साउन सकिन दुई साता बाँकी छँदा मधेशमा ५७.२८ प्रतिशत रोपाइँ
What you should know
सिरहा, जनकपुरधाम, राजविराज, बारा,पर्सा — खडेरीले आक्रान्त मधेशमा दुई दिनयताको वर्षापछि धमाधम रोपाइँ सुरु भएको छ । सिँचाइ सुविधा नहुँदा आधा साउनसम्म खेत बाँझो छाडेका किसानले आइतबार दिनभर रोपाइँ गरेका हुन् । केही किसान रोपाइँका लागि धानको बेर्ना जोहोमा जुटेका छन् । धाँजा फाँटेको खेत पानीले भरिन थालेको छ ।
सिरहा गोलबजार नगरपालिका–४ निपानेका रामअशिष यादवले ४ बिघा जग्गामा धान खेती गर्दै आएका छन् । पानी नपर्दा रोपाइँको आस मारिसकेका उनले आइतबार एक बिघामा धान रोपे । ‘सधैं असारमै रोपिसक्थ्यौं यसपालि त वर्षा हुने छाँट नदेखिँदा आसै मरिसकेको थियो,’ उनले भने, ‘शनिबार रातिको वर्षा सञ्जीवनी बन्यो । एक/दुई दिनमा बाँकी तीन बिघा भ्याउँछु ।’
कृषि ज्ञान केन्द्र सिरहाका अनुसार धान खेती हुने जिल्लाको ५४ हजार हेक्टरमध्ये शुक्रबारसम्म ५० प्रतिशतमा मात्रै रोपाइँ भएको थियो । यो वर्षाले ८० प्रतिशतमाथि पुग्ने ज्ञान केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठले बताए ।
यस्तै, धनुषा हंसपुर नगरपालिका–९ का एकाइ मण्डलले दुई दिनमै एक बिघा खेतमा रोपाइँ सके । ‘बीउ तयार थियो तर पानी नभएर बाँझो रहने चिन्ता थियो,’ उनले भने, ‘पानी परेपछि सिँचाइको कुनै उपाय नभएको खेत पनि रोप्न पाएको छु ।’ सोही गाउँका छोटी मण्डलले एकै दिन २५ जना मजदुर खटाएर डेढ बिघामा रोपाइँ गरेका छन् । सिँचाइको सुविधा नहुँदा सधैं रोपाइँका लागि समस्या भइरहेको उनले बताए ।
सप्तरीका किसानलाई पनि धान रोप्न भ्याइनभ्याइ छ । एक सातायता छिटफुट वर्षा भइरहे पनि खेतमा पानी नभरिएर उनीहरू चिन्तित थिए । शनिबार रातभरि पानी परेपछि विद्युतीय मोटर र पम्पिङ सेटबाट पानी थपेर रोपाइँ गरिरहेका छन् । ‘रातभर वर्षा भए पनि रोपाइँ गर्न पर्याप्त पानी पुगेको छैन,’ राजविराज नगरपालिका–१५ भरुवाका ६० वर्षीय मिश्रीलाल यादवले भने, ‘जसोतसो रोपाइँ गरिसकेका धानका लागि रातिको वर्षाले राहत भए पनि बाँझो खेतमा त पानी भरिएकै छैन ।’ अब धान रोप्न धेरै ढिलो भइसकेकाले बाँझो खेतमा पम्पसेटले पानी थपेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
राजविराज–१ फर्सैठका किसानलाई कोशी पम्प नहरबाट मोटरले पानी तान्ने चटारो छ । वर्षा सुरु भएदेखि नै नहरबाट तानेर खेतमा पानी थपिरहेका छन् । नहरमा पानी भरिभराउ रहे पनि उत्तरतर्फ रहेको माथिल्लो सतहका खेतमा पानी पुग्दैन । केही किसानले शनिबारबाटै नहरबाट मोटर जोडेर रोपाइँ गरेका छन् । केही किसान खेतमै त्रिपाल हालेर रोपाइँमा जुटिरहेका छन् ।
‘रोपाइँ गर्ने समय बित्नै लाग्दा भनसुन गरेर यसपालि यहाँ विद्युतीकरण गरायौं,’ ४८ वर्षीय श्यामकुमार यादवले भने, ‘६/७ वटा मोटर लगाएर सबैले खेतमा पानी थपिरहेका छन् तर अहिले भोल्टेज नपुगेर समस्या भइरहेको छ ।’ दुई/चार दिनमा रोपाइँ गर्न नसकिए बीउ बुढो भएर कामै नलाग्ने उनीहरू बताउँछन् ।
