खनखन पैसा गन्ने दिन हराउँदै, डिजिटल भुक्तानी बढ्दै

राष्ट्र बैंकको तथ्यांक अनुसार हरेक वर्ष क्यूआर कोड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेको संख्या र रकम दुवै उल्लेख्य रुपले बढ्दो छ । यसले नेपाली समाजमा भित्रिएको डिजिटल जीवनशैलीको संकेत गर्दछ ।

श्रावण ९, २०८२

इकान्तिपुर टिम

The days of cash counting are disappearing, digital payments are on the rise

What you should know

काठमाडौँ — खनखन नगद गनेर दिने र सामान किन्ने दृश्य अब मल र मार्टमा मात्रै हैन किराना पसलदेखि तरकारी पसलसम्म र पान पसलदेखि ठेलासम्मै देखिन कम भइसक्यो ।

काठमाडौं लगायतका देशका मुख्य सहरका सानादेखि ठूला पसलमा क्यूआर देखिनु सामान्य भइसक्यो । अनि सामान किनेपछि पर्सभन्दा पहिले मोबाइल तेर्साउने चलन पनि अब सामान्य हुन थालिसक्यो । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला महिनामा साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर (क्विक रेस्पोन्स कोड)मा आधारित भुक्तानी उच्च दरले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गत जेठमा क्यूआर कोडमार्फत ३ करोड ५१ लाख ४६ हजार ३८ पटकमा ९३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको जेठमा १ करोड १२ लाख ५७ हजार पटकमा ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यही तथ्याकं काफी छ, क्यूआरमार्फत कारोबार हुने क्रम कति तीव्र गतिमा बढेको छ भनेर बुझाउन ।The days of cash counting are disappearing, digital payments are on the rise

मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्ला महिनामा मुलुकभर विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको हो । यस अवधिमा विद्युतीय भुक्तानीको संख्या र रकम दुवै बढ्नुले पनि डिजिटल कारोबार अब नेपालीका जीवनशैली बन्न थालेको संकेत गर्दछ । राष्ट्र बैंकको जेठ महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ,’ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको संख्या पनि बढेको छ ।

राष्ट्र बैंकले पनि सर्वसाधारणबाट ठूलो रकमको कारोबार सधैं नहुने भएकाले दैनिक जीविका चलाउनेदेखि आधारभूत आवश्यकता पूरा गर्न हुने स-साना कारोबार पनि क्यूआर कोडबाटै होस भनेर प्राथिमकतामा राखेको छ । ‘घरपरिवारले दैनिक दूध, तरकारी, फलफूल, लत्ताकपडालगायत वस्तु तथा सेवा खरिदमा क्यूआर कोड प्रयोग गर्न सक्छन्,’ राष्ट्र बैंकका प्रवक्ता एंव भुक्तानी प्रणाली विभाग प्रमुख किरण पण्डितले भने, ‘क्यूआर कोर्डमा आधारित कारोबारको थप विस्तारका लागि राष्ट्र बैंकले पनि सहजिकरण गर्दै आएको छ ।’

राष्ट्र बैंकले यसका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रहसँगै सहजीकरण पनि गरिरहेको छ । सोही क्रममा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले करिब चार वर्षअघि काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी स्थानमा क्यूआर कोड कारोबारको शुभारम्भ गरेका थिए । हाल प्रदेशस्तरमा पनि विभिन्न स्थानमा यो कारोबार विस्तार भएको बताइएको छ । यसले पनि क्यूआर कोडमा आधारित कारोबार विस्तार राष्ट्र बैंकको प्राथमिकतामा परेको पुष्टि हुन्छ । विद्युतीय भुक्तानीमा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न यससम्बन्धी मापदण्डको मस्यौदा राष्ट्र बैंकले तयार पारेको छ ।

विश्व बैंकले गत साता सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदनले पनि नेपालमा डिजिटल कारोबार बढिरहेको उल्लेख गरेको छ । यस प्रतिवेदनमा नेपालमा ५८ प्रतिशत पुरुषले डिजिटल भुक्तानी विधि प्रयोग गर्ने गरेकामा महिला प्रयोगकर्ताको संख्या ३६ प्रतिशत मात्रै छ ।

