शुक्रबार र शनिबार पानी परेपछि धनुषाका किसान हर्षित भएका छन् ।
What you should know
जनकपुरधाम — बिहीबारसम्म धनुषा हंसपुर नगरपालिका–९ का एकाई मण्डल निकै चिन्तित थिए । पानी अभावमा खेत रोपाइँ गर्न नसक्दा उनी चिन्तित थिए । तर, शुक्रबार र शनिबार पानी परेपछि उनी अहिले हर्षित छन् । दुई दिनमै उनले एक विघा जमिन रोपाइँ गरेको मुस्कुराउँदै सुनाए ।
‘वर्षाको पानीले राहत भएको छ । कुनै उपाय नभएको खेत पनि रोप्न पाएको छु,’ उनले भने, ‘बिउ तयार थियो । पानी मात्रै नभएर मात्रै चिन्तामा थिए । इन्द्रदेवले पूरा गरिदिए ।’
उनी जस्तै खुशी छन् त्यही ठाउँका छोटी मण्डल । उनले पनि डेढ विघा खेत दुई दिनमा रोपाइँ गरेको बताए । पानीकै पर्खाइमा रहेका उनले साउन दोस्रो सातासम्म रोपाइँ गर्न सकेका थिएनन् । पानी परेपछि एकै दिन २५ जना मजदुर खटाई धमाधम रोपाइँ गरेको उनले बताए ।
‘अहिले वर्षा भयो त धान रोप्न पायो किसानले । अर्को वर्ष परेन भने कसरी रोप्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘सरकारलाई सोच्नु पर्दैन । कि खाली कुत (कर) र भोट लिने बेला मात्रै किसानको याद आउँछ ।’ सरकारले सिँचाइको उचित व्यवस्था र ठोस योजना नल्याउँदा समस्या देखिएको उनले बताए । आगामी दिनमा किसान मल, खाद्यको लागि पनि समस्यामा पर्ने उनले अनुभव सुनाए । ‘अहिले पानी अभाव थियो त अकाशबाट वर्षा भयो । भोलि मल खाद्य अभाव हुन्छ,’ उनले भने, ‘त्यो त आकाशबाट वर्षा हुने कुरा होइन । त्यसको लागि किन सरकारले सोच्दैन ।’
त्यही ठाउँका जयप्रकाश मण्डलका भने हंसपुर वरिपरि ५ सय विघा जमिन छ । जसमध्ये बिहीबारसम्म एक सय विघा मात्रै जमिनमा रोपाइँ भएको थियो । तर, यो तीन दिनमा दुई सय विघाभन्दा बढी जमिन रोपाइँ भएको उनको अनुमान छ । धनुषा सहीदनगर नगरपालिका–५ का गोविन्दप्रसाद मण्डलले पनि दुई दिनभित्र दुई विघा जमिन रोपाइँ गरेको बताए । उनले पनि पानी नहुँदा रोप्न पाएका थिएनन् । ‘किसानलाई त वर्षाकै पानीको आश छ, वर्षा भए रोपाइँ हुन्छ नभए अकाश हेरेर बस्छ,’ उनले भने, ‘पानी नपरेको भए अधिकांश खेत रोपाइँ हुँदैनथ्यो ।’
सरकारप्रति अक्रोश पोख्दै उनले किसान समस्या कुनै पनि सरकार र नेता नबुझेको बताए । चुनावको बेला अनेक ढाडस दिएर ठग्ने गरेको उनले सुनाए । तर, काम गर्ने बेला त्यही नेता बहाना बनाउने गरेको उनको भनाई छ ।
मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार शुक्रबारसम्म मधेश प्रदेशमा ५७ दशमलव २७ प्रतिशत रोपाइँ भएको थियो । तर, शनिबार र आइतबार करिब १० देखि १५ प्रतिशत जमिनमा रोपाइँ भएको हुन सक्ने वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादवको अनुमान छ । उनका अनुसार सबैभन्दा कम धनुषा र सप्तरीमा ४० प्रतिशत मात्रै रोपाइँ भएको छ भने सबैभन्दा बढी बारा र पर्सामा ८५ प्रतिशत रोपाइँ भएको छ ।