जिल्लाको पश्चिमी भेगका केही स्थानमा भने धान रोप्न मजदुरको अभाव भएको छ । ‘आफैंले जोतेर खेत तयार त गरें, तर मजदुर पाउनै मुस्किल परेको छ,’ बलान बिहुल गाउँपालिका–४ लवका टोलका ३७ वर्षीय अजयकुमार यादवले भने, ‘यहाँका सबैजसो किसान वर्षाकै भरमा खेती गर्छन्, बल्ल पानी परेर सबै रोपाइँमा व्यस्त हुँदा मजदुर पाउन सहज छैन ।’
सप्तरीमा अहिलेसम्म ४० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कुल ८१ हजार ६ सय ७८ हेक्टर खेतीयोग्य जग्गा रहेको सप्तरीमा ७८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । गत वर्ष यो अवधिसम्ममा ८५ प्रतिशत हाराहारीमा रोपाइँ भएको थियो ।
यस्तै, बारामा धान खेती हुने ४६ हजार हेक्टरमध्ये ८५ प्रतिशतमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले बताए । ‘मोटर र पम्पसेटको माध्यमले पानी तानेर यति रोपाइँ भएको हो,’ उनले भने, ‘दुई दिनको झरीले धाँजा फाटेको खेतमा जरामुनि छिपछिपे पानी जमेको छ । रोपाइँ बाँकी रहेको सुक्खा खेतको जमिन थोरै मात्र भिजेको छ । रोपाइँ गर्न अझै पानी पुग्दैन ।’ सिम्रौनगढ, पचरौता, सुवर्ण, देवताल, कलैया, फेटा, विश्रामपुर पालिकाका थुप्रै वडामा अझै रोपाइँ हुन नसकेको उनले बताए ।
वीरगन्जस्थित कृषि औजार अनुसन्धान केन्द्र रानीघाटको वर्षामापन यन्त्रमा आइतबार १३ मिलिलिटर वर्षा रेकर्ड भएको छ । शनिबार छिटफुट वर्षा रेकर्ड भएको केन्द्रका प्रमुख सचिनकुमार मिश्राले जानकारी दिए । किसान संघ पर्साका पूर्वअध्यक्ष असर्फी साह नियमित रूपमा केही दिन वर्षा भए खडेरी टर्ने र रोपाइँ गर्न भ्याइने बताउँछन् ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले यस्तै वर्षा निरन्तर चार/पाँच दिन र एक दिन मात्रै ठूलो वर्षा भइदिए रोपाइँ र खडेरी दुवै समस्या समाधान हुने बताए । रोपाइँ गरिसकेका किसानलाई जारी सामान्य वर्षाले राहत भए पनि रोपाइँ गर्न बाँकी खेतमा पर्याप्त नभएको उनले सुनाए । पर्सामा शुक्रबारसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वीरगन्ज महानगर, बिन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिकामा केही किसानले रोपाइँ गर्न नपाएको उनले बताए ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन सकिन दुई साता बाँकी छँदा मधेशमा २ लाख १३ हजार ४ सय ३८ क्षेत्रफलमा रोपाइँ भएको छ । यो ५७.२८ प्रतिशत हो । यस प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपाइँ हुन्छ । २०८१ साउन २० सम्म भने ९५ प्रतिशत रोपाइँ भएको थियो । यहाँ एक सातामा २० हजार ३ सय २२ हेक्टरमा रोपाइँ भएको केन्द्रका प्रमुख केशव देवकोटाले जनाए । यही ११ साउनसम्म मधेशमा १ लाख ९३ हजार १ सय १६ हेक्टरमा रोपाइँ भएको थियो ।
