सिरहा कारागारभित्रै मदिरा र मोबाइल : छानबिन प्रतिवेदन ८ महिनादेखि अलपत्र

यस कारागारमा पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने गरेको तथ्य पनि खुलेको थियो ।

श्रावण २५, २०८२

विनय आजाद

Liquor and mobile phones inside Siraha Jail: Investigation report pending for 8 months

What you should know

सिरहा — सिरहास्थित कारागारमा गत साउन ४ गते दिउँसो दुई समूहबीच झडप भयो । झडपमा परेर निमित्त चौकीदार विजय महतोसहित १३ जना घाइते भए । उनीहरूलाई तत्काल सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरेर केन्द्रीय कारागार काठमाडौं पठाइयो ।

कारागार स्रोतका अनुसार कर्तव्य ज्यानमुद्दामा जेल सजाय काट्दै कारागारको आन्तरिक प्रशासन चलाउँदै आएका महतो र उनको समूहले कैदीहरूसँग अवैध रूपमा रकम असुलिरहेको थियो । यस विषयमा कैदीहरूले कारागार प्रशासनसमक्ष पटकपटक मौखिक गुनासो गरेका थिए । तर, कतैबाट सुनुवाइ नभएपछि झडप नै हुने स्थिति सिर्जना भएको एक कैदीले बताए ।

कुनै समय एउटै समूहमा रहेका महतो र आन्तरिक प्रशासनकै नाइके इन्द्रजित यादव पछिल्लो समय दुई समूहमा विभाजित थिए । यो झडप उनीहरूकै समूह बीच भएको हो ।

उनीहरू दुवै तिनै व्यक्ति हुन्, जसले कारागारभित्रै मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको दृश्यसहित २०८१ कात्तिकमा कान्तिपुरले समाचार सार्वजनिक गरेको थियो । यस कारागारमा पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने गरेको तथ्य पनि खुलेको थियो ।

यसैगरी, कैदीहरू पैसा तिरेर बाहिर निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट मच्चाउने तथा चौकीदार र प्रशासन मिलेर महिनाकै २० लाखभन्दा बढी उठाउने गरेको लगायतका विषय पनि बाहिरिएको थियो ।

समाचार सार्वजनिक भएपछि कारागार व्यवस्थापन विभागको निर्देशनमा जिल्ला सुरक्षा समितिले नेपाल प्रहरीका डीएसपी विष्णुप्रसाद सोती नेतृत्वमा कारागार, जिल्ला प्रशासनका प्रतिनिधिसहित पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । समितिले डेढ महिना लगाएर २०८१ पुस ४ मा जिल्ला सुरक्षा समितिमा ९० पेजको प्रतिवेदन बुझाएको थियो । 

कारागारको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकको कमान्डमा २५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । यस्तै, जिल्ला प्रशासन कार्यालय, सिरहा र कारागार कार्यालय, सिरहाले पनि यसमाथि प्रत्यक्ष निगरानी राख्छ ।

Liquor and mobile phones inside Siraha Jail: Investigation report pending for 8 monthsतर, यसका बाबजुद कारागारमा अवैध गतिविधि हुँदै आएको यो घटनामा छानबिन समितिले प्रहरी, कारागारका कर्मचारीदेखि कारागारको आन्तरिक प्रशासन चलाइरहेका कैदीसम्मलाई सरुवा र कानुन बमोजिम कारबाही गर्नुपर्ने सुझाएको छ । यद्यपि, यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न भने आनाकानी हुँदै आएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न आनाकानी मात्र होइन, कारागार व्यवस्थापन विभागदेखि जिल्लाका निकायसम्मले छानबिन समितिको यो प्रतिवेदन बनेको आठ महिना हुँदासमेत कार्यान्वयनमा पनि अहिलेसम्म कुनै किसिमको तदारुकता देखाएका छैनन् ।

