विपक्षी दलहरूले उपसभामुख रानाविरुद्ध खाली कागजमा सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेर कांग्रेस र एमालेले लोकतन्त्रको धज्जी उडाएको निष्कर्ष निकालेका छन्।
What you should know
काठमाडौँ — कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन हस्ताक्षर संकलन थालेपछि विपक्षी दलले मोर्चाबन्दी गरेका छन्। सत्तारूढ दलले उपसभामुख रानाको पदीय आचरणलाई लिएर प्रस्ताव दर्ता प्रक्रिया अघि बढाए एकै ठाउँ उभिएर प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरूले गरेका छन्।
विपक्षी दलहरूको मंगलबार बसेको बैठकले उपसभामुख रानाविरुद्ध खाली कागजमा हस्ताक्षर अभियान सुरु गरेर कांग्रेस र एमालेले लोकतन्त्रको धज्जी उडाएको निष्कर्ष निकालेका छन्।
‘यो कदम उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारी नियुक्तिको आधार तयार पार्न चालिएको हो भन्ने घाम जत्तिकै छर्लङ्ग छ,’ बैठकको निष्कर्ष सुनाउँदै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘यो र यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेका छन् र संकटग्रस्त बनाउँदै छन् ।’
विपक्षी दलहरूको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले अङ्कगणितको बलमा मुलुकको प्रणालीमाथि हस्तक्षेप गरेको टिप्पणी गरेका थिए । सत्तारूढ दलले उपसभामुख हटाउन खोजेर संवैधानिक निकाय ‘कब्जा’ गर्न खोजेकाले विपक्षीहरू एक ठाउँमा उभिन आवश्यक भएको उनको भनाइ थियो । ‘अङ्कगणितको बलमा उपसभामुखलाई हटाएर संवैधानिक परिषद् र संवैधानिक निकाय कब्जा गर्न खोजिएको छ । त्यसको प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानाले पदीय आचरण विपरीत कार्य गरेको प्रमाणित नभई हटाउन खोज्नु अलोकतान्त्रिक कदम भएको बताए । ‘कांग्रेस र एमालेले संख्याका आधारमा बारम्बार षड्यन्त्र गर्न खोजिरहेका छन् । यो कसैका लागि पनि हितकर छैन । उपसभामुखलाई हटाउन खोज्नु असंवैधानिक र असंसदीय हुन्छ । लोकतन्त्रको मजाक पनि हुन्छ,’ उनले भने, ‘सभामुख र उपसभामुख हामीले अपनाएको राजनीतिक प्रणालीका सम्मानित पात्र हुन् । उपसभामुखलाई बारम्बार हटाउने हर्कत गरी संसद्को महत्त्वलाई अवमूल्यन गरिएको छ।’
संसद्मा आमजनताका चासोका मुद्दा उठिरहेका बेला सत्ता गठबन्धनले उपसभामुख हटाउने तयारी गरेको प्रमुख सचेतक परियारले बताए । संसदीय प्रणालीको सम्मान गर्दै उपसभामुख रानालाई हटाउने कार्य बन्द गर्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘सत्ता गठबन्धन सभामुख हटाउने बाटोमा लाग्यो भने सबै प्रतिपक्ष एक ठाउँमा आएर प्रतिवाद गर्छौँ ।’ राना रास्वपाका तर्फबाट साढे दुई वर्षअघि उपसभामुख चयन भएकी थिइन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा हस्तक्षेप गर्न सत्तारूढ दलले उपसभामुखलाई हटाउन खोजेको बताए । ‘यो संवैधानिक परिषद्मा हस्तक्षेप गर्ने प्रयास हो । परिषद्मा आफू अल्पमतमा पर्ने अवस्थामा बहुमत पुर्याउन कुकृत्य भएको विपक्षीको ठहर छ,’ उनले भने, ‘कांग्रेस–एमालेले संवैधानिक परिषद्लगायत निकायमा कब्जा गर्ने उद्देश्य लिएको देखिन्छ ।’
राजतन्त्र पुनः स्थापना अभियानमा लागेर विपक्षी मोर्चाबाट बाहिरिएको राप्रपा पनि उपसभामुख रानालाई हटाउने सत्तारूढ दलको पहलविरुद्ध उभिएको छ । ‘पदीय आचरण विपरीत भनेर उपसभामुख हटाउन संसद्बाट दुई तिहाइ बहुमत पुर्याउनतिर जो कोही अघि जान खोजे राप्रपा विपक्षमा उभिनेछ,’ राप्रपा संसदीय दलका उपनेता बुद्धिमान तामाङले भने ।
विपक्षी दलको बैठकमा उपस्थित दलमध्ये माओवादीका ३२, रास्वपाका २१ (एक निलम्बन), राप्रपाका १३, एकीकृत समाजवादीका १० (एक निलम्बन) र आमजनता पार्टीका १ सांसद प्रतिनिधिसभामा छन् ।
विपक्षी दलको बैठक बस्नुअघि माओवादीका अध्यक्ष दाहालले कांग्रेस नेता शेखर कोइरालासँग टेलिफोन वार्ता गरेका थिए । उपसभामुख हटाउनेबारे दाहालले जिज्ञासा राखेको नेता कोइरालाले जानकारी दिए । ‘अहिले आएर उपसभामुख किन हटाउन खोजेको हो भनेर प्रचण्डजीले फोन गर्नुभएको थियो,’ कोइरालाले भने, ‘यस प्रक्रियामा म सहमत छैन भनेँ।’
दाहालनिकट स्रोतका अनुसार उपसभामुख रानालाई हटाउन चालिएको कदम रोक्न कोइरालाको भूमिका महत्त्वपूर्ण हुने दाहालले टेलिफोन वार्तामा बताएका थिए ।
सरकार अधिनायकतर्फ अघि बढेको माओवादीको निष्कर्ष
प्रमुख प्रतिपक्षी माओवादीले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकार देश र जनताको हित विपरीत गलत कदम चालेर अघि बढिरहेको आरोपसमेत लगाएको छ ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सरकार झन्–झन् अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको निष्कर्ष बैठकले निकालेको छ । ‘राज्यका सबै संरचनामाथि हस्तक्षेप बढिरहेको छ । यो सरकारको नालायकी र कुशासनका कारण जनता असाध्यै रुष्ट र आक्रोशित छन्,’ बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ‘कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन पहिला नै कोसिस गरिरहेका थिए, अहिले हस्ताक्षर नै गरिरहेको भन्दै खबर आएको छ । राष्ट्रिय जीवनका सबै क्षेत्रमा अधोगतितिर यो सरकार गइरहेको छ ।’
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख रानालाई हटाउन चालिएको पहलबाट सरकार अधिनायकवादी बाटोमा अघि बढिरहेको थप पुष्टि भएको बताएका थिए ।
