जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १० दिनभित्र प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरेको छ।
धनगढी — शुक्रबार राति एक जनाको ज्यान जाने गरी र ४७ जनाभन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीबीच भएको झडपको अनुसन्धान गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहने गरी छानबिन समिति गठन गरेको हो।
समितिलाई घटनाको छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यतिबेला कैलाली कारागार तनावग्रस्त छ। कारागारमा सशस्त्र प्रहरीलगायत बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। कैदीलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिकजसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
सोही क्रममा शुक्रबार मध्यराति भएको झडपमा धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना कैदीबन्दी घाइते भएका छन्।
घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भीर भएकाले आइसीयूमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ। एक सय ५० जनाको क्षमताको कैलाली कारागारमा सात सयभन्दा बढी कैदीबन्दी रहेका छन्।
