स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड १८ लाख ५८ हजार रकम हिनामिना भएको बचतकर्ताले जाहेरी दिएका छन्
पोखरा — सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं पुर्याइने भएको छ । पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं लैजान लागिएको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई मंगलबार बिहान जहाजमार्फत काठमाडौं लैजाने तयारी छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले यही मंसिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । बयान सकिएपछि उनलाई पुनः कास्की नै ल्याइनेछ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिएर पोखरा फर्किइसकेका छन् । उनीसँग यसअघि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले पनि बयान लिएको थियो । कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसुरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि म्याद थप गरेको हो ।
लामिछाने र जोशीसहित उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । उनीविरुद्ध यसअघि ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप भएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको हो । उक्त सहकारी ठगीमा लामिछाने र जोशीको पनि संलग्नता भेटिएपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिइएको काठमाडौं प्रहरीका एक अधिकारीले बताए ।
यही प्रकरणमा गत कात्तिकमा काठमाडौं जिल्ला अदालतले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ, जसमध्ये राईसहित केही आरोपित फरार छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अघि बढेपछि राईसहितका आरोपित फरार भएका हुन् । सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीमा पनि राई संलग्न रहेको संसदीय छानबिन समिति तथा प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड १८ लाख ५८ हजार हिनामिना गरेको भन्दै ६ सय ४५ सदस्यले ठगीमा जाहेरी दिएका थिए । सहकारीका तत्कालीन सञ्चालक, कर्मचारी, गोर्खा मिडियाका पदाधिकारीलगायतको मिलेमतोमा बचत अपचलन भएको अनुसन्धानका क्रममा भेटिएको छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडियासहित एक दर्जन कम्पनीमा गैरकानुनी रूपमा रकम प्रवाह भएको पनि खुलेको छ ।
सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै संसदीय छानबिन विशेष समितिले पनि नेटवर्कका तत्कालीन अध्यक्ष राई, तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी जोशी, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसपछि प्रहरीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको हो । त्यही क्रममा स्वर्णलक्ष्मीको बचत ठगी प्रकरणमाथि पनि अनुसन्धान भएको थियो ।
काठमाडौं महानगरपालिका–१४, कालिमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट स्वर्णलक्ष्मी सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । सदस्यहरूको उजुरीपछि अनुसन्धान गर्दा हिनामिनामा जीबी राईसहित स्वर्णलक्ष्मीका पदाधिकारी संलग्न देखिएका थिए । स्वर्णलक्ष्मीबाट ११ कम्पनीमा सहकारीको बचत लगेको देखिएको छ ।
