सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ भन्ने मान्यतालाई यो उपनिर्वाचनले गलत सावित गरिदियो । पार्टी आफ्नो खुट्टामा उभिए जनताले विश्वास गर्छन् भन्ने देखियो । -उपमहासचिव वर्षमान पुन
काठमाडौँ — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । यसअघि पनि माओवादीले जितेको यो पालिकामा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भइन् ।
आफ्नो पूर्ववर्त् स्थान जोगाउनुभन्दा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्नु माओवादीका लागि प्रतिष्ठाको विषय बनेको थियो । पुथा उत्तरगंगामा एमाले उम्मेदवार कांग्रेसको रुख चिह्नमा केशकुमारी तुलाचन उम्मेदवार बनेकी थिइन् । माओवादीको गढ तोड्न सूर्य चिह्नमा कांग्रेसको मत रूपान्तरण नहुने डरले एमालेले कांग्रेसको चुनाव चिह्न स्वीकार गरेको थियो । कांग्रेस-एमाले गठबन्धन उम्मेदवारलाई एक्लै पराजित गरेपछि माओवादीले त्यसलाई प्रतिष्ठाको विषय बनाएको छ ।
मोरङको ग्रामथान गाउँपालिकामा कांग्रेसको विरासत तोड्दै माओवादीले जित्यो । माओवादीका नमोनारायण माझीले कांग्रेसका बलराम सरदारलाई पराजित गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उत्साहित हुँदै त्यस क्षेत्रका सांसद अमनलाल मोदी र माझीलाई बधाई दिन भ्याए । जाजरकोट नलगाडमा कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहलाई पराजित गरी देवका लामिछाने निर्वाचित भएकी छन् । यसअघि माओवादी जितेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा पनि अग्रता लिएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनपछि विभिन्न तह (जिल्ला संयोजक, प्रमुख, उपप्रमुख र वडाध्यक्ष) का खाली भएका ४४ स्थानमध्ये माओवादीले जितेका ८ स्थान खाली भएका थिए । माओवादीले सोमबार बेलुकसम्म एक अध्यक्ष, दुई उपप्रमुख र वडाध्यक्षसहित ९ स्थान जितेको छ ।
निरन्तर सत्ता मोहका कारण माओवादी केन्द्रप्रति मतदाताको चर्को आलोचना भएको बेला एक पालिका उपाध्यक्ष जोगाउँदै यो उपनिर्वाचनमा थप दुई पालिका मोरङको ग्रामथानमा अध्यक्ष र नलगाडमा उपप्रमुख जितेपछि माओवादी उत्साहित भएको छ ।
त स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये १२१ पालिका जितेर तेस्रो भएको थियो । सत्तामोहका कारण माओवादी ओरालो लाग्दै गएको स्वयं नेताहरुको बुझाइलाई उपनिर्वाचनको मतपरिणामले केहीहलसम्म गलत सावित गरको छ । जसले माओवादीलाई राहत दिएको छ ।
उपनिर्वाचनको नतिजा आएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सकारात्मक सन्देश’ भनेका छन् । ‘यो उपनिर्वाचनले पार्टीप्रति विश्वास बढेको र आगामी दिनका लागि सकारात्मक सन्देश दिएको छ,’ दाहालले सचिवालय सदस्यहरूसँग सोमबार बेलुका भने, ‘यसअघि हामीले जितेका वडाहरु जोगाउन सकेको भए अझ राम्रो हुन्थ्यो । त्यहाँ केही कमजोरी रह्यो ।’
दाहालले स्थानीय तहको उपनिर्वाचनको मुखमा आगामी निर्वाचनका लागि नयाँ सन्देश दिएको बताएका थिए । ‘यो उपनिर्वाचनले यथार्थमा नेपाली जनतालाई आगामी आम निर्वाचनका लागि पनि नयाँ सन्देश दिनेछ,’ दाहालले भनेका थिए । उपमहासचिव वर्षमान पुनले कांग्रेस-एमालेले मुलुकलाई दुई दलीय राजनीतिक प्रणालीमा लाने कसरत गरिरहेका बेला माओवादी अपरिहार्य शक्ति भएको पुष्टि भएको बताए । ‘दुई पार्टी भएको राजनीतिक प्रणालीमा लाने हो भन्ने कांग्रेस एमालेका नेताको योजनालाई उपनिर्वाचनमा जनताले दिएको जवाफ हो यो,’ उनले भने, ‘माओवादी यो मुलुकको अपरिहार्य शक्ति हो ।’
उपमहासचिव पुनले गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि अपेक्षित परिणाम नआएका क्षेत्रमा यसपटक एक्लाएक्लै चुनाव लड्दा पनि जितेर जनताबाट माओवादी अनुमोदित भएको दाबी गरे । । ‘सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ भन्ने आरोपलाई यो मतपरिणामले गलत सावित गरिदियो,’ उनले भने, ‘पार्टी आफ्नो खुट्टामा उभियो भने जनताले विश्वास गर्छन् भन्ने देखियो । आगामी निर्वाचनका एक्लै चुनाव लड्ने आधार स्पष्ट देखियो ।’
दाहालको नेतृत्वको सरकारले ‘सुशासन, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेको कामले जनतामा आशा जागेको’ पुनको भनाइ छ । उनले विगतमा जितेका स्थानमा हार्नुको कारणबारे आगामी बैठकमा समीक्षा गर्ने बताए ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले माओवादीका आधार भत्किनसकेको संकेत गरेको बताए । ‘माओवादी सत्तामै भएको भए यो स्थान मत पाउन मुश्किल थियो । उपनिर्वाचनको जनादेशले सत्ता बाहिर बसेर संगठन बनाऊ भनेर सन्देश दिएको छ,’ उनले भने, ‘माओवादीको सपोर्ट बेस छ भन्ने देखिन्छ ।’ उनले एक्लै चुनाव लड्दा पनि माओवादीको नेतृत्वमा समस्या भए पनि आधार अझै जीवित भएको देखिन्छ । ‘माओवादीको माथि सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ । बेस बिग्रेको होइन, माथि बिग्रेको हो,’ उनले थपे ।
गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा माओवादीले जित हात पार्यो । त्यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष कांग्रेसबाट खोसेर माओवादीले लगेको छ । कांग्रेस एमाले गठबन्धनलाई हराउँदै रुकुमपूर्व पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा वडातर्फ उदयपुरको त्रियुगा नगरपालिका-१२ मा कांग्रेसको स्थानमा माओवादीले जितेको छ । धनुषाधाम नगरपालिका-१ धनुषा माओवादी केन्दले कांग्रेसबाट खोसेको छ । त्यस्तै नुवाकोटको ककनी गाउँपालिका-२ मा माओवादी केन्द्रले कांग्रेसलाई पराजित गर्यो भने गोरखा नगरपालिका-५ गोरखा माओवादी केन्द्र एमालेलाई हराएर माओवादी जितेको छ । पुथा उत्तरगंगा गाउँपालिका-२ रुकुमपूर्वमा माओवादी केन्द्र निर्विरोध भएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पामा माओवादी केन्द्रले एमालेलाई पराजित गरेको छ । समग्रमा माओवादीले ०७९ को स्थानीय तह चुनावमा जितेका ६ मध्ये ५ वडा यस पटक गुमाए पनि पहिले जितेको १ र थप ५ मा जित हात पार्दै 'कमब्याक' गरेको छ । माओवादीले एमाले र कांग्रेस उम्मेदवारलाई एक्लै चुनाव लडेर पराजित गरेको विषयलाई सकारात्मक सन्देशका रूपमा लिएको छ ।
