धाँजा फाटेका खेतमा वर्षाले राहत

खेतमा जम्नेगरी वर्षा हुन नसक्दा भने बाराका किसान अझै बिलौना गरिरहेका छन् ।

श्रावण १८, २०८२

लक्ष्मी साह

Relief from the rains in the damaged fields

What you should know

बारा — लामो समयको खडेरीपछि बाराका विभिन्न ठाउँमा शनिबारदेखिको वर्षाले रोपाइँपछि धाँजा फाटेको धान खेतमा राहत मिलेको छ भने रोपाइँ हुन नसकेका सुक्खा खेतको भिजेका छन् ।

खेतमा पानी जम्ने गरी वर्षा भने हुन नसकेपछि किसान अझै बिलौना नै गरिरहेका छन् । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहकाअनुसार पर्याप्त वर्षा नभएपछि जिल्लाका अझै १५ प्रतिशत रोपाइँ हुन सकेको छैन । 

जिल्लाभरि ४६ हजार हेक्टर जमिनमा हुने धान खेतीको ८५ प्रतिशत मात्र रोपाइँ हुन सकेको उनले बताए । ‘यतिको रोपाइँ वर्षा, नहर, खोला वा कुलोपैनीको पानीले भएको होइन, सबै ट्युबेल (बोरिङ) ले मोटर र पम्पीसेटको माध्यमले जमिनमुनिबाट पानी तानेर भएको हो,’ उनले भने, ‘दुई दिनको झरीले धाँजा फाटेको खेतको धानमा जरामुनि कतै कतै पानी जमेको छ भने रोपाइँ बाँकी रहेको सुक्खा खेतको जमिन थोरै भिजेको छ ।यो झरीले रोपाइँ अझै हुन सक्दैन ।’

Relief from the rains in the damaged fields

जिल्लाको नेपाल–भारत दसगजासित जोडिएका खेतमा रोपाइँ हुन नसकेको हो । सिम्रौनगढ, पचरौता, सुवर्ण, देवताल, कलैया, फेटा, बिश्रामपुर पालिकाका थुप्रै वडाहरुमा अझै रोपाइँ हुन नसकेको उनले बताए । उनकाअनुसार जहाँ ट्युबेल र बिजुलीको सुविधा छ त्यहाँ किसानले जसोतसो रोपाइँ गर्न भ्याएका छन् । तर त्यो रोपाइँमा पनि धाँजा फाटेको छ ।

Relief from the rains in the damaged fields

‘यसपालि पानी नपरेर कहर नै छ,’ सिम्रौनगढ नगरपालिका–११ भगपानपुरका किसान अशोकप्रसाद जयसवालले भने, ‘पानी नपरेर अन्तिममा आफ्नो डेढ विघा खेत अरुलाई बटैया (अधिया) मा दिनु परेको छ । आफूसित मोटर, पम्पीसेट र ट्युबेल नभएपछि आफैं रोपाइँ गर्न सक्ने खेत वर्षाको आशा मरेपछि अरुलाई दिएँ ।’ 

Relief from the rains in the damaged fields

सिम्रौनगढ ८ कचोर्वाका अर्का किसान रीतलाल साह तेलीले पनि अहिलेसम्म १० कठ्ठा खेत रोपाइँ गर्न नसकेको बताए । ‘रोपाइँका लागि खेतमा पानी लगाउन आफूसित कुनै साधन नभएपछि अरुलाई पानी लगाई दिन गुहार्दा र पैसा तिर्दासमेत पानी लगाइदिएका छैन्,’ उनले भने, ‘वर्षाको अभावमा अरु आफ्नैमा मोटर र पम्पीसेटले ट्युबेलबाट पानी लगाउन हैरान छ ।’  

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully