भिजिट भिसा प्रकरणका मुख्य अभियुक्त सहसचिव भट्टराईको डायरी : ‘रातो घरको खतरा छ, बचौं साथी हो !’

सहसचिव तीर्थराज भट्टराईले डायरीमा भिजिट भिसामा जाने व्यक्तिहरूको नामावली, विदेश पठाउन सिफारिस गर्ने व्यक्तिको नाम, उडान मिति, समय लेखेर घूस रकमको सांकेतिक हिसाबकिताबसमेत राख्ने गरेका थिए, त्यही डायरी नै उनीविरुद्ध भ्रष्टाचार मुद्दामा मुख्य प्रमाण बनेको छ ।

मंसिर २७, २०८२

गौरव पोखरेल

Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'

What you should know

काठमाडौँ — ‘कतिपय अधिकृत तथा कर्मचारी साथीहरूले म्यानपावर वा कन्सल्टेन्सीसँग सिधै सम्पर्क गरेर काम गरेको सूचना प्राप्त भएको छ, त्यसको पछाडि सूचना संयन्त्र परिचालन भएको छ, समातियो भने जोगाउन सकिने छैन ।’

 ‘हामी सबै रातो घर/सीआईएए (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) तथा अन्य निकायबाट अति सघन रूपमा निगरानीमा छौं, त्यसैले जुनसुकै समयमा खतरा रहेको छ, त्यसमा बचौं साथीहरू ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईको डायरीमा उल्लेख गरिएका टिपोट हुन् यी । भट्टराईविरुद्ध अख्तियारले विशेष अदालतमा हालै भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसन्धान अधिकृतहरूका अनुसार २३ असोज २०८१ मा अध्यागमन प्रमुख भएर भट्टराई विमानस्थल गएदेखि कर्मचारीको संगठित मिलेमतोमा भिजिट भिसावाहक व्यक्तिबाट असुली हुँदै आएको थियो ।

सबै कर्मचारी मिलेर ‘सेटिङ’ चलाइरहेका बेला केहीले ‘व्यक्तिगत कारोबार’ समेत गर्न थालेपछि जोखिम बढेको भन्दै सहसचिव भट्टराईले कर्मचारीलाई निर्देशन दिन टिपोट तयार पारेको अधिकृतहरू बताउँछन् । उनले कर्मचारी बैठकमा भन्नुपर्ने कुरा व्यक्तिगत डायरीमा नोट गर्ने र त्यसपछि निर्देशन दिने गरेको पाइएको छ । भट्टराईले दैनिक विवरण लेख्ने त्यही डायरी उनीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा मुख्य प्रमाण बनेको छ ।

अख्तियारले भट्टराईबाट नियन्त्रणमा लिइएका दुईवटा मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएका थिए । अनुसन्धान अधिकृतहरूले भट्टराईको एउटा डायरी सक्कल नै बरामद गरेका थिए । फरेन्सिक जाँचबाट दुईवटा डायरीका पाना ‘रिकभर’ भएका थिए । ‘डायरीमा भिजिट भिसामा जाने व्यक्तिहरूको नामावली, विदेश पठाउन सिफारिस गर्ने व्यक्तिको नाम, उडान मिति, समय लेखेर घूस रकमको सांकेतिक हिसाबकिताबसमेत राख्ने गरेको फेला परेको छ,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘सहसचिव भट्टराईले डायरी आफैंले लेखेको स्वीकार गरेका छन् ।’ प्राविधिक परीक्षणमा अक्षरसमेत मिलेको छ ।

Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'२७ पुस २०८१ मिति उल्लेख गरिएको पानामा ग्रिनलाइन होलिडेज ट्राभल्सका सञ्चालक बालकृष्ण खड्काले टिपाएका यात्रुको नामावली, उनीहरूका उडान समय र गन्तव्य मुलुकको विवरण छ । एउटै पानामा १६ जनाको नाम उल्लेख गरिएको छ । त्यहीं घूस रकमको हिसाबकिताबसमेत छ । डायरीको पानामा ‘एल’ लेखेर ११ जनालाई .४ र ‘एस’ लेखेर ५ जनालाई .२ ले हिसाब गरिएको छ । ‘उहाँले सांकेतिक भाषामा महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ भनेर लेख्ने गर्नुभएको रहेछ, त्यहीअनुसार महिलाबाट प्रतिव्यक्ति ४० हजार र पुरुषबाट २० हजार रुपैयाँ लिइने गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

भट्टराईले ती नाम आफैंले टिपोट गरेको अनुसन्धान अधिकारीहरूलाई दिएको बयानमा स्वीकार गरेका छन् । अध्यागमन विभागबाट विवरण झिकाएर हेर्दा ती व्यक्ति भिजिट भिसामा विदेश उडेको भेटिएको छ ।

त्यस डायरीको प्रत्येक पानामा विदेश जानेको सूची र दर हिसाबकिताब गरिएको छ । भट्टराईले २३ पुस २०८१ मा ‘ग्राहकसँग भेटघाट (बाहिर– म्यानपावर, कन्सल्टेन्सी वा बिचौलिया)’ भनेरसमेत लेखेका छन् । त्यही दिन उनले बिचौलियासँग भेट गरेको आशंका अनुसन्धान अधिक हरूको छ । ८ चैत २०८१ मा नासुहरूलाई निर्देशन शीर्षकमा उनले ‘बाहिरी उठबस धेरै नगर्ने’ भनेर टिपोट गरेको देखिएको छ ।

Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'

भट्टराईले बिहान योग र मर्निङ वाक गरेको विवरणसमेत उल्लेख गरेका छन् । बिहान ९ः१५ बजे अफिस हिँडेको विवरण पनि डायरीमा छ । ३१ चैत २०८१ मा वर्षको अन्तिम दिन भन्दै लेखेको ‘दैनिकी’ मा समेत उनले बालकृष्ण खड्काबाट प्राप्त ५ जनाको नाम टिपोट गरेका छन् ।

भट्टराईको डायरीमा फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक दीपक भण्डारीले टिपाएका २८ पुस २०८१ पछिका विवरणसमेत उल्लेख छन् । सूचीमा कोस्टारिका जाने ३, दुबई जाने २, कतार जाने २ जनाको नाम छ । यस्तै, नर्वे, कोरियालगायतका मुलुक जानेको नामसमेत लेखिएको छ । ग्रिनलाइन ट्राभल्सका खड्काले टिपाएको नामअनुसार बिहान, दिउँसो र बेलुकी तीनवटै सिफ्टमा यात्रुलाई विदेश उडाएको देखिन्छ । त्यसको सम्पूर्ण विवरण भट्टराईले आफ्नो डायरीमा लेखेर ‘क्लियर टु ब्यांक’ उल्लेख गरेका छन् ।

भट्टराईले ह्वाट्सएपमार्फत टिपेको बिचौलियाको सिफारिस सूचीसमेत आयोगले बरामद गरेको थियो । त्यही डायरीमा अध्यागमन विभागका तत्कालीन महानिर्देशक गोविन्दप्रसाद रिजाललाई समेत उल्लेख गरेर नाम लेखिएको छ । ७ जनवरी २०२५ (२३ पुस २०८१) मिति लेखेर त्यसमुनि ‘एयर अरेबिया’ लेखिएको छ । आयोगले गरेको जाँचमा डायरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू भिजिट भिसामा विदेश गएको देखिएको छ ।

बिचौलियासँग मागे श्रीमतीलाई दिने गिफ्ट

सहसचिव भट्टराईले आफ्नो मोबाइलबाट बिचौलियासँग पटकपटक कुराकानी गरेको भेटिएको छ । आयोगले संकलन गरेको कल डिटेल रेकर्डअनुसार उनले ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्कासँग ११८ पटक, फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्सका भण्डारीसँग २५३ पटक, कविता पौडेलसँग ८५८ पटक र खेमप्रसाद सुवेदीसँग ५३ पटक कुराकानी गरेका थिए । उनीहरूले ह्वाट्सएपमा मात्र नभई एसएमएसमार्फत समेत भट्टराईलाई भिजिट भिसामा विदेश पठाउनुपर्नेहरूको सूची दिने गरेका थिए ।