करिब १० महिनाको अवधिमा मात्रै सिरहा कारागार कार्यालयबाट तीनजना जेलर फेरिएका छन् । यस विषयमा पहिलो समाचार आउँदा सिरहा कारागार जेलर थिए, दिनेश भट्टराई । तर, उनको त्यसको एक महिनापछि सरुवा भयो । असोजमा राजन घिमिरे जेलर भएर आए । तर, गत वैशाखमा उनको पनि सरुवा भयो । अहिले सुवोधकुमार महतो जेलर छन् ।

कारागार स्रोतका अनुसार, यसरी छोटो अवधिमा तीन जेलर फेरिनुको पछाडीको कारण भने उनीहरूले प्रतिवेदन कार्यान्वयन गराउन गरेको प्रयास हो । प्रतिवेदन कार्यान्वयन गर्न खोज्दा नै जेलरको कारागार व्यवस्थापन विभागबाटै सरुवा हुने गरेको सिरहा कारागारका एक कर्मचारी बताउँछन् । 'प्रतिवेदनकै कारण जेलरहरू घानमा पर्छन्,' नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, 'एकातिर आन्तरिक प्रशासन चलाइरहेका कैदीहरूको माथिसम्मै पहुँच हुन्छ, अर्कोतिर जिल्लाका अरु निकायले राम्ररी साथ पनि दिँदैन ।'

कारागारमा हुने अवैध गतिविधिमा सरकारी अधिकारीहरुकै मिलेमतो रहने गरेको कुरा यो प्रकरणले प्रस्ट पार्ने, यसले अपराध गरेर जेल सजाय काटिरहेकाहरूको मनोबल झन् बढाउने र यसै कारण यहाँ पटकपटक विवाद निम्ति रहने गरेको सिरहाका देवकुमार यादव बताउँछन् । 

'प्रमाणसहित नै समाचार आएपछि अब केही पक्कै हुन्छ भन्ने थियो, तर, प्रशासनको रबैया र व्यवहार निकै शंकास्पद देखिन्छ,' उनले भने, 'यसले राज्यका निकायभन्दा पनि यहाँका कैदीहरू शक्तिशाली छन् भन्ने कुरा देखाउँछ, पैसाका बिटो बुझेपछि उनीहरूको यो रवैया स्वभाविक पनि हो ।'

यो घटनापछि यहाँका कैदीहरू झन् त्रासमा रहँदै आएका छन् । सिरहा कारागारमा पाँच-सात दिनकै अन्तरालमा विवाद भइरहने गरेको एक कैदी बताउँछन् । 'अस्ति अलि ठूलो घटना भएर बाहिर आयो, तर यहाँ विवाद भइरहन्छ,' एक कैदीले नाम उल्लेख नगर्ने शर्तमा भने, 'कतिखेर के हुने हो, ठेगान हुँदैन, हामी त्रासमा हुन्छौं ।'

कैदीहरू डराएको भए पनि विवाद हुने अवस्था भने अहिले नरहेको दाबी जेलर महतोको छ । 'घटनापछि कैदीहरूमा डर त्रास स्वभाविक हो,' उनले कान्तिपुरसँग भने, 'तर, कुनै त्यस्तो खालको विवाद वा घटना हुने अवस्था छैन ।'

सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्याल भने छानबिन प्रतिवेदन कार्यान्वयनको प्रयास भइरहेकै अवस्थामा झडप हुन पुगेको बताउँछन् । 'प्रतिवेदन कार्यान्वयनका लागि प्रयास भइरहेकै अवस्थामा घटना भयो,' उनले भने, 'यसको अनुसन्धानमा हामी केन्द्रित छौं, यससँगै प्रतिवेदन कार्यान्वयनको कुरालाई पनि सँगै लगिरहेका छौं ।'

१५ जना महिला र १ सय ३५ जना पुरुष गरी १५० जना क्षमताको सिरहा कारागारमा अहिले ४ सय ४७ जना कैदीबन्दी छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully