खल्तीमै बजार

अनलाइन बजारले स्थानीय रोजगारीको स्वरूपमा समेत परिवर्तन ल्याएको छ । साना डेलिभरी कम्पनी, मोटरसाइकलमा अर्डर पुर्‍याउने युवक, ग्राहक सेवा हेर्ने युवतीदेखि लिएर फेसबुक लाइभमार्फत कस्मेटिक सामान बेच्ने गृहिणीसम्म अनलाइन कारोबारको हिस्सा बनेका छन् ।

श्रावण ९, २०८२

पर्वत पाेर्तेल

Market in your pocket

What you should know

विराटनगर — पूर्वको औद्योगिक सहर विराटनगरमा विगतको जस्तो चहलपहल छैन । व्यापार व्यवसायमा मन्दी छ । तर, अनलाइन कारोबार भने फस्टाउँदै गएको छ ।

विराटनगरको पोखरियाका निकेश दाहालले लामै समय भयो पसल चहार्न छाडेको । दराज अनलाइनबाट कपडा राख्ने र्‍याग अर्डर गरेका उनले सुनाए, ‘अनलाइनमार्फत सामान मगाउँदा ढुक्क लाग्छ ।’

विराटनगरमा अनलाइन व्यापार फस्टाउन थालेको धेरै भएको छैन । स्थानीयका अनुसार यहाँ डिजिटल कारोबार सुरु भएको बढीमा तीन वर्ष जति मात्रै भयो । खासगरी कोरोना महामारीपछि यो पूर्वी सहरमा अनलाइन व्यापार बढ्न थाल्यो । विशेषतः फूड डेलिभरी, कपडा, फेसन सामग्री, मोबाइल एसेसरिज र दैनिक उपभोग्य सामानको कारोबार अनलाइनमार्फत भइरहेको देखिन्छ । जसमा तन्नेरी पुस्ताको बढी सहभागिता छ । 

विराटनगर–१३ की उर्मिला साह प्रायः अनलाइनबाटै खाजा मगाउँछिन् । मःम, चाउमिन, रोटी तरकारीदेखि पिजा र बर्गर मात्रै हैन दिउँसोको खाना पनि उनी अनलाइनबाटै मगाएर खान्छिन् । ‘फेसबुकबाट अर्डर गरेँ आधा घण्टामै आइपुग्यो,’ उनले सुनाइन्, ‘अब सामान किन्न होस् या खाजा खाना खान, बजार चहार्नु पर्ने झन्झट छैन ।’

स्थानीयका अनुसार धेरैजसो कारोबार अझै फेसबुक र वाट्सएपबाटै हुँदै आएको छ । खल्ती, इसेवा, फोनपे जस्ता मोबाइल वालेट प्रयोगकर्ताको संख्या पनि बढ्दो छ । यद्यपि अझै पनि धेरै कारोबार क्यास अन डेलिभरी प्रणालीमा आधारित छ । 

डिजिटल भुक्तानी गर्न ग्राहकको हिच्किचाहट भने अझै कायम छ । फूड डेलिभरीबाहेक, विद्यार्थी र युवा पुस्ता डिजिटल शैक्षिक सामग्री, ग्याजेट र अनलाइन नोट्स खरिद गर्नतिर आकर्षित देखिन्छन् । साथै, चाडपर्वको समयमा घरमै बसेर किनमेल गर्ने संस्कार विस्तार विकास भइरहेको छ ।

करिब ६ वर्ष भयो ‘उपाय’ नामक अनलाइन डेलिभरी सर्भिस सुरु भएको । काठमाडौं उपत्यकाभित्र तथा उपत्यका बाहिर पोखरा, चितवन, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक लगायत २ सयभन्दा बढी स्थानमा यसले पसल/डेलिभरी नेटवर्क विस्तार गरिसकेको छ । यसले मूलतः अनलाइन कुरियर सेवा प्रदान गर्छ । ‘डोर टु डोर’ सेवा यसको मूल ध्येय हो । देशभर चार हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उपायका कोशी प्रमुख शैलेन्द्र सिंहका अनुसार पछिल्लो समय सर्वसाधारण अनलाइन व्यापारसँग जोडिने क्रम तीव्र छ । भन्छन्, ‘अनलाइन बैंकिङ सेवादेखि इसेवालगायतका सबै काम हामी गर्छौं ।’

अनलाइन बजारले स्थानीय रोजगारीको स्वरूपमा समेत परिवर्तन ल्याएको देखिन्छ । साना डेलिभरी कम्पनी, मोटरसाइकलमा अर्डर पुर्‍याउने युवक, ग्राहक सेवा हेर्ने युवतीदेखि लिएर फेसबुक लाइभमार्फत कस्मेटिक सामान बेच्ने गृहिणीसम्म अनलाइन कारोबारको हिस्सा बनेका छन् । ‘डिजिटल कारोबारमा अझै विश्वासको संकट भने छँदैछ’, सिंहले भने, ‘धेरै ग्राहकले अझै सन्देह गर्ने गरेका छन् । हाम्रो सेवा अझै कसरी विश्वसनीय बनाउने भन्ने चुनौती छ ।’  

भारतसँग नजिकको व्यापारिक नाका भएकोले विराटनगरमा क्रस–बोर्डर होलसेल ई–कमर्सको सम्भावना प्रशस्तै छ । त्यस्तै, स्थानीय रूपमा बनेका मसला, कपडा, हस्तकला जस्ता सामानको अनलाइन निर्यात बजार समेत विकास गर्न सकिन्छ ।

स्थानीय सरकार, संघसंस्था र बैंक/बालेट सेवा प्रदायकसँग सहकार्य गरेर डिजिटल कारोबारलाई व्यवस्थित बनाउन सकिने डिजिटल मार्केटिङ विज्ञ एन्जिला श्रेष्ठको भनाइ छ । काठमाडौं जस्तो परिपक्व बजारमा पुग्न अझै समय लाग्छ । तर, विराटनगरको डिजिटल बजार विस्तारसँगै, उपभोक्ताको बानी, बजारको प्रवृत्ति र स्थानीय आर्थिक गतिविधिमा परिवर्तन देखिन थालेको छ । 

डिजिटल मार्केटिङ विज्ञ श्रेष्ठका अनुसार परम्परागत व्यापारको सम्भावना अब छैन । तसर्थ सबै उपभोक्ताहरु विस्तारै डिजिटल बजारतिरै केन्द्रित हुँदै गएका छन् । ‘बजार घुमेर किन्ने जमाना अब छैन’, उनले भनिन्,‘हातहातमा बजार छ अब ।’

यससँग सम्बन्धित अन्य समाचारहरु

खनखन पैसा गन्ने दिन हराउँदै, डिजिटल भुक्तानी बढ्दै

डिजिटल गण्डकी : नगद हैन क्यूआर

लुम्बिनीमा बढ्दैछ अनलाइन कारोबार

पर्वत

Link copied successfully