राष्ट्रपति र प्रधानमन्त्रीको नाम जोडिएका कार्यक्रम परिमार्जन

सरकारको उच्च निकाय जोडिएका आयोजनामा भ्रष्टाचार र अनियमितता भएको समाचार आउँदा राम्रो सन्देश गएन, सोही कारण राष्ट्रपति र प्रधानमन्त्रीका नाम जोडिएर सञ्चालित कार्यक्रमको नाम हटाउन निर्देशन थियो

वैशाख २०, २०८२

राजु चौधरी

Modification of the program with the names of the President and the Prime Minister

काठमाडौँ — राष्ट्रपति, प्रधानमन्त्रीका नाम जोडिएर सञ्चालित कार्यक्रम विवादित बनेपछि सरकारले परियोजनाको नाम परिमार्जन गरेको छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रपति महिला उत्थान कार्यक्रम, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण परियोजना र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम परिमार्जन गरेको हो । 

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा निरन्तरता दिइनेछ,’ आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिका लागि ल्याइएको हो । 

Modification of the program with the names of the President and the Prime Minister

राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाम पनि परिमार्जन गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्ट्रिय महिला उत्थान कार्यक्रमका रूपमा सञ्चालन गरिने राष्ट्रपति पौडेलले बताए । ‘परिमार्जित कार्यक्रमलाई थप व्यवस्थित गरी प्रभावकारी ढंगले सञ्चालन गरिनेछ,’ उनले भने । 

चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरी राष्ट्रपति चुरे–तराई मधेश संरक्षण परियोजनालाई राष्ट्रिय चुरे संरक्षण आयोजनाका रूपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रूपमा सुदृढ गरिने कार्यक्रममा उल्लेख छ । यीबाहेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्ने सरकारको योजना छ । 

नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि पुनःसंरचना गरी कृषि अनुसन्धानलाई किसानमैत्री र नतिजामुखी बनाइने कार्यक्रममा उल्लेख छ । कृषि अनुदान वितरणमा मनलाग्दी भएको सर्वसाधारणको गुनासो छ । अनुदान वितरणमा अनियमितता भएको पटक–पटक समाचार आएपछि सरकारले नाम परिमार्जन गरेको हो ।

‘सरकारको उच्च निकाय जोडिएका आयोजनामा भ्रष्टाचार र अनियमितता भएको समाचार आउँदा राम्रो सन्देश गएन । सोही कारण राष्ट्रपति र प्रधानमन्त्रीका नाम जोडिएर सञ्चालित कार्यक्रमको नाम हटाउन निर्देशन थियो,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘विवादबाट बच्न नाम अर्कै नाम राखेर सञ्चालन गर्न खोजिएको हो ।’ 

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully