लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थलबाट सिधै बयानका लागि सरकारी वकिलको कार्यालयमा

कार्तिक २७, २०८१

दिपेन्द्र बडुवाल, घनश्याम गौतम

Lamichhane was brought to Bhairahawa, directly from the airport to the public prosecutor's office for a statement

भैरहवा, बुटवल — सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याइपुर्‍याइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई केही बेरअघि भैरहवा ल्याइएको हो । 

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो । रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ । रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालते प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो 

त्यहीअनुसार कात्तिक २ गतेदेखि एकै प्रकृतिको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि भैरहवा ल्याउन लागिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ । लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको थियो ।

स्रोतका अनुसार लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न तयार गरिसकेको छ । थप प्रश्न बयानकै क्रममा पनि हुने स्रोतले बतायो ।

दिपेन्द्र बडुवाल कान्तिपुरका बुटवल संवाददाता हुन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully