लामिछानेले चुनौती दिएपछि प्रहरीले चेक देखायो, उनी झसंग भए, अनि घोरिए

मंसिर १०, २०८१

घनश्याम गौतम

When Lamichhane challenged, the police showed him the check, he was shocked, and snorted

बुटवल — बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा बयान लिने क्रममा रूपन्देही प्रहरीमा हाजिर गराइएका रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा कसले रकम झिक्यो, किन झिक्यो, उक्त सहकारीसँग कम्पनीले गरेको कारोबारबारे आफूलाई केही थाहा नभएको बयान दिएका थिए ।

तर, प्रहरीले कारोबारबारे थाहै छैन भने ब्याज भुक्तान गर्न किन चेक काट्नुभयो भन्दै प्रश्न गरेका थिए । एक प्रहरी अधिकारी भन्छन्, ‘तपाईंको हस्ताक्षरसहितको चेकबाट रकम जम्मा भएको रहेछ, त्यो के हो भनेर सोधिएको थियो ।’

प्रहरीको प्रश्न सुनेर लामिछाने आक्रोशित बनेका थिए । ‘प्रमाणबिना आरोप लगाउने ? प्रमाण भए ल्याऊ भन्दै उहाँले चुनौती पनि दिनुभयो,’ एक प्रहरी अधिकारीले भने । 

‘त्यसपछि प्रहरीले हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइदियो, त्यो देखेपछि लामिछाने नर्भस हुनुभयो,’ उनले भने, ‘धेरैबेर घोरिएपछि मलाई मेरा कानुन व्यवसायीसँग बुझ्न दिनुस् भन्नुभयो । अनि बरन्डामा गएर थप घोरिनुभयो । धेरैबेरपछि फर्किएर मैले हस्ताक्षर गरेर घर्रामा राखेको चेकमा कसैले रकमसहितको विवरण भरेर बुझाएको हुन सक्छ भन्ने जवाफ दिनुभयो ।’

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २७ मा भैरहवा पुर्‍याइएको थियो । पर्सिपल्ट कात्तिक २९ मा दिउँसो २ बजेसम्म बयान सकेर ३:४० को जहाजबाट उनलाई पोखरा फिर्ता पठाउने तयारी थियो ।

त्यही तयारीअनुसार प्रहरीले लामिछानेलाई ७४ वटा प्रश्न गरेको थियो । अन्तिममा लामिछानेको हस्ताक्षरसहितको चेकबाट सहकारीमा रकम जम्मा भएको प्रश्न आएपछि बयान साँझ ७ बजेसम्म लम्बिएको थियो । ‘त्यस क्रममा प्रहरीसँग लामिछानेले धेरै लामो सवालजवाफ गर्नुभयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अन्त्यमा सहकारी कारोबारमा मेरो संलग्नता छैन भनेर इन्कारी बयान दिनुभयो ।’

पोखरा प्रहरीमा पनि ‘अरू कसैले चेक काटिदिएको हुन सक्ने’ बयान लामिछानेले दिएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको खातामा लामिछानेले रकम जम्मा गरिदिएको विषयमा पनि प्रश्न सोध्ने प्रहरीको तयारी छ । उनीसँग हालसम्म पोखरा र रूपन्देहीमा मात्रै बयान लिइएको छ । अन्य सहकारी ठगीमा सम्बन्धित जिल्लामा लामिछानेलाई लगेर बयान गराउने प्रहरीको तयारी छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully