पहिरोले तानसेनमा २० घर जोखिममा

पाल्पा–बुटवल एकतर्फी खुल्यो, बर्तुङ–राम्दी सडक अझै अवरुद्ध

आश्विन १२, २०८१

माधव अर्याल

Landslides threaten 20 houses in Tansen

पाल्पा — पहिरोले पाल्पाको तानसेन बजार क्षेत्रभित्र २० घर जोखिममा परेको छ । तानसेन नगरपालिका–५, कैलाशनगरमा खसेको पहिरोले १४, तानसेन–३, पुरानो पानी टंकी टोल, होलाङ्दी क्षेत्रमा तीन र तानसेन–बाँसटारी सडकखण्डको माथिल्लो भागमा रहेका तीन घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

तानसेन कैलाशनगरको बसन्तपुर सडकदेखि तल्लो भागमा पर्ने तानसेन–रिडी सडकसम्म नै पहिरो खसेको छ । पहिरो पन्छाएर यातयात संचालन गर्न झण्डै चार घण्टा लागेको छ । पहिरोले लेदो माटो बगाएर ल्याउँदा तानसेन–रिडी सडक अवरुद्ध भएको थियो ।

पहिरो पीडितलाई तानसेन नगरपालिकाले त्रिपाल व्यवस्थापन गरेको छ । पहिरो खस्ने र बस्तीको जोखिम न्युनिकरण गर्न सहयोग गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । सिद्धार्थ राजमार्गको बर्तुङ नयाँगाउँदेखि पालेपिपलसम्मका कतिपय घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

 जिल्लाभर विद्युत् अवरुद्ध भएकाले ग्रामींण भेगको सूचना लिन कठिनाई भएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले  पाल्पाको निस्दी गाउँपालिका–६, अर्चलेस्थित जल मापन केन्द्रको स्वचालित रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६४ मिलिमिटर वर्षा भएको जनाएको हो ।

पाल्पाका विभिन्न स्थानमा भएको भारी वर्षाले निस्दी खोला र अरुणखोलाको बाढीले खतराको तह पार गरेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । 

 बर्तुङ–राम्दी सडक अझै अवरुद्ध

ठूलाठूला ढुंगासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अझै सुचारु हुन सकेको छैन । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै खसेको पहिरो पन्छाउन नसक्दा सडक शनिबार दिउँसोसम्म सुचारु नभएको हो । 

सडक सुचारु गर्न सडक डिभिजनको दुई वटा लोडरले पहिरो पन्छाएको छ । ठुलो पहिरो भएकोले पन्छाउन समय लागेको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो हटाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग भएर पाल्पा लगायत स्याङ्जा, पोखरा, पर्वत, गुल्मी, अर्घाखाँची, बागलुङ, मुस्ताङसम्मका यात्रुहरु ओहोरदोहोर गर्छन् ।

पाल्पा–बुटवल एकतर्फि खुल्यो

शुक्रबार अपरान्ह साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्ड एकतर्फी सञ्चालमा आएको छ ।

तिनाउ गाउँपालिका–५, मस्यामको केराबारी नजिक खसेको पहिरो शनिबार बिहान मात्र पन्छाइएको छ । सडक डिभिजन पाल्पाका दुई वटा लोडर र सिद्धबाबा सुरुङ्गमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनको ब्रेकर सहितको दुई वटा एक्स्काभेटरको सहयोगमा सडकको पहिरो पन्छाइएको हो । सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमका अनुसार ठूला ढुंगा खसेकाले पहिरो पन्छाउन समय लागेको हो । दुईतर्फी सडक सञ्चालनमा ल्याउने प्रयास गरिएको छ ।

Landslides threaten 20 houses in Tansen 

पाल्पाको तानसेन नगरपालिका–११, सम्मोबारी ढुंगाखानी क्षेत्रमा खसेको पहिरो पन्छाएर एकतर्फि सडक खुलाइएको छ । यस्तै रिब्दीकोट गाउँपालिका–३ मालमुल, २ को लघुवा जोर्ते क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक एतर्फि संचालनमा आएको प्रहरीले जनाएको छ ।

बाढी पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully