काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रु विच सडकमै अलपत्र
काठमाडौँ — शुक्रबार बिहानदेखि अविरल रूपमा परेको वर्षाका कारण शनिबार मध्यान्हसम्म विभिन्न राजमार्गका ६८ स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेका छन् । काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार काठमाडौं जोड्ने नागढुंगा–नौबिसे, दक्षिणकाली–सिस्नेरी–भिमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बनेको छ ।
त्यस्तै, बीपी राजमार्ग, मध्यपहाडी, पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर सवारी साधन र यात्रु सडकमै रोकिएका छन् ।
‘पहिरोको जोखिम रहेको र पहिरो खसेको ठाउँमा मेसिन उपकरणसहित प्राविधिक टोली तैनाथ अवस्थामा राखेका छौं,’ प्रवक्ता ढकालले भने, ‘कतिपय ठाउँमा पहिरोले ठप्प बनेको सडकलाई एकतर्फी र कतै पहिरो पन्छाएर दुईतर्फी रूपमा सञ्चालनमा ल्याएका छौं ।’ पानी परिरहेकाले ठूलो पहिरो खसेको ठाउँमा भने पन्छाउन समस्या भइरहेको उनको भनाइ छ ।
![At 68 locations on various highways across the country Landslides block traffic [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/natural-disaster/road-2892024120926-1000x0.jpg&w=1001&h=0)