५५९ कैदीबन्दीलाई शौचालय १५ मात्रै

जलेश्वर कारगारको क्षमता २ सय जना अट्ने हो तर यहाँ ५ सय ५९ कैदीबन्दी कोचाकोच गरेर राखिएको छ । तर जेल प्रशासनका कर्मचारी भन्छन्, 'सबै मिलेर बसेका छन् ।'

श्रावण २५, २०८२

सन्तोष सिंह

Only 15 toilets for 559 prisoners

काठमाडौँ — २ सय जना अट्ने क्षमताको भवनमा कतिसम्म मानिस कोचेर राख्न सकिएला ? तीन सय वा त्योभन्दा पनि बढी ? १९९३ सालमा निर्मित जलेश्वर कारागारको क्षमता १ सय ३५ जना कैदीबन्दी राख्ने हो ।

पछिल्लो समय यसको क्षमता बढाएर २ सय पुर्‍याइयो । तर यहाँ अहिले ५ सय ५९ कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ । जसका निम्ति जम्मा १५ वटा शौचालय छ । कान्तिपुरको सम्पर्कका आएका केही कैदीबन्दीले दिसापिसाबका निम्ति पनि लामो पालो पर्खिनुपर्ने अवस्था रहेको बताए । 

जीर्ण भवन भएकै कारण २०७९ असारमा ३५ महिला कैदीबन्दीलाई यहाँबाट सिन्धुली कारागारमा स्थानान्तरण गरिएको थियो । त्यसलगत्तै १६५ जना कैदीबन्दीको संख्या बढेर २ सय पुग्यो । 

कारागार प्रशासक अशोककुमार क्षेत्रीले अहिले ५ सय ५९ जना कैदीबन्दी राखिएको बताए । उनले कारागार जीर्ण भएको, मर्मतका निम्ति बजेट अभाव भएको र आफूहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरेको बताए । उनले भने, 'भौतिक संरचना जीर्ण भएकाले कैदीबन्दी राख्न समस्या छ । तर अनुशासनमा कुनै समस्या छैन ।' 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले कमजोर संरचना र कैदीबन्दीलाई बस्ने सुविधाको अभाव भए पनि कारगारभित्र विवाद र समस्या नदेखिएको दाबी गरे । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully