उनले पार्टीभित्र पूर्व परामर्शसमेत नगरी बालुवाटारमा केही नेता बसेर गरिएको निर्णयलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख हटाउने आफ्नै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति गम्भीर असमति प्रकट गरेका छन् ।
उनले पार्टीभित्र पूर्व परामर्शसमेत नगरी बालुवाटारमा केही नेता बसेर गरिएको निर्णयलाई स्वीकार गर्न नसकिने बताएका छन् । ‘बालुवाटारमा पाक्ने, बुढानिलकण्ठमा पस्कने कुरासँग सोझै रुपमा सहमत हुन सकिन्न,’ शर्माले भने,‘उपसभामुख इन्दिरा राना संलग्न भएको घटना गम्भीर छ । तर, देशको संघीय संसदको उपसभामुख विदेशमा भएको बेलामा भूकम्प आउँदा घरबाट भागेर नस्किेजस्तो आपतकालीन ढंगले हटाउने जुन सक्रियता गरियो, योप्रति सहमत हुने ठाउँ छैन ।’
शर्मा रुपेन्देही–३ मा हुने लागेको उपनिर्वाचनको तयारीमा सक्रिय रहेकाले सभापति देउवाले बिहान बोलाएको पदाधिकारी बैठकमा समेत सहभागी थिएनन् । शर्माले पार्टीभित्र संस्थागत धारणा नबनाई निर्णय सुनाउने कुराप्रति असहमति जनाए । ‘गम्भीर विषयमा पार्टीको संस्थागत विषय हुन्छन् । पार्टीभित्र छलफल आवश्यक हुन्छ । कम्तीमा त पदाधिकारी तहमा सल्लाह हुन्छ । त्यो सम्भव नभएपनि सभापति र महामन्त्रीबीचको सल्लाहमा हुन्छ । परामर्शसम्म नगरी हतारमा यस्तो कार्य गर्नेसँग सहमत हुन सकिन्न,’ शर्माले भने,‘म व्यक्तिगत कामका लागि बाहिर थिएँ । रुपेन्देहीमा पाटीको जम्मेवारी बोकेर आएको हुँ । त्यस्तो के आपतकालीन अवस्था आयो र एक दिनपनि पर्खन सकिएन ? किन उसभामुखलाई पर्खन सकिएन ?’
