मलेसियाले गत जेठमा श्रमिक भर्ना रोकेपछि नेपाली श्रमिक भिजिट भिसामा थाइल्यान्ड पुगेर अवैध रूपमा मलेसिया प्रवेश गर्ने क्रम बढ्दो
क्वालालमपुर (मलेसिया) — मलेसियामा १० महिनादेखि प्लान्टेसन र सुरक्षा गार्डबाहेकका क्षेत्रमा विदेशी श्रमिक भर्ना रोकिएपछि मानव तस्करले थाइल्यान्ड हुँदै अवैध तरिकाले नेपाली कामदार पुर्याउने गरेको पाइएको छ । उनीहरूलाई भिजिट भिसामा थाइल्यान्ड लाने र त्यहाँबाट सडक मार्ग हुँदै मलेसियासँगको सीमामा रहेको गोलोक नदी पार गराएर क्वालालम्पुर पुर्याउने गरिएको हो ।
गैरकानुनी प्रवेश बढेपछि मलेसियाले केलान्टन क्षेत्रमा प्रवेशमा कडाइ गरेको छ र रान्ताउको अध्यागमन प्रयोग अनिवार्य बनाएको छ । तर थाइल्यान्डको नारथी प्रान्तबाट दैनिक सयौं विद्यार्थी डुंगा चढेर गोलोक नदी पार गर्दै सीमावर्ती केलान्टन रान्ताउ पाजङ क्षेत्रमा पढ्न जाने गरेकाले सीमा कडाइप्रति स्थानीयले विरोध गर्दै आएका छन् ।
स्थानीय प्रशासनले कडाइ गरे पनि मानव तस्करले विदेशी कामदारलाई मलेसिया छिराउन त्यही रुट प्रयोग गर्ने गरेका छन् । कामदारको कुनै पनि दायित्व बेहोर्नु नपर्ने भएकाले मलेसियाका रोजगारदाता कम्पनीले पनि अवैध रुटबाट प्रवेश गर्ने र कागजातविहीन श्रमिकलाई सहजै काममा लगाउने गरेका छन् ।
कोटाभन्दा बढी विदेशी श्रमिक भएको भन्दै मलेसियाले गत जेठदेखि नेपालसहित स्रोत देशबाट नयाँ श्रमिक लिएको छैन । सुरक्षा गार्डका लागि भने एक महिनाअघि नेपालका लागि मात्रै खुला गरिएको छ । सबैभन्दा बढी श्रमिक लगिने उत्पादन र सेवा क्षेत्र अझै बन्द छ । मलेसियामा रहेका नेपाली श्रमिकमध्ये ६२ प्रतिशत उत्पादन र २९ प्रतिशत सेवा क्षेत्रमा कार्यरत छन् ।
अवैध रुटबाट मलेसिया प्रवेश गर्नेमध्येका एक हुन्, मर्चावरी–३, रूपन्देहीका नवीन पासी । उनी गाउँकै अन्य दुई राजदेउ पासी र रवि पासीसँगै मानव तस्करको प्रलोभनमा परेर गोलोक नदी पार गर्दै मलेसिया छिरेका थिए । ‘वैदेशिक रोजगारका लागि मलेसिया जान पर्खेर बसिरहेका थियौं । तर भर्ना खुल्दै खुलेन । त्यसपछि गाउँकै विनोद यादवले थाइल्यान्डबाट भिजिट भिसामा मलेसिया जान पाइने बताएपछि उनकै भरमा आयौं,’ क्वालालम्पुरस्थित नेपाली दूतावासमा भेटिएका नवीनले कान्तिपुरसँग भने, ‘हामीलाई थाइल्यान्डबाट डुंगा चढाएर मलेसिया छिराएका थिए ।’
तीनै जनाले दलाललाई प्रतिव्यक्ति ३ लाख ९५ हजार रुपैयाँ बुझाएका थिए । ‘हामीलाई महिनाको १७ सय रिंगेट तलब पाइन्छ भनेका थिए । यहाँ आएपछि मात्रै गैरकानुनी रूपमा मलेसिया छिरेको थाहा भयो । त्यसपछि हामीले तुरुन्तै घरमा खबर गर्यौं । घरपरिवार सबै आत्तिएका छन्,’ नवीनले भने, ‘खेत बेचेको पैसाले आएका थियौं । अब त खेत पनि रहेन ।’
