चितवन — पूर्व गृहमन्त्री तथा चितवन-२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि प्रहरीले मंगलबार मध्याह्न चितवन जिल्ला न्यायाधिवक्ताको (सरकारी वकिल) को कार्यालयमा उपस्थित गराएको छ ।
लामिछानेलाई आज बिहान काठमाडौंबाट भरतपुर ल्याइएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा लामिछानेमाथि छानबिन सुरू भएको हो । सहकारी बचत अपचलनको उजुरीमा कास्की प्रहरीले पक्राउ गरेको लामिछानेमाथि कास्कीसहित रूपन्देही र काठमाडौंमा पनि अनुसन्धान र बयान भएको छ ।
साहारा चितवनको १० करोड रूपैयाँभन्दा बढी रकम नियम विपरीत गोरखा मिडियामा गएको भनेर पीडित बचतकर्ताले उजुरी दिएका छन् । ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडियामा लामिछाने तत्कालीन सेयरधनी, सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।