फेमिली होलिडेज ट्राभल्सका सञ्चालक दीपक भण्डारीसँग भट्टराईले एसएमएससँगै उपहार लेनदेनबारे कुराकानी गरेका थिए । गत १४ फेब्रुअरी (२ फागुन २०८१) मा साँझ ५:१६ बजे भण्डारीले ‘दाजु एउटा सानो मिटिङमा भएँ, कल गरें है दाजु’ भनेर उनलाई म्यासेज पठाएका छन् । भट्टराईले गरेको फोन उठाउन सक्ने स्थितिमा नभएपछि उनले त्यो एसएमएस पठाएका थिए । त्यसको जवाफमा भट्टराईले ‘भाउजूलाई केही किनेर लगिदिनु छ’ भनेका छन् । लगत्तै उनले ‘गर त नत्र म निस्किन्छु’ भनेका छन् ।

अनुसन्धान अधिकृतहरू समक्ष बयान दिने क्रममा भट्टराईले त्यो दिन ‘भ्यालेन्टाइन्स डे’ भएकाले श्रीमतीलाई केही किनेर घर जाने विचार भएकाले दीपकलाई म्यासेज लेखेको स्वीकारेका छन् । भण्डारीसँग पाहुनाको स्वागत र आफन्तको बिदाइका लागि पास सहजीकरण गर्न अनुरोध गर्दै फोन गर्ने क्रममा चिनजान भएको भट्टराईको भनाइ छ । कहिलेकाहीं भण्डारीसँग भेट्ने र कफी खाने गरेको उनले भनेका छन् ।

भट्टराईको एसएमएसको जवाफमा भण्डारीले साँझ ६ बजे ‘भोलि बिहान म घरमा अथवा कहाँ हुन्छ, आउँछु, आज सरी’ भनेका छन् । उनले ‘डन्ट माइन्ड’ भन्दै अर्को एसएमएस पठाएपछि सहसचिव भट्टराईले ‘यस्तो पनि हुन्छ है’ भन्दै जवाफ फर्काएका थिए ।

तीर्थराज भट्टराई र भिजिट भिसा प्रकरणमा मुछिएका अरु प्रतिवादीहरु

Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'
तीर्थराज भट्टराई
तत्कालीन प्रमुख अध्यागमन अधिकृत

Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'
बालकृष्ण खड्का
ट्राभल कम्पनी संचालक
Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'
राम खड्का
मध्यस्थ / कर्मचारी
Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'
दिपक भण्डारी
ट्राभल कम्पनी संचालक

दिपक थापा
मार्केटिङ अधिकृत
चन्द्रप्रभाकर तिम्सिना
विदेश पठाउने एजेन्ट
यज्ञराज अर्याल
तत्कालीन अध्यागमन अधिकृत

Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'
कविता पौडेल
तीर्थराज भट्टराईकी नातेदार
Diary of Joint Secretary Bhattarai, the main accused in the visit visa case: 'There is danger in the red house, let's escape, friends!'
खेमप्रसाद सुवेदी
जग्गा कारोबारी

नोट: यो लिंक–चार्ट अनुसन्धान तथा अभियोग विवरणका आधारमा तयार गरिएको हो।

सहसचिव भट्टराईले भण्डारीसँग २० अप्रिल २०२५ (७ वैशाख २०८२) मा ‘जस्ट ९० प्लेट मोमो’ रहेछ भन्दै म्यासेज पठाएका छन् । नौ दिनपछि उनले ‘गाउँकी बहिनी’ कविता पौडेललाई न्युरोडको मोबाइल पसलमा जान भनेका छन् । ‘दीपक भण्डारीले भन्या भन्नू, १२ सम्मको लैजानू’ भनेर उनले लेखेका छन् ।

ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र त्यही कम्पनीका राम खड्काबीच भट्टराईलाई घूस दिनेबारे ह्वाट्सएपमा कुराकानी भएकोसमेत भेटिएको छ । ‘कसलाई दिने हो पैसा अंकल ?’ भनेर रामले पठाएको म्यासेजमा बालकृष्णले ‘त्यहाँ बखिराख अनि डीजी साब आउनुहुन्छ, त्यो डीजी साबलाई दिने हो, अहिले त्यहाँ आइसकेपछि, रेस्टुरेन्टको झोला हानीराख अनि त्यो एउटा पार्सल दिए जस्तो गर’ भनेर जवाफ दिएको अडियो फेला परेको छ । सहसचिव भट्टराईलाई डीजी भनेको बालकृष्णले बयानमा खुलाएका छन् ।

अख्तियारका अनुसन्धान अधिकृतहरूले संकलन गरेको विवरणमा सहसचिव भट्टराई विमानस्थल अध्यागमन कार्यालय प्रमुख भएका बेला भिजिट भिसामा विदेश गएका ४२ हजार ३ सय ५७ जना स्वदेश फर्किएका छैनन् । सहसचिवको डायरी र मोबाइल म्यासेजबाट संकलन भएका नामहरूमध्ये २५७ यात्रु विदेश गएको अध्यागमन विभागले उपलब्ध गराएको विवरणमा देखिन्छ । भट्टराईले प्रयोग गरेको ल्यापटपबाट विभिन्न व्यक्तिको राहदानीसमेत फेला परेको अनुसन्धान अधिकृतहरूले जनाएका छन् । महिला र पुरुषको गरी ४० राहदानीको तस्बिर अख्तियारले अदालतमा बुझाएको छ ।

विमानस्थल अध्यागमनमा ‘सेटिङ’ मिलाएर युवालाई विदेश पठाइने गरेको भन्दै अख्तियारमा गत चैततिरै सूचना पुगेको थियो । ‘त्यस्तो सूचना पटकपटक आएपछि गृह मन्त्रालयलाई दुई पटक पत्राचार गरेका थियौं, तर कुनै ठोस कदम चालिएन,’ अख्तियारका एक आयुक्तले भने, ‘त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पत्र पठाएका थियौं, त्यहाँबाट समेत गृहलाई छानबिन गर्न भन्दै पत्र पुगेको थियो ।’ रमेश लेखकको नेतृत्वमा रहेको गृह प्रशासनले कुनै कदम नचालेपछि अख्तियारले ४ जेठमा गोप्य अपरेसन थालेको थियो । तेस्रो दिन एकाएक भट्टराईको सरुवा भएपछि अख्तियार प्रमुख प्रेमकुमार राईले समेत चासो देखाएका थिए । लगत्तै ७ जेठमा विमानस्थलमा छापा मारेर भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । ‘त्यहाँ सफ्टवेयरबाटै रकम बाँडफाँट हुन्छ भन्ने सूचना थियो, रंगेहात समात्ने गरी गोप्य रूपमा हाम्रा अधिकृतहरू खटिएका थिए,’ ती आयुक्तले भने, ‘तर सूचना चुहिएर उनी एक्कासि सरुवा भएपछि पक्राउ गरेरै अनुसन्धान अघि बढायौं ।’

करिब ६ महिना लामो अनुसन्धानपछि बिहीबार अख्तियारले भट्टराई, शाखा अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज र त्यसका अध्यक्ष बालकृष्ण खड्का तथा सञ्चालक राम खड्का, फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्सका सञ्चालक दीपक भण्डारीका साथै कविता पौडेल र खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । विशेष अदालतले शुक्रबार भट्टराईलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । तर विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलले दिएको यस आदेशमा सदस्य डिल्लीरत्न श्रेष्ठले फरक मत राखेका थिए ।

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully