२५ जना क्षमता रहेको बैतडी कारागारमा ६३ जना, महिला कैदी राख्ने ठाउँ छैन

वर्षौं पुरानो जीर्ण कारागारमा महिला कैदी राख्ने छुट्टै कोठाको व्यवस्था नभएपछि डडेल्धुरा कारागार पठाउने गरिएको छ । 

श्रावण २५, २०८२

मोहन चन्द

Baitadi Jail, which has a capacity of 25, has no room for 63 female prisoners

बैतडी — जिल्ला कारागार बैतडीमा महिला कैदी राख्ने ठाउँ छैन । वर्षौं पुरानो जीर्ण कारागारमा महिला कैदी राख्ने छुट्टै कोठाको व्यवस्था नभएपछि डडेल्धुरा कारागार पठाउने गरिएको छ । 

२०४० सालमा १५ पुरुष र १० महिला गरी २५ जना कैदी राख्ने क्षमताको कारागार भवनको निर्माण गरिएको थियो । कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदी र थुनुवा राखिएका छन् । अहिले यहाँ ५३ कैदी र १० थुनुवा गरी ६३ जना पुरुष मात्र रहेका छन् ।अनि उनीहरुका निम्ती शौचालय भने चार वटा मात्रै रहेका छन् । कहिलेकाही त कैदीबन्दीहरु शौचालय जानका निम्ती पनि लामाे समयसम्म पालो कुर्नुपर्ने बाध्यता बैतडी कारगारका निम्ती सामान्य कुरा भइसक्यो । 

सुत्नलाई दुईतले खाटको व्यवस्थापन गरिएको जिल्ला कारागार बैतडीका खरिदार कृष्णबहादुर चन्दले बताए । ‘कैदी राख्ने एक ब्लक मात्र भएकाले महिला कैदीलाई राख्न सकेका छैनौं,’ उनले भने, ‘फैसला हुनेबित्तिकै महिला कैदीलाई अदालतबाट सिधै डडेल्धुरा पठाउँछौं ।’ 

कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यानका १५ कैदी, ४ थुनुवा गरी १९ जना र जबरजस्ती करणीमा १७ कैदी, १ थुनुवा गरी १८ जना रहेका छन् । अरु केसमा १/२ जनामात्र कैदी छन् । कारागारभित्रको आन्तरिक प्रशासन व्यवस्थापनका लागि एक चौकीदार, एक नाइके, एक शिक्षक नाइके र ५ जना सहनाइकेको जिम्मेवारी दिएको खरिदार चन्दले बताए ।

‘कैदीहरुमा गुट–उपगुटको कुनै वातावरण छैन,’ खरिदार चन्दले भने । कारागारलाई नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । 

कारगारभीत्र हुने गरेका बेथितीबारेका अन्य समाचारहरु 

सिरहा कारागारभित्रै मदिरा र मोबाइल : छानबिन प्रतिवेदन ८ महिनादेखि अलपत्र

तीन सातादेखि झडप भइरहँदा प्रमुख र कामु बिदामा, जेल प्रशासनको बेवास्ताले हिंसा

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully