साहारा चितवन सहकारीको रकम अपचलनको आरोप लागेका १० जनाविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान गर्ने तयारी
चितवन — रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो ।
साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए ।
चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको पाइएको छ ।
लामिछाने र जोशी यसअघि नै पक्राउ परेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । उनीहरू पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धानका क्रममा पक्राउ परेका हुन् । यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देही प्रहरीले उनीहरू दुवैमाथि बयान लिइसकेको छ ।
काठमाडौं प्रहरीले पनि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जोशीमाथि बयान लिइसकेको काठमाडौं प्रहरीले लामिछानेलाई झिकाउने तयारी गरिरहेको छ ।
नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक खनाल पनि सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् । बचतकर्ताले साहारा चितवनबाट १० करोड ८० लाख रुपैयाँ नियमविपरीत गोर्खा मिडियामा गएको जाहेरीमा उल्लेख गरेका छन् ।
साहारा चितवनका बचतकर्ताले गत वर्ष असोजमा दिएको जाहेरीका आधारमा प्रहरीले अन्य १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइसकेको छ । अदालतमा दायर अभियोगपत्रमा सहकारीमा ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो । उक्त मुद्दा दायर गर्ने क्रममा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले साहारा चितवनबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँको कारोबारबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको चितवन प्रहरीको अनुसन्धानले देखाएको थियो । साहारा चितवन सहकारीमा ६ हजार ३ सय ३४ बचतकर्ता छन् ।
सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु (जीबी) राईले विभिन्न सहरमा सञ्चालन गरेका पाँच सहकारीबाट नियमविपरीत ६५ करोड रुपैयाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो । समितिले गत भदौ ३१ मा बुझाएको प्रतिवेदनमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन सञ्चालकद्वय छविलाल जोशी र कुमार रम्तेलमाथि अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको थियो । रम्तेल गत भदौमै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन्, राई फरार छन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका जोशी गत असोज ६ मा र लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका हुन् ।
