What you should know
सिरहा — सिरहा कारागारमा दुई पक्षबीच झडप भएको छ । आइतबार बिहान आन्तरिक प्रशासन चलाइरहेका कैदी तथा अन्य कैदीहरूको समूहबीच झडप भएको हो । झडपमा परेर १३ जना कैदी घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताएका छन् । 'अहिले घटनाका घाइतेहरूलाई अस्पताल ल्याउने र उपचार गराउने काम भइरहेको छ,' उनले भने, 'विवादको कारणबारे अनुसन्धान भइरहेको छ ।'
कारागार स्रोतका अनुसार, झपडमा परेर घाइतेसमेत भएका कर्तव्य ज्यान मुद्दामा जेल काट्दै कारागारको आन्तरिक प्रशासन चलाइरहेका निमित्त चौकीदार विजय महतो र उनको समूहले कैदीहरूसँग अवैध रूपमा रकम असुलिरहेको थियो ।
यसै विषयमा दुई समूहबीच झडप भएको एक कैदीले बताए । 'हामीले यसबारे सम्बन्धित निकायमा गुनासो पनि पुर्याएका थियौं, तर असुली रोकिएन,' ती कैदीले भने, 'कतैबाट सुनुवाइ नभएपछि आज झडप नै हुन पुग्यो ।'
सिरहा कारागारमा आन्तरिक प्रशासनले मदिरादेखि लागूऔषधको कारोबार गर्ने गरेको, विभिन्न बहानामा अवैध असुली हुने गरेको विषय यसअघि पनि सार्वजनिक भएको थियो । त्यस विषयमा नेपाल प्रहरीका डीएसपीको कमान्डमा छानबिन समिति नै बनेको थियो ।
समितिले कारागारको सुरक्षा तथा निगरानीमा खटिने अधिकारीसहित एक दर्जन बढी कैदीलाई कानुन बमोजिम कारबाहीको सुझाव दिँदै प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिवेदन कार्यान्वयन गर्न सिरहा प्रशासनले आलटाल गर्दै आएको छ ।
