कांग्रेस र एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आ–आफ्नो सांसदहरूको हस्ताक्षर गराइरहेका बेला उपसभामुखले कांग्रेस नेता कोइरालासँग परामर्श गरेकी थिइन् ।
काठमाडौँ — अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा रानाले आफूलाई हटाउने खेल सुरु भएपछि कांग्रेस नेता शेखर कोइरालासँग टेलिफोन संवाद गरेकी छिन् ।
कांग्रेस र एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आ–आफ्नो सांसदहरूको हस्ताक्षर गराइरहेका बेला उपसभामुखले कांग्रेस नेता कोइरालासँग परामर्श गरेकी थिइन् । एकाएक उपसभामुखलाई हटाउन आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध उत्रिएका कोइरालाले उनलाई आफू पूर्ववत् धारणामा अडिग जवाफ उपभासमुख रानालाई दिएका थिए ।
‘हिजो पनि यो गलत छ । यसले राम्रो सन्देश जाँदैन र राजनीतिक दलको छविमा पनि जनस्तरमा अझ क्षति पुर्याउने काम गर्छ भनेर भनेको थिए, आज पनि मेरो धारणा त्यहीँ हो भन्ने कुरा गरेको हुँ,’ कोइरालाले कान्तिपुरसँग भने ।
यसअघि पनि उपसभामुखलाई हटाउन कांग्रेस र एमालेले हस्ताक्षर गर्दागर्दै कांग्रेसमा कोइराला पक्षको असन्तुष्टि र साना दलहरूको अन्योलले कांग्रेस र एमाले नेतृत्व पछि हटेका थिए । यसपटक दुई दलका अतिरिक्त सरकारमा सहभागी जसपा, लोसपा, नागरिक उन्मुक्तिका अतिरिक्त जनमत र जसपा, नेपालसँग समेत परामर्श गरेर ओली र देउवाले संसद्मा पदीय आचरण विरुद्धको प्रस्ताव दर्ता गर्न सांसदहरूको हस्ताक्षर तयार पार्न लागेका हुन् ।
