्न पाउने कुरामा सरकारले हस्तक्षेप गरेपछि आफूहरु सडकमा आउन बाध्य भएको माइतीघरमा भेला भएका जेन-जीहरुले बताइरहेका छन् ।
What you should know
काठमाडौँ — कान्तिपुर कलेजमा अध्ययनरत भूमिका भारती आफ्ना तीन साथीसहित माइतीघरमा आइपुगेकी छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका 'जेन-जी'को प्रतिनिधि पात्र भारतीले सरकार भ्रष्ट भएकाले आफूहरु बोल्नुपर्छ भनेर यहाँ आएको बताइन् ।
उनीसँग आएका अन्य तीन साथीले पनि समर्थन जनाउँदै भने, 'अत्ति भएर आएका हौं ।'
डिजिटल प्लाटफर्मबाट सुरु भएको यो आन्दोलन माइतीघरसम्म आइपुगेको हो । जसमा सहभागी अधिकांश जेन-जी पुस्ताका देखिन्छन् । कतिपय त भूमिकाजस्तै कलेजको पढाइ नै छाडेर आइपुगेका छन् ।
तिनैमध्येका एक हुन्, १२ कक्षा पढ्दै गरेका झापाका मनोज भट्टराई । उनले भ्रष्ट सरकारको निरन्तरताविरुद्ध आफूहरु आन्दोलन आएको बताए । 'हरेक दिन नयाँ दिनबाट सुरु हुने हो । त्यो एक दिन आजै हुन सक्छ,' उनले भने । उनले सामाजिक सञ्जाल बन्द गरेर बोल्न पाउने कुरामा सरकारले हस्तक्षेप गरेपछि आफूहरु सडकमा आउन बाध्य भएको बताए ।
जेन-जी आन्दोलनमा आएका धेरै सहभागी कलेज पोसाकमै देखिन्छन् । तीमध्ये सञ्चारमाध्यमसँग आफ्ना कुरा राख्ने धेरैले आफ्नो परिचय नखुलाउन भनेका छन् । तिनैमध्येका एक हुन्, कोटेश्वरबाट आएका एक युवा । उनले आफू ५ जना साथीहरुसहित यहाँ आएको बताउँदै भने, 'यो आफ्नै आन्दोलन हो । त्यसैले हामी आएको ।'
माइतीघरमा भेला भएका जेन-जी पुस्ता ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने योजनामा छन् । टिकटक र रेड्डिटको आह्वानबाट सुरु भएको यो आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् ।
सम्बन्धित अन्य समाचार