पर्यटकीय नगरी पोखराकै कुरा गरौं । यहाँ लेकसाइडमा मात्रै हैन त्यसभन्दा पनि परपरका स–साना बजारमा पनि डिजिटल भुक्तानी गरिरहेको देखिनु सामान्य दृश्य भइसक्यो । लेकसाइडमा ट्रेकिङ सामग्रीको पसल गरिरहेका रमेश अधिकारी पसलको घर्रामा कहिलेकाहीँले पैसा नहुने बताउँछन् । तर त्यसको अर्थ उनीकहाँ कारोबार नै नहुने भन्नै हैन । उनले सुनाए, ‘मेरोमा ५० देखि ६० प्रतिशत कारोबार त मोबाइल बैंकिङबाटै हुन्छ । कहिलेकाहीँ त सबै कारोबार नै मोबाइल बैंकिङबाट हुन्छ । यहाँ नगद पैसा नै हुन्न ।’

The days of cash counting are disappearing, digital payments are on the rise

रमेशले भनेजस्तै पोखरामा डिजिटल कारोबार तीव्र गतिमा बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार गण्डकीमा २ लाख ४२ हजार ३ सय ६० जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् ।

यही अवधिमा २६ लाख ४९ हजार १ सय ९० जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार पछिल्ला ३ वर्षको अवधिमा १ लाख ४० हजार ६ सय ९० इन्टरनेट बैंकिङ र १० लाख ४ हजार ८ सय ३६ जना मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् । यो तथ्यांकले डिजिटल कारोबार कसरी तीव्र गतिमा बढ्दैछ भन्ने देखाउँछ ।

पोखराकै जस्तो दृश्य लुम्बिनी प्रदेशमा पनि छ । ब्युटी पार्लर चलाएर बसेकी बुटवल उपमहानगरपालिका–११ की सुनिता अर्यालले खनखनी पैसा गनेर सामान नकिनेको लामै समय भइसक्यो । मोबाइल बैंकिङ सेवा सुरुभएदेखि नै अनलाइन पेमेन्ट गर्न थालेकी उनी भन्छिन्, 'घुलमिल हुँदा जमाना अनुसार चलिरहेको जस्तो लाग्दो रहेछ ।' 

राष्ट्र बैंक भैरहवा शाखाले हालै सार्वजनिक गरेको रिपोर्टमा गत पुससम्मको वित्तीय संस्थामा मोबाइल तथा इन्टरनेट र शाखारहित बैंकिङको तथ्यांक पनि समेटिएको छ । जसमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ३२ दशमलव ६९ प्रतिशत मोबाइल बैंकिङ कारोबार भएको देखिन्छ भने कुल दर्ता भएका इन्टरनेट बैंकिङ सेवामध्ये सबैभन्दा सबैभन्दा धेरै अर्थात ४६.२३ प्रतिशत हिस्सा रुपन्देहीले नै ओगटेको छ । सानादेखि ठूला पसलसम्म डिजिटल कारोबार गरिरहेको देखिनु सामान्य दृश्य भइसक्यो ।

The days of cash counting are disappearing, digital payments are on the rise

सरकारी सेवादेखि निजी सेवा लिनसम्म र सेवा शुल्क तिर्न समेत अनलाइनमा भुक्तानी गर्ने प्रणाली जीवनशैलीकै अंग बन्न थालेको छ । जस्तो कि चितवनकै उदाहरण हेरौँ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा ४२ हजार ग्राहक छन् । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार कुल ग्राहकमध्ये ६० प्रतिशतले अनलाइन भुक्तानी गर्छन् । यस्तै उदाहरण छ, नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाको पनि । शाखामा सूचना अधिकारी नन्दराम विष्टले भने, ‘हाम्रा ६३ हजार ग्राहक छन् । अनलाइन शुल्क भुक्तानी गर्नेहरु ५५ देखि ६० प्रतिशतसम्म हुने गरेका छन् । 

यी सबै उदाहरणले संघीय राजधानी काठमाडौंदेखि देशका मुख्य सहरमा डिजिटल भुक्तानी र अनलाइन कारोबार जीवनशैलीकै अंग बन्दै जान थालेको देखाउँछ, बुझाउँछ । 

यससँग सम्बन्धित अन्य समाचारहरु 

खल्तीमै बजार

डिजिटल गण्डकी : नगद हैन क्यूआर

लुम्बिनीमा बढ्दैछ अनलाइन कारोबार

इकान्तिपुर

Link copied successfully