आज अनुसन्धान अधिकृत र सरकारी वकिलले रवि लामिछाने र छवि जोशीसँग बयान लिने

सानोपाइला सहकारी ठगीमा अनुसन्धानका लागि लामिछानेलाई वीरगन्ज ल्याइयो

मंसिर २५, २०८१

भूषण यादव

Today, the investigating officer and public prosecutor will take statements from Ravi Lamichhane and Chibbi Joshi

वीरगन्ज — सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी ठगी आरोपमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको हो ।

लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट सडकमार्फत वीरगन्ज ल्याइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए । सिमरा विमानस्थल र जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि केहीबेर रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि सहकारी ठगीमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको प्रहरीले जनाएको छ । डीएसपी लम्सालका अनुसार मंगलबार अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछाने र जोशीसँग बयान लिनेछन् । बयान सकिएपछि दुवैलाई पोखरा पठाइनेछ ।

वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा ८ करोड ५८ लाख रुपैयाँ जम्मा गरेको पाइएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानोपाइला सहकारीबाट गोर्खा मिडियामा रकम सारिएको हो । लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशकको भूमिकामा थिए । 

२०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको समितिको प्रतिवेदनमा उल्लेख छ । जोशीका नाममा पनि उक्त सहकारीबाट १ करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको समितिको अनुसन्धानमा देखिएको छ । यसबाहेक सानोपाइलाबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ ।

डेढ वर्ष अगाडि उजुरी दर्ता गराउने बेला गोर्खा मिडियामा सानोपाइला सहकारीबाट रकम सारिएको प्रमाण नहुँदा निवेदनमा नाम समावेश गर्न नसकिएको बचतकर्ताले बताए । ‘त्यसबेला प्रमाण नपुग्दा प्रहरीले सहकारीको सञ्चालक समिति र कर्मचारीविरुद्ध उजुरी दर्ता गर्‍यो,’ बचतकर्ता विक्रम अग्रवाल भन्छन्, ‘गोर्खा मिडियाको नाम राख्न खोज्दा प्रहरीले प्रमाण माग गरेको थियो । प्रमाण नहुँदा नाम हटाउन बाध्य भयौं ।’

 एक सय ७९ बचतकर्ताले सानोपाइलाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता गराएका थिए । सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायिक परीक्षण हुँदा ठहरेबमोजिम हुने गरी १ करोड १० लाख धरौटीमा रिहा भएकी थिइन् । यसैगरी सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु (जीबी) राईलगायत ११ जना फरार छन् ।

भूषण

Link copied successfully