नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार गण्डकीमा २ लाख ४२ हजार ३ सय ६० जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् । यही अवधिमा २६ लाख ४९ हजार १ सय ९० जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको तथ्यांक छ ।
What you should know
कास्की — लेकसाइडका ट्रेकिङ सामग्री पसल सञ्चालक रमेश अधिकारीकहाँ आजकल कुलमध्ये आधा कारोबार मोबाइल बैंकिङबाट गर्ने गरेको बताउँछन् । कहिलेकाहीँ त उनको पसलको घर्रामा नगद नै शून्य हुन्छ । किनकि धेरैजसो ग्राहक अनलाइनबाटै पैसा तिर्छन् ।
‘मेरोमा ५० देखि ६० प्रतिशत कारोबार मोबाइल बैंकिङबाटै हुन्छ ।’ उनले थपे, ‘कहिलेकाहीँ त सबै कारोबार मोबाइल बैंकिङबाटै हुन्छ । यहाँ नगद पैसा नै हुँदैन ।’
नगद बोकेर हिँड्नु नपर्ने, सहजै कारोबार गर्न सकिने, स्मार्टफोन प्रयोगकर्ताको संख्या वृद्धिले पोखरामा डिजिटल कारोबार बढ्दो छ । पर्यटकीय सहर भएकाले स्वदेशी पर्यटकहरुले पनि डिजिटल कारोबार बढी गर्ने गरेका छन् । भारतीय बाहेक विदेशी पर्यटकले नेपालमा डिजिटल कारोबार कम गर्ने गरेको देखिन्छ । त्यसैले पर्यटकको प्रमुख आकर्षण भएको भूगोल भएपनि पोखरा र आसपासका क्षेत्रमा डिजिटल कारोबार कम देखिन्छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष ०८०–८१ मा गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाइँ र खर्च प्रवृत्ति अध्ययन गरेको थियो । अध्ययनमा संलग्नमध्ये ९४.९३ प्रतिशतले नगद, ४.९७ प्रतिशतले कार्ड र ०.१० प्रतिशतले भुक्तानीमा मोबाइल वालेट प्रयोग गर्ने देखाएको थियो । ०८० फागुनदेखि फोन–पेले क्रसबोर्डर भुक्तानीको थालनी गरेको थियो । यो सेवा सुरू भएपछि भारतीय पर्यटकसँगै व्यवसायीलाई पनि सहज भएको अधिकारीले बताए । रमेशले अनुभव मिसिएको स्वरमा सुनाए, ‘स्वदेशी पर्यटक पनि धेरै पैसा नबोकी हिँड्ने, डिजिटल वालेट नै चलाउने बढी देख्छु । भारतीयले पनि फोन–पेबाट भुक्तानी गर्न मिल्ने भएर राम्रो भएको छ ।’
ठूलो आर्थिक कारोबार हुने सहर भएकाले पोखरा बैंक तथा वित्तीय संस्था र विद्युतीय वालेट पेमेन्ट कम्पनीले पनि डिजिटल भुक्तानीमा ट्याक्सी चालक, होटल व्यवसायी र अन्य व्यवसायीलाई प्रोत्साहन गर्दै आएका छन् । डिजिटल कारोबारलाई प्राथमिकता दिन वालेट कम्पनी इ–सेवा र पश्चिमाञ्चल होटल संघबीच ०७७ सालमा क्यूआर भुक्तानी व्यवस्थासम्बन्धी सम्झौता भएको थियो । त्यसअनुसार पोखरामा मोबाइल बैंकिङ सुविधा नभएका होटलमा यो सुविधा थप भएको थियो । पोखरेली व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले आबद्ध व्यवसायीको नवीकरणमा इसेवा र बैंक क्यूआर प्रयोग गर्छ । ०८० चैतमा प्रभु बैंकले पोखराका ३ सय ट्याक्सी चालकलाई क्यूआर कोड नै उपलब्ध गराएको थियो ।
पोखराका साना चिया पसल, चटपट व्यापारीदेखि ठूला मल र सपिङ कम्प्लेक्ससम्म डिजिटल कारोबारले प्राथमिकता पाएको छ । नयाँबजारमा ५ वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आएका नरेश रानाले पछिल्लो डेढ वर्षदेखि मोबाइल बैंकिङ क्यूआर राखेका छन् । नगद पैसा नबोक्ने पनि चिया–खाजा खान पसलमा आउने गरेको बताउँदै उनले भने, ‘दैनिक ५ हजार जतिको कारोबार हुन्छ । त्यसमा २ हजार जति क्यूआरमा आउँछ । कहिले त्यति पनि हुँदैन ।’
नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार गण्डकीमा २ लाख ४२ हजार ३ सय ६० जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् । यही अवधिमा २६ लाख ४९ हजार १ सय ९० जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको तथ्यांक छ । ३ वर्षको अवधिमा १ लाख ४० हजार ६ सय ९० इन्टरनेट बैंकिङ र १० लाख ४ हजार ८ सय ३६ जना मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् । आर्थिक वर्ष ०७७–७८ सम्म गण्डकीमा ७० हजार ५ सय ४७ इन्टरनेट बैंकिङ र १६ लाख ४४ हजार ३ सय ५४ जना मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।
प्रदेशको कूल जनसंख्यामध्ये २१ प्रतिशत पोखराले ओगट्छ । ठूलो जनसंख्या, प्रदेशको राजधानी, स्याङ्जा, म्याग्दी, मुस्ताङ, पर्वत, तनहुँका लागि व्यापारिक केन्द्र भएकाले पनि धेरै आर्थिक कारोबार पोखरामै हुन्छ र कुल डिजिटल कारोबारको ठूलो हिस्सा पोखराले ओगट्छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की ५–७ वर्षको अन्तरालमै पोखराले पनि क्यूआरबाट व्यापार गर्न सिकिसकेको बताउँछन् । ‘अहिले पोखरामा जहाँ गएपनि क्यूआर छ भन्यो भने छैन भन्ने सायदै भेटिन्छ । यसले पनि पोखरामा डिजिटल कारोबारको अवस्था र आवश्यकता बुझाउँछ,’ उनले सुनाए, ‘म आफैं पनि ५ सयभन्दा बढीको केही कारोबार गर्न पर्यो भने क्यूआर नै प्रयोग गर्छु ।’
डिजिटल कारोबारलाई पैसा नमान्ने वा व्यवसाय नै नभएको ठान्ने गरेको पनि भेटिने उनले बताए । साना व्यापारी अभ्यस्त नहुँदा र डिजिटल कारोबारबारे नबुझ्दा डिजिटल कारोबार केही कम हुने उनको भनाइ छ ।
यससँग सम्बन्धित अन्य समाचारहरु
