कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने

सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको हो ।

श्रावण २४, २०८२

रासस

The seriously injured of the Kailali prison clash will be brought to Kathmandu

What you should know

काठमाडौँ — गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ ।

शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिव, तीन वटै सुरक्षा निकायका प्रमुखसहित सम्बद्ध अधिकारीबाट घटनाको समग्र अवस्थाबारे जानकारी लिने क्रममा यस्तो जनाकारी दिइएको हो । साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको र त्यसका लागि मन्त्रालयले सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी गराए ।

'कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्', प्रवक्ता काफ्लेले भने,'झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ ।'

बैठकमा कारागारको आन्तरिक सुरक्षालगायत  विषयमा छलफल भएको थियो । 

रासस

Link copied successfully