काठमाडौँ — सरकार गठन भएको दस महिनासम्म पनि आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरेको माओवादीले आरोप लगाएको छ ।
सोमबार पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद रहेको बताएका हुन् ।
'यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद छ । यसबाट सरकार शिक्षकहरूको मागका बारेमा उदासीन र गैर जिम्मेवार भएको पुष्टि हुन्छ,' विज्ञप्तिमा भनिएको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने लगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले बताएको छ ।
देशको सर्वांङ्गिण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यकता भएको र त्यसका लागि विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकहरूका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य शर्त रहनुपर्ने माओवादीले बताएको छ ।
माओवादी नेतृत्वको सरकारले कैयन जटिलताबीच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी व्यवस्थापिका संसद्मा दर्ता गरेको पनि विज्ञप्तिमा उल्लेख छ । साथै, शिक्षकहरूको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गरेको छ ।
