लुम्बिनीमा बढ्दैछ अनलाइन कारोबार

रुपन्देही लगायत लुम्बिनीका मुख्य सहरमा डिजिटल पेमेन्टको प्रयोग बढ्दै गएको छ । पान पसलदेखि मोबाइल पसलसम्म मलदेखि चिया पसल र क्याफेसम्म अनलाइन पेमेन्ट बढ्दो

श्रावण ९, २०८२

सन्जु पौडेल

Online business is growing in Lumbini

What you should know

लुम्बिनी — बुटवल उपमहानगरपालिका–११ की सुनिता अर्यालले खनखनी पैसा गनेर सामान नकिनेको लामै समय भइसक्यो । मोबाइल बैंकिङ सेवा सुरु भएदेखि नै अनलाइन पेमेन्ट सुरु गरेकी उनले पैसा बोकेर हिँड्नु नर्पदा सुरक्षित महसुस हुने गरेको बताइन् । भनिन्, ‘प्रविधिसित घुलमिल हुँदा जमाना अनुसार चलिरहेको जस्तो लाग्दो रहेछ ।’

अनलाइन पेमेन्ट सजिलो हुने भएपनि कहिलेकाही नेटवर्क खराब हुँदा पैसा ट्रान्सफर नहुने, बेलाबखत दोहोरिएर पेमेन्ट हुने अनि त्यसरी गएको पैसा फिर्ता ल्याउन मुस्किल हुने गरेको अनुभव उनले सुनाइन् । उनले हरेक पटकको स्क्यानमा चार्ज लाग्ने कुरा पनि आफूलाई मन नपरिरहेको बताइन् ।

ब्युटीपार्लर चलाउने सुनितालाई आफूकहाँ आउने सेवाग्राहीले नगदमा भन्दा अनलानइनमार्फत नै पेमेन्ट गरिदिए हुन्थ्यो भन्ने लाग्छ । तर कहिले इन्टरनेटको समस्याले कहिले एपको समस्याले गर्दा एउटै पेमेन्ट गर्न पनि लामो समय लाग्ने र सेवाग्राहीले पेमेन्ट भयो भनिसक्दा पनि खातामा पैसा नआउने कुराले झन्झट नै बनाउँछ । सजिलै एक अर्कालाई पैसा पठाउन सकिने र जति टाढाबाट पनि सामान सजिलै सामान मगाउन सकिने जस्ता कुराले उनलाई डिजिटल पेमेन्ट सजिलो लागिरहेको छ ।

तिलोत्तमा–६ का प्रकाश न्यौपानेले आफ्नो डिपार्टमेन्टल स्टोरमा फोन पेको स्क्यानर राखेका छन् । उनले बैंकले मर्चेन्ट कोड दिएकाले आफूले सामान खरिद गर्दा र अरु कारोबार गर्दा सजिलो सहज हुने गरेको बताए ।  

बैंकबाट मर्चेन्ट कोड लिन विभिन्न कागजपत्र चाहिने भएकाले सबै व्यापारीहरुले यस्तो कोड लिन हिच्किचाइरहेको उनले बताए । उनले मर्चेन्ट कोडबाट कारोबार गर्दा सहज हुने बताउँदै भने, ‘कहिलेकाहीँ सेवाग्राहीको खाताबाट पैसा गइसके पनि व्यवसायीको खातामा नदेखिँदा समस्या हुने गरेको छ ।’

बसाईँसराईका कारण रुपन्देहीको जनसंख्या बढ्दो छ । रैथानेहरुले भन्दा बसाईँ सरी आउनेहरु मोबाइल बैंकिङ, अनालाइन कारोबारमा अभ्यस्त देखिन्छन् । पान पसलदेखि मोबाइल पसलसम्म, मलदेखि चिया पसल र क्याफेसम्म अनलाइन पेमेन्टको शैली बढ्दो छ ।

नेपाल राष्ट्र बैंक भैरहवा शाखाका सूचना अधिकारी जीवनप्रकाश पाण्डेले रुपन्देही लगायत लुम्बिनीका मुख्य सहरमा डिजिटल पेमेन्टको प्रयोग बढ्दै गएको बताए । उनले मासु पसलदेखि गाडी बिक्री कक्षमा क्यूआरको प्रयोगबाट आर्थिक कारोबार भइरहेको बताउँदै प्रविधिको प्रयोगमा मानिसहरु अभ्यस्त बन्दै गइरहेको बताए ।

राष्ट्र बैंक भैरहवा शाखाले हालै सार्वजनिक गरेको रिपोर्टमा गत पुससम्मको वित्तीय संस्थामा मोबाइल तथा इन्टरनेट र शाखारहित बैंकिङको तथ्यांक पनि समेटिएको छ । जसमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ३२ दशमलव ६९ प्रतिशत मोबाइल बैंकिङ कारोबार भएको देखिन्छ भने कुल दर्ता भएका इन्टरनेट बैंकिङ सेवामध्ये सबैभन्दा सबैभन्दा धेरै अर्थात ४६.२३ प्रतिशत हिस्सा रुपन्देहीले नै ओगटेको छ ।

यससँग सम्बन्धित अन्य समाचारहरु 

खनखन पैसा गन्ने दिन हराउँदै, डिजिटल भुक्तानी बढ्दै

खल्तीमै बजार

डिजिटल गण्डकी : नगद हैन क्यूआर

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully