सुप्रिम सहकारीबाट आफ्नो नाममा प्रवाह भएको ऋणको भौचर सदर गर्ने सागर केसी र बैंक खातामा रकम जम्मा गराउने रोशनी गुरुङसँग चिनजान नरहेको लामिछानेको दाबी
बुटवल — सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको बयान बिहीबार पनि हुने भएको छ । मंगलबार र बुधबार गरी १३ घण्टाभन्दा बढी लगाएर लिइएको बयानका क्रममा उनले बुटवलको सुप्रिम सहकारीबाट आफ्नो नाममा प्रवाह भएको ऋणबारे अनभिज्ञता व्यक्त गरेका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेसँग बुधबार बिहान सवा १० बजेदेखि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले बुधबार ८ घण्टाभन्दा बढी समय बयान लिएको थियो । बयानका क्रममा दुई दिनमा गरी ५० भन्दा बढी प्रश्न सोधिएको र यसअघि नै तयार गरिएका झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् ।
जिल्ला सरकारी कार्यालयका न्यायाधिवक्ता पौडेलले सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरकै विषयमा लामिछानेसँग सवालजवाफ भइरहेको बताए । ‘हामीले सहकारी ठगी र संगठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू गरेका छौं,’ उनले भने, ‘बिहीबार पूरक प्रश्नहरू धेरै नभए बयान सकिन्छ ।’ लिइएको बयानको रुजु बाँकी रहेको उनले जानकारी दिए ।
बयानमा उपस्थित सुरक्षा अधिकारीहरूका अनुसार धेरै प्रश्नमा लामिछानेले आफ्नो संलग्नता इन्कार गरेका छन् । ‘कतिपय प्रश्नमा आफू संलग्न भएको प्रमाण खोज्दै उहाँले तर्कसहित कुरा पनि राख्नुभएको छ,’ एक सुरक्षा अधिकारीले भने, ‘धेरै प्रश्नमा उहाँले जीबी राईतर्फ औंल्याउनुभयो ।’
मंगलबार बयान सकेर निस्किने क्रममा सरकारी वकिल कार्यालयबाटै लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका कारण बुधबार भने बयानका लागि लैजाने क्रममा प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो । लामिछानेलाई भित्र लैजाने र निकाल्ने बेला सरकारी वकिल कार्यालयमा माथिल्लो तलाको बरन्डामा समेत प्रहरी सुरक्षा घेरा बनाइएको थियो । लामिछानेलाई बुधबार पनि जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा राखिएको छ ।
बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम सहकारीबाट लामिछानेका नाममा २०७७ चैत १८ मा २ करोड ऋण प्रवाह भएको थियो । सहकारी संस्थाले सेवाशुल्क काटेपछि १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा जम्मा गरिएको थियो । लामिछाने र रोशनी गुरुङका नामबाट छुट्टै १ करोड रुपैयाँ पनि ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा गरिएको थियो । ऋण प्रवाह भएका बेला लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए ।
प्रहरीले अहिले तयार गरिरहेको पूरक अभियोगपत्रमा लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेको उल्लेख छ । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका केसी फरार छन् । बयानका क्रममा भने लामिछानेले केसी र रोशनी गुरुङ दुवैलाई नचिनेको दाबी गरेका छन् ।
सुप्रिम सहकारीकी कर्मचारी गुरुङ यसअघि नै जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएकी छन् । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोडमध्ये झन्डै ७८ करोड रुपैयाँ अनियमित तबरले विभिन्न संघसंस्थामा लगेर खर्च गरिएको छ ।
संस्थाका पूर्वअध्यक्ष एवं अहिलेका संरक्षक गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन सचिव दीपेश पुन, व्यवस्थापक केसीसहित ३२ जनाभन्दा बढी व्यक्तिले अनधिकृत रूपमा रकम लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ । गोर्खा मिडियाकै पूर्वउपाध्यक्ष छविलाल जोशी बञ्जाडेका नाममा पनि २०७७ माघ २९ मा २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको अनुसन्धानबाट देखिएको छ । जोशीसँग रूपन्देही प्रहरीले यसअघि नै बयान लिइसकेको छ ।
