शिक्षक आन्दोलन चर्किनु चिन्ताजनक

चैत्र २७, २०८१

पाठक पत्र

It is worrying that the teachers' movement is intensifying

हरेक क्षेत्र अस्तव्यस्त भइरहेका बेला सामुदायिक विद्यालयका शिक्षकहरू पनि आन्दोलनमा उत्रिनु दुःखद हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत वार्षिक परीक्षा सकिएपछि चैत २० देखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै चैत २५ बाट शैक्षिक हडतालको घोषणा गरिएको छ ।

महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक र कर्मचारीलाई अनिवार्य रूपमा आन्दोलनमा सहभागी हुन आग्रह गरेपछि एसईई उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ ।

शैक्षिक हडतालबाट ३४ हजार विद्यालयका ७० लाख बालबालिकाको शैक्षिक गतिविधिमा नकारात्मक असर पर्ने, आसन्न कक्षा १२ को परीक्षा प्रभावित हुने, साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका समयमै परीक्षण नहुने निश्चित छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले जारी राखेको काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई नजरअन्दाज गर्नै हुँदैन । विगतमा पनि शिक्षकहरूले यस्तै माग राखेर आन्दोलन नगरेका होइनन् । शिक्षकहरूले आफूसँग भएको सहमतिअनुसार बुँदा समेटेर विधेयक तयार पार्ने, त्यसलाई संसद्बाट पारित गराई शिक्षा ऐन निर्माण गर्ने भनी २०८० असोजमै सरकारसँग सम्झौता गरेको, तर सो विषय अहिलेसम्म उपेक्षित बनेको छ । वस्तुतः संविधानले शिक्षालाई स्थानीय तहभित्र राख्नुपर्ने भनी तोकेको छ, जुन कुरालाई शिक्षकले इन्कार गर्दै आएका छन् । उनीहरूले विद्यालय शिक्षामाथि स्थानीय र संघीय सरकार दुवैको जिम्मेवारी हुनुपर्ने अडान लिँदै आएका छन् ।

त्यसैगरी अस्थायी, विद्यालयमा स्वीकृत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, अस्थायी करारलगायतको समुचित व्यवस्थापन सरकारले गर्नुपर्ने माग पनि शिक्षकहरूले राखेका छन् । विद्यार्थीलाई अचानो बनाएर शिक्षक र सरकारबीच चलेको यो लडाइँ कुनै पनि मानेमा जायज होइन ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully