निर्धारित उडान छुटेपछि जितबहादुर रोकाले अर्को उडानका लागि थप शुल्क तिर्नुपरेको थियो । रोकाले तिरेको २६ हजार अतिरिक्त शुल्क अधिकृतद्वयबाटै भराएर उनलाई ५ डिसेम्बर ओमान पठाइयो ।
What you should know
काठमाडौँ — भिजिट भिसामा जाने यात्रुलाई बिनाकारण फिर्ता गरेपछि विमानस्थलका दुई अध्यागमन अधिकृत मन्त्रालय तानिएका छन् ।
गत ९ मंसिरमा भिजिट भिसामा ओमान जान लागेका जितबहादुर रोकालाई विमानस्थल अध्यागमनका अधिकृतहरू हेमन्ती साउद र बबिता मरासिनीले डेस्कमै रोकेर केरकार गरेका थिए । उनीहरूले रोकालाई किन जान लागेको ? श्रम स्वीकृति खोई ? भन्दै केरकार गरेका थिए । रोकाको सोही दिन साँझ ५ बजेर ४० मिनेटमा कतार एयरवेजको उडान थियो । तर, अध्यागमनले प्रस्थान अनुमति नदिएपछि उनको उडान छुट्यो । उडान छुटेपछि आफू रोकिनुको कारण सोध्दै रोका विमानस्थलबाट बाहिरिए । उता एयरलाइन्सलाई भने टिकट रद्द नगरी अतिरिक्त शुल्क तिरेर त्यही जहाजमा जाने गरी टिकट ‘होल्ड’ गराइएको थियो । ५ दिनपछि रोका पुनः अध्यागमन पुगे । साउद र मरासिनीकै डेस्कमा केरकार गरेर उनलाई फर्काइयो ।
रोकाले तोकिएका कागजातहरू साथमा बोकेर विमानस्थल अध्यागमन पुगेका थिए । तर, अध्यगमन अधिकृतले भिजिट भिसामा जान लागेका रोकालाई श्रम स्वीकृति नभएको भन्दै ‘अफलोड’ गरिदिएपछि यो विषय विवादमा तानिएको थियो । जबकि पर्यटक/भिजिट भिसामा विदेश जान विगतमा थोपरिएका प्रावधान संशोधन गरी गृह मन्त्रालयले वैध राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थानतर्फ एकतर्फी हवाई टिकट र विदेश जानेको स्वघोषणा फाराम भरे पुग्ने व्यवस्था लागू भइसकेको छ । विभाग आफैंले भिजिट भिसाका प्रावधान सहज र व्यवस्थित पार्न मापदण्ड संशोधन गरेको थियो । मापदण्डमा तोकिएका वैध कागजात भएर पनि यात्रुलाई फिर्ता गरे अध्यागमनकै कर्मचारीलाई विभागीय कारबाही र जहाज छुटेमा यात्रुलाई त्यसबाट सिर्जित आर्थिक नोक्सानी कर्मचारीबाटै भराउनेसम्मका मापदण्ड जारी गरिएको छ ।
रोकालाई बिनाकारण ‘अफलोड’ गरिएको विषय प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो हुँदै गृह मन्त्रालय र अध्यागमन विभागसम्म पुगेको थियो । आन्तरिक छानबिन हुँदा अधिकृतद्वय साउद र मरासिनीको बदनियत रहेको खुल्यो । त्यसपछि गृहले दुवै जनालाई मन्त्रालय तानेको हो । गृह स्रोतका अनुसार मन्त्रालय तानिएका साउदलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र मरासिनीलाई इलाका प्रशासन कार्यालय पाल्पा रामपुर पठाइएको छ । गृह स्रोतका अनुसार रोकालाई बिनाकारण सास्ती दिनुको पछाडि भिजिट भिसामा हुने तस्करी नियन्त्रणमा कडाइ हुन थालेपछि अनावश्यक झमेला खडा गरेर डेस्कबाटै ‘अफलोड’ गर्ने, अनावश्यक केरकार गर्नेलगायत सास्ती दिने गरिएको भेटिएको छ ।
विमानस्थलकै एक अध्यागमन अधिकृतका अनुसार निर्धारित उडान छुटेपछि रोकाले अर्को उडानका लागि थप शुल्क तिर्नुपरेको थियो । रोकाले तिरेको २६ हजार अतिरिक्त शुल्क अधिकृतद्वयबाटै भराएर रोकालाई ५ डिसेम्बर ओमान पठाइयो । कार्यालय प्रमुखले दिएका निर्देशन अटेर गर्ने, मापदण्डलाई अवज्ञा गर्ने, वैध कागजात भएर पनि यताउता पठाएर झुलाउने प्रवृत्तिकै एउटा ज्वलन्त उदाहरणका रूपमा यो घटनालाई लिन सकिन्छ,’ गृहका ती अधिकारीले भने, ‘हिजो पावर लगाएर जाने, अहिले सुधारका प्रयासमा असहयोग गर्ने काम भयो, बिस्तारै यो बेथितिलाई नियन्त्रणमा ल्याइन्छ, सुधारकै पाटोका रूपमा अध्यागमनका दुई अधिकृतलाई फिर्ता गरिएको हो ।’
