लामिछाने र जोशीविरुद्ध काठमाडौं अदालतबाट पनि पक्राउ पुर्जी

कास्कीबाट झिकाएर बयान लिने प्रहरीको तयारी

मंसिर ३, २०८१

कान्तिपुर संवाददाता

An arrest warrant was also issued against Lamichhane and Joshi from the Kathmandu court

काठमाडौँ — पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको निवेदनमा अदालतले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न आइतबार लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

पक्राउ पुर्जी जारी भएसँगै दुवैलाई छिट्टै कास्कीबाट झिकाएर बयान लिने तयारी प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका क्रममा लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । हिरासतमै रहेका बेला बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

रूपन्देही प्रहरीले दुवै जनालाई कास्कीबाट झिकाएर बयान लिइसकेको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको हो । उक्त सहकारी ठगीमा लामिछाने र जोशीको पनि संलग्नता भेटिएपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिइएको काठमाडौं प्रहरीका एक अधिकारीले बताए ।

यही प्रकरणमा गत कात्तिकमा काठमाडौं जिल्ला अदालतले गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ, जसमध्ये राईसहित केही आरोपित फरार छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अघि बढेपछि राईसहितका आरोपित फरार भएका हुन् । सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीमा पनि राई संलग्न रहेको संसदीय छानबिन समिति तथा प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड १८ लाख ५८ हजार हिनामिना गरेको भन्दै ६ सय ४५ सदस्यले ठगीमा जाहेरी दिएका थिए । सहकारीका तत्कालीन सञ्चालक, कर्मचारी, गोर्खा मिडियाका पदाधिकारीलगायतको मिलेमतोमा बचत अपचलन भएको अनुसन्धानका क्रममा भेटिएको छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडियासहित एक दर्जन कम्पनीमा गैरकानुनी रूपमा रकम प्रवाह भएको पनि खुलेको छ । सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै संसदीय छानबिन विशेष समितिले पनि नेटवर्कका तत्कालीन अध्यक्ष राई, तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी जोशी, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसपछि प्रहरीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको हो । त्यही क्रममा स्वर्णलक्ष्मीको बचत ठगी प्रकरणमाथि पनि अनुसन्धान भएको थियो ।

काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट स्वर्णलक्ष्मी सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । सदस्यहरूको उजुरीपछि अनुसन्धान गर्दा हिनामिनामा जीबी राईसहित स्वर्णलक्ष्मीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी संलग्न देखिएका थिए ।

यस्तै, पूर्वसञ्चालकहरू दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बराल संलग्न देखिएपछि उनीहरू विरुद्ध दसैंताका नै पक्राउ पुर्जी जारी भएको थियो । 

पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगीमा प्रहरीले लामिछाने, जोशी, राईसहितका आरोपितविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मी प्रकरणमा पनि यी तीनवटै कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चितवनको साहारा र वीरगन्जको सानोपाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम लगेर अपचलन गरेको भेटिएको छ । यी जिल्लामा पनि आरोपितविरुद्ध अनुसन्धान अघि बढेको प्रहरीका एक अधिकारीले बताए । 

स्वर्णलक्ष्मीबाट ११ कम्पनीमा सहकारीको बचत लगेको देखिएको छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया र गोर्खा ग्रुप अफ कम्पनीसहित देव दीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्ड्री फार्म, मन्दरा टेर्स एन्ड एक्स्पेन्डिएसन, कोर्खा हर्बल प्रोडक्सन प्रालि, मन्दरा टुर्स एन्ड ट्राभल प्रालि, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालि, हर्बो इन्टरनेसनल प्रालि, न्यु सुलक्स अफसेट प्रिन्टर्स प्रालि, सारेगामा रेकर्डस् प्रालि, स्प्रिङ उड रियल इस्टेट प्रालि र ग्यालेक्सी टीभीमा रकम लगेको भेटिएको हो ।

गोर्खा मिडियामा लामिछाने १५ प्रतिशत सेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । बाँकी सेयर राई, जोशी र रम्तेलका नाममा कायम गराइएको थियो । राई, जोशी र लामिछानेले सहकारीबाट गोर्खा मिडियाको खातामा लगेको रकमबाहेक गोर्खा मिडियाकै लागि भनेर राई र लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न ४६ लाख ८८ हजार लगेको उल्लेख छ । भ्यान किन्न लगेको २९ लाख ५२ हजार अझै तिर्न बाँकी छ ।

२०७८ साउन ४ मा पनि सोही सहकारीबाट राई र लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको उल्लेख छ । गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार रुपैयाँ तिर्न बाँकी देखिन्छ । जोशीले २०७८ चैत ९ मा सहकारीबाटै १ करोड १८ लाख २८ हजार रुपैयाँ पेस्कीबापत लगेर त्यही महिनाको २९ गते फिर्ता गरेको देखिन्छ । यो कारोबारसहितका विवरण समेटिएको सर्भर प्रहरीले शंखमूलस्थित नेचर हर्ब्स कम्पनीको कार्यालयबाट बरामद गरेको थियो ।

काठमाडौं प्रहरीले कात्तिक पहिलो साता कालीमाटीस्थित स्वर्णलक्ष्मीको कार्यालयमा थप खानतलासी गर्दा लामिछानेसहितले सहकारीबाट रकम लगेको खुल्ने कागजात पनि बरामद भएको जनाएको छ । खानतलासीका क्रममा भौचरसहित ३५ थान फाइल बरामद गरिएको प्रहरीका एक अधिकारीले बताए ।

कान्तिपुर

Link copied successfully