उनीहरू तीनै जनालाई काठमाडौंबाट थाइल्यान्डसम्म पुर्याउने जिम्मा साजन शाहले लिएका थिए । ‘काठमाडौं विमानस्थलमा कहीं कतै केही सोधपुछ भएन । तर थाइल्यान्ड विमानस्थलमा तीन घण्टासम्म रोकिएका थियौं । थाइल्यान्डको दलालले नै अध्यागमनबाट बाहिर ल्याए,’ राजदेउले भने, ‘तर, थाइल्यान्डको दलाललाई हामीले कहिले पनि देखेनौं । उनले फोन–फोनैबाट काम गर्थे ।’ उनका अनुसार फोन सम्पर्कबाटै होटल लगिएको थियो । ‘हामीलाई ट्याक्सी रोक्न लगाउँथे । अनि फोन ट्याक्सी ड्राइभरलाई दिन्थ्यौं । उसले होटलको ठेगाना दिन्थ्यो । यसैगरी बैंककको होटलमा गएर एकरात बस्यौं,’ राजदेउले भने, ‘भोलिपल्ट पनि फोनबाटै ट्याक्सीमार्फत थाइल्यान्डको सीमास्थित बजारसम्म लगियो ।’
फोनकै भरमा थाइल्यान्ड र मलेसियाको सीमामा बग्ने गोलोक सुंगाई नदीको किनारमा उनीहरूलाई पुर्याइएको थियो । ‘हामीलाई बिहान ४ बजे बोर्डरछेउ पुर्याइएको थियो । त्यहाँ अरू पनि थिए । बोल्न दिइएको थिएन । हतार–हतार डुंगा चढ्न लगाइयो । केही मिनेटमै नदी पार भयो,’ रविले सुनाए, ‘अध्यागमनबाट पठाउने होला जस्तो लागेको थियो । तर, नदी पार भएपछि तिमीहरू सिधै मलेसिया प्रवेश भयौ भनियो ।’ उनका अनुसार एकछिन जंगलको बाटो हिँडेपछि मुख्य सडक भेटिएको थियो । त्यहाँ उनीहरूका लागि गाडी तयार थियो । त्यसले क्वालालम्पुर पुर्यो ।
डुंगाबाट ओर्लेपछि नै रविले आफूहरू गैरकानुनी बाटोबाट मलेसिया प्रवेश गरेको थाहा पाएका थिए । पक्राउ पर्ने डरले उनीहरू काम खोज्नतिर लागेनन् । ‘यसरी कानुनलाई छलेर बस्नु हुँदैन भन्ने लाग्यो । नेपाल फर्कनका लागि दूतावासमा आइपुगेका हौं,’ रविले भने ।
नेपाली दूतावासले उनीहरूको देश फिर्ताको प्रक्रिया तत्काल अगाडि बढायो । र, उनीहरू दूतावास छेउकै सेल्टरमा बसे । नेपाल फर्कन टिकटका लागि र गैरकानुनी प्रवेश गरेकाले मलेसिया सरकारलाई जरिवानाबापत ३१ सय रिंगेट (करिब १ लाख ८ हजार रुपैयाँ) बुझाए । मलेसिया प्रहरीले पक्राउ गरेको भए उनीहरू पाँच वर्षसम्म थुनामा बस्नुपर्थ्यो । ‘दूतावासले तीन जनालाई नेपाल पठाउन अध्यागमनसँग समन्वय गरिदिएको छ । त्यसका लागि जरिवाना बुझाउनुपर्यो,’ श्रम काउन्सिलर कृष्ण भुसालले कान्तिपुरलाई भने ।
नेपाली दूतावासका अनुसार पछिल्लो समय नवीन, राजदेउ र रविजस्तै थाइल्यान्डको सीमा हुँदै गैरकानुनी रूपमा मलेसिया प्रवेश गर्ने नेपालीको संख्या बढ्दो छ । तर, यसको यकिन संख्या दूतावाससँग पनि छैन । अवैध रूपमा प्रवेश गरेका केहीले भने जोखिम उठाएरै मलेसियामा काम गरिरहेका छन् । ‘पहिला पनि मलेसियामा ५ वर्ष काम गरेर म फर्किएकी थिएँ । नेपालमा काम नपाएपछि फेरि आउन मन लाग्यो । थाइल्यान्डबाटै मलेसिया आएँ,’ रावाङमा भेटिएकी एक नेपाली युवतीले भनिन्, ‘हाम्रो समूहमा तीन महिला थियौं, अहिले हाम्रो सम्पर्क छैन ।’
क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीहरू भने मलेसियाको रोजगारी खुल्ने क्रममा रहेकाले अवैध बाटोबाट नआउन सुझाव दिन्छन् । ‘मलेसियाले आवश्यकताअनुसार विभिन्न क्षेत्रमा श्रमिक ल्याउन थालेको देखिन्छ । अहिले नेपालीका लागि सुरक्षा क्षेत्र खुला भइसकेको छ । निकट भविष्यमा उत्पादन र सेवा क्षेत्र पनि खुल्नेछ,’ श्रम काउन्सिलर भुसाल भन्छन्, ‘गैरकानुनी प्रवेश भएकालाई मलेसियामा काम गर्न दिइँदैन । पक्राउ परेमा जेल र जरिवाना तिरेपछि डिपोर्ट हुनुपर्छ ।’
