वर्षाले मधेशका किसानको मुहारमा छायो खुसी

बाँकी रोपाइँ सक्न थप केही दिन वर्षा हुनुपर्ने उनीहरु बताउँछन् ।

श्रावण १८, २०८२

शंकर आचार्य

The rain brought happiness to the faces of Madhesh farmers

What you should know

पर्सा — मधेशमा दुई दिनयता जारी वर्षाले यहाँका बासिन्दाको मुहारमा खुसी छाएको छ । वर्षाले गर्मीको राप घटाएको छ । धाँजा फाटेको खेत पानीले भरिन थालेको छ । रोपाइँ गर्न नपाएका किसान रोपाइँका लागि बेर्नाको जोहो गर्न थालेका छन् ।

कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जको वर्षा मापनयन्त्रमा आइतबार १३ मिलिलिटर वर्षा रेकर्ड भएको छ । शनिबार छिटफुट वर्षा रेकर्ड भएको केन्द्रका प्रमुख सचिनकुमार मिश्राले जानकारी दिएका छन् ।

किसान संघ पर्साका पूर्व अध्यक्ष असर्फी साह नियमित रुपमा थप केही दिन वर्षा भए खडेरीको समस्या टरेर जाने तथा रोपाइँ गर्न नपाएका सबै किसानले रोपाइँ समेत गर्ने भ्याउने बताउँछन् । ‘यसरी नै नियमित वर्षा भइरहे खडेरी टरेर जान्छ,’ उनले भने,‘आकाशे खेतीको भरमा रोपाइँ गर्न बाँकी रहेका किसानले पनि रोपाइँ गर्न भ्याउँछन् ।’

The rain brought happiness to the faces of Madhesh farmers

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर हालकै जस्तो वर्षा निरन्तर चार–पाँच दिनसम्म भइरहे रोपाइँ गर्न बाँकी रहेका सबै किसानले रोपाइँ गर्न भ्याउने बताउँछन् । एक दिन मात्रै पनि ठूलो वर्षा भइदिए जिल्लाका किसानको रोपाइँ र खडेरी दुवैको समस्या समाधान हुने उनले बताए ।

The rain brought happiness to the faces of Madhesh farmers

हाल जारी सामान्य वर्षाले राहत भएपनि रोपाइँ गर्न लायक वर्षा नभएकाले रोपाइँ सम्भव नरहेको उनको बुझाइ छ । रोपाइँ गरी सकेका किसानलाई भने जारी जर्षा तत्कालीन रुपमा राहत हुने उनले बताए ।

The rain brought happiness to the faces of Madhesh farmers

शुक्रबार सम्ममा जिल्लामा ८५ प्रतिशत रोपाइँ भइसकेको उनले बताए । वीरगन्ज महानगर, बिन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिकामा मात्र केही किसानको रोपाइँ हुन बाँकी रहेको उनले बताए । अन्य पालिकामा रोपाइँ करिब सकिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully