उद्धारका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहितको टोली बराहक्षेत्र पुगे ।
सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–५ र २ मा कम्तीमा २५ जना कोशीको भङगालोमा फसेका छन् । सप्तकोशीमा पानीको बहाब बढेकाले उद्धारमा कठिनाइ भएको छ ।
उनीहरूको उद्धारका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहितको टोली बराहक्षेत्र पुगेका छन् । तर, प्रतिकुल मौसमका कारण हेलिकप्टर समेत लैजान नसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
उनले भङगालोमा फसेका कम्तीमा २५ जना भएको स्थानतिर नदीले तीव्र रूपमा कटान गरिरहेको वताए । नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोली सो स्थानमा उद्धारका लागि पुगे पनि उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
यसैबीच सप्तकोशीको बाढी पसेर उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । वडा नं. ८ को एलके खोजबाट पसेको बाढीले सिसौलीसम्म डुबान परेका छ । अत्याधिक मात्रामा आएको बाढी बाँध नाघेर गाउा पस्दा डुबानमा परेको नगरप्रमुख अशोक कार्कीले जानकारी दिए । भारी वर्षा भईरहेकोले सो क्षेत्रमा उद्धार कार्यमा समस्या परेको छ ।
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको कार्कीले बताए ।
