सहकारी ठगी प्रकरण : लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

पुस १, २०८१

दीपक परियार

Cooperative fraud case: Police opinion that one and a half billion should be recovered from 51 people including Lamichhane

पोखरा — जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय व्यक्त गरेको छ । प्रहरीले उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले ५१ मध्ये ३७ जना फरार रहेको बताए । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । 

प्रतिवादीहरू सहकारीका सञ्चालक समितिका पदाधिकारी एवं सदस्यदेखि सहकारीको रकम अवैधानिक रूपमा लगानी भएका कम्पनीका सञ्चालकसम्म छन् । पूर्वडीआईजी छविलाल जोशीदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली समेत छन् । नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । 

जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि अध्ययनको क्रममा रहेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् । प्रहरीको रायको आधारमा कुन–कुन शीर्षकमा मुद्दा चलाउने गरी अभियोगपत्र लैजाने भन्ने अध्ययन भइरहेको उनको भनाइ थियो ।

बिहीबार लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारी ठगीमा जोडिएको लिला पछाईं, सहकारीका सञ्चालक समिति सदस्य कृष्णबहादुर गुरुङसहितलाई जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको थियो । मंगलबार उनीहरुलाई म्याद थपको माग गर्दै अदालतमा उपस्थित गराउने तयारी छ । ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्छ,’ जिल्ला न्यायाधिवक्ता काफ्लेले भनिन्, ‘सम्भवतः म्याद थपको माग गर्छौं ।’ 

पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि ९० दिनको हदम्याद उनी पक्राउ परेको मितिदेखि लागू हुँदा अब ४ दिनभित्र अदालतले अभियोगपत्र अदालतमा बुझाउनुपर्छ । त्यसपछि भने थुनछेक बहस सुरु हुन्छ ।  

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully