सेवा लिन घूस खुवाउन नपरोस् भनी काठमाडौं-१६ का जनताले मत परिवर्तन गर्नुभयो : पराजुली

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

The people of Kathmandu-16 changed their opinion that they should not pay bribes to get services: Parajuli

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर-१६ को अध्यक्षमा जित हासिल गरेको छ । यो जितसँगै रास्वपा स्थानीय सरकारमा सहभागी भएको छ ।

यो जित पुराना दलहरूप्रति जनताको असन्तुष्टि, रास्वपाले जनतामा जगाएको राजनीतिप्रतिको विश्वाससँगै सत्ता सञ्चालन गरिरहेका राजनीतिक दलहरूको कुशासनविरुद्ध जनताको मतका रूपमा रास्वपाले व्याख्या गरेको छ । 

काठमाडौं- १६ को अध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर जित हासिल गरेकी हुन् । सरकारको नेतृत्व गरिरहेको एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर २ हजार २२० मत ल्याएर दोस्रो भए भने सत्तारुढ कांग्रेसका उम्मदवार देवेन्द्र पाठक २ हजार २ सय १४ मत ल्याएर तेस्रो भए । यो वडाको अध्यक्षमा उम्मेदवार बनेका एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत ल्याए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत प्राप्त गरे । 

काठमाडौं- १६ मा प्राप्त जित जागरुक र स्वतन्त्र मतदाताले गरेको 'मत परिवर्तन' भएको रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले बताए । काठमाडौं महानगरपालिका वडा नम्बर १६ रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट सांसदसमेत रहेका पराजुलीले सचेत जनताले कर तिरेपछि सम्मानसहित सेवा दिने उम्मेदवारलाई निर्वाचित गरेको उनको टिप्पणी छ ।

'जनतासँग प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्नका लागि स्थानीय तहको सरकार, त्यसमा पनि वडा अध्यक्ष सबैभन्दा महत्त्वपूर्ण पद हो । स्थानीय सरकारमा थिति बसाल्न सक्यौं भने धेरै कुरामा सहज गर्न सकिन्छ भनेर चुनावी प्रचारका क्रममा जनतासँग परामर्श गरेका थियौं,' पराजुलीले भने, 'वडामा हेल्प डेस्क राख्ने, सेवा प्राप्त गर्न घूस खुवाउन नपरोस् भन्ने विषय जनताले राख्नुभयो । सहरभित्र पनि सेवा सहज रूपमा पाउन नसकिएको गुनासो जनताको रह्यो, शक्तिसँग जोडिने र घुस खुवाउने प्रवृत्ति मौलायो भन्ने थियो । यी कुराबाट आजित भएका जनताले १६ नम्बर वडामा मत परिवर्तन गर्नुभयो ।'

रास्वपाका उम्मेदवारलाई मतदान नभई मत लगानी गर्न काठमाडौं - १६ का जनतालाई आग्रह गरिएको पराजुलीले बताए । 'अहिलेसम्म मतदान गर्‍यौं । अब मत लगानी गरौं भन्यौ । मत लगानी गर्ने हो र रास्वपाप्रति लगानी गर्ने हो भनेर मतदातालाई सचेत बनायौं र जनता सचेत भएकाले निर्धक्कसँग भोट हाल्नुभयो,' उनले भने ।

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं-१६ को अध्यक्ष कांग्रेले जितेको थियो । त्यतिबेला जनतासामू गरेका आश्वासन पूरा नगरेकाले अहिले जनताले रास्वपालाई चुनेको पराजुलीले बताए । पुराना राजनीतिक दलहरूले आश्वासन दिएर ढाँटेको, अल्मल्याउने कुरा गरेको, भ्रष्टाचारमा संलग्न भएको तर सुशासनका कुरा गरेको सचेत जनताले पत्ता लगाएको उनको भनाइ थियो ।

काठमाडौं- १६ को वडाध्यक्ष निर्वाचनमा रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेको विषय पनि मतदातासमक्ष राखेको पराजुलीले बताए । उनले भने, 'सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको, सरकार संचालनमा सामेल भएका दलहरू नयाँ दललाई केही गर्न दिँदैनन् भन्ने कुरा जनतामा राख्यौं । जनतामा रास्वपा र सभापति लामिछानेप्रति सहानुभूति भएको पायौं ।'

लामिछानेको पक्राउविरुद्ध सडक प्रदर्शन गरेको रास्वपाले पछिल्लो समय जनतामा उक्त मुद्दा लिएर जाने निर्णय गरेको थियो । सभापति लामिछानेमाथि कसरी राजनीतिक प्रतिशोध साँधिएको हो भन्ने कुरा स्थानीय तह उपनिर्वाचन हुने ठाउँमा बताउने अभियानअन्तर्गत काठमाडौं- १६ मा स्पष्ट पारिएको उनले बताए ।  

स्थानीय तह उपनिर्वाचन-२०८१उपनिर्वाचन-२०८१उपनिर्वाचन

कान्तिपुर

Link copied successfully