शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच छलफल जारी

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Discussions continue between the Federation of Teachers and the Ministry of Education

काठमाडौँ — आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । केही बेरअघि सिंहदरबार परिसरमा महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु गरेको हो ।

शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने  सूचना अधिकारी ढकालले बताए । 

महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले भने आफूहरूले आफ्ना एजेन्डा बुझाएको बताए । उनले भने,  'वार्ता भएको होइन, हाम्रो तर्फबाट एजेन्डा बुझाएका हौँ ।'

शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।

तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